८ वैशाख २०८१ शनिबार
राजनीति

समानुपातिकमा एमाले पहिलो

सिन्धुपाल्चोक– प्रत्यक्षतर्फ एक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य जितेर सिन्धुपाल्चोकमा पहिलो भएको एमाले समानुपातिकमा पनि पहिलो भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दुई क्षेत्र रहेको जिल्लाबाट एमालेले ३६ दशमलव ८० प्रतिशत मत प्राप्त गरेको छ ।

प्रतिनिधिसभा समानुपातिक तर्फ १ लाख ३८ हजार ६ सय ८ मत सदर भएकोमा एमालेले ५१ हजार २१ मत प्राप्त गरेको हो । कांग्रेसले ४१ हजार ३ सय ३२ मत प्राप्त गरेको छ । यो सदर मतको २९ दशमलव ८१ प्रतिशत हो । कांग्रेसले एउटा प्रदेशसभा सदस्य जितेको छ ।

एक प्रतिनिधिसभा र एक प्रदेशसभा सदस्य जितेर जिल्लामा दोस्रो शक्ति बनेको माओवादी केन्द्र समानुपातिक मतमा भने तेस्रो भएको छ । उसले सदरमतको २१ दशमलव ४४ अर्थात २९ हजार ७ सय २९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बाम गठबन्धनले प्रत्यक्षमा माओवादी केन्द्रलाई ठूलो फाइदा पुगेको देखिन्छ ।

राप्रपा (प्रजातान्त्रिक)ले समानुपातिकमा ७ प्रतिशत ९ हजार ७ सय ६७ मत पाएको छ । प्रतिनिधिसभा सदस्यतर्फ जिल्लामा ३१ पार्टीले भाग लिएका थिए । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको तुलनामा साझा विवेकशील पार्टीले झण्डै दोब्बरभन्दा बढी मत पाएको छ । साझा विवेकशीलले १ हजार ५ सय ६४ र नयाँ शक्तिले ५ सय ५० मत ल्याएका छन् ।
    राप्रपाले भन्दा त्यसबाट फुटेको एकीकृत राप्रपा (राष्ट्रवादी) ले बढी मत पाएको छ । राप्रपाले ६ सय ८१  र एराप्रपा (राष्ट्रवादी)ले १ हजार २ सय २४ मत पाएको छ ।  मालेले ५ सय १४ मत प्राप्त गरेको छ । २२ वटा पार्टीले सय मत कटाउन सकेका छैनन् ।
    प्रदेशसभा निर्वाचन क्षेत्रको समानुपातिकमा समेत ३५ प्रतिशत मत ल्याएर एमाले नै पहिलो भएको छ । उसले ४६ हजार ३ सय ५ मत पाएको छ । कांग्रेसले २८ दशमलव ३० प्रतिशत अर्थात ३७ हजार ३ सय ९६ मत ल्याएको छ । माओवादी केन्द्रले ३१ हजार २ सय ९१ (२३.६८ प्रतिशत) र राप्रपा (प्रजातान्त्रिक) ले १० हजार ९२ (७.६३ प्रतिशत) मत पाएका छन् । चारवटा प्रदेश निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा खसेको मतमध्ये १ लाख ३२ हजार १ सय ३३ मत सदर भएको थियो ।
    समानुपातिकतर्फ प्रतिनिधिसभाको तुलनामा प्रदेशसभामा बढी मत बदर भएको पाइएको छ । प्रदेशसभामा २३ हजार ६ मत बदर हुँदा प्रतिनिधिसभामा १७ हजार ५० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले तथ्यांक दिएको छ ।
  

प्रकाशित: २८ मंसिर २०७४ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App