coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गोपालमानले आफैँले बनाएको किल्ला गुमाए

सन्तोष पोखरेल/मोहन गुरुङ
पोखरा/स्याङजा- बिपीले कुनैबेला भनेका थिए, ‘कांग्रेस खोज्न स्याङ्जा जानु, संगठन हेर्न र सिक्न पनि ।’ यो भनाइले स्याङजामा कांगे्रसको पकड बलियो, चुस्त र दुरुस्त रहेको धेरैको अनुमान थियो । तर, यो पटकको प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणामले बिपीको त्यो भनाइलाई गलत साबित गरिदियो ।
वाम गठबन्धनले बिपीको त्यो पुरानो भनाइलाई असफल पारिदियो । प्रदेशसभा र प्रतिनिधिसभामा जिल्लाका विभिन्न दलका ४० जना उम्मेदवार निर्वाचनमा होमिएका थिए । ती उम्मेदवारमध्ये सबैको चासो थियो, स्याङजा–२ का कांग्रेस उम्मेदवार गोपालमान श्रेष्ठको क्षेत्रमा । सरकारका उपप्रधान तथा शिक्षा मन्त्रीसमेत रहेका श्रेष्ठसँग प्रतिस्पर्धामा थिइन् एमाले केन्द्रीय सदस्य पद्माकुमारी अर्याल । अर्याल र श्रेष्ठबीचको रस्साकस्सीले जिल्लामा मात्र नभई क्षेत्र र केन्द्रमा समेत चर्चा बटुलेको थियो ।
२०४८ सालदेखि स्याङजाबाट निर्वाचन जित्दै राष्ट्रिय राजनीतिमा पहुँच बनाएका नेता हुन् श्रेष्ठ । अहिलेको उम्मेदवारीसँगै उनी पाँचौपटक निर्वाचनमा होमिएका थिए । २०४८, २०५१, २०५६ का प्रतिनिधिसभासहित संविधानसभा २०६४ मा उनी उम्मेदवार बनेका थिए । संविधानसभा निर्वाचनमा २०७० मा स्याङजा–२ बाट समानुपातिकतर्फबाट सभासद् बनेका थिए । २०५१ मा बाहेक उनले सबै निर्वाचनमा प्रत्यक्ष मत पाएर जित हात पारेका थिए । तर, योपटक अर्यालसँग ३ हजार ७ सय ६ मतको अन्तरबाट श्रेष्ठले पराजय भोगेका छन् । २०४८ पछिका निर्वाचनमा यो उनको दोस्रो हार हो ।
श्रेष्ठ चारपटक मन्त्री भइसकेका छन् । वाणिज्य मन्त्री (२०४८), निर्माण तथा भौतिक योजना मन्त्री (२०५६), वनमन्त्री (२०६४) र उपप्रधान तथा शिक्षामन्त्रीको उनले जिम्मा पाइसकेका छन् । योपटक निर्वाचनमा पराजित श्रेष्ठको राजनीतिक यात्रा करिब टुंगिएको राजनीतिक विश्लेषक बताउँछन् । आन्तरिक असहयोगले श्रेष्ठलाई हारको विन्दुमा पु¥याएको विश्लेषकहरूको भनाइ छ ।
राजनीतिक विश्लेषक दिंकर नेपाल भन्छन्, ‘गोपालमानको पराजय हुनुमा राष्ट्रिय लहर पनि हो । वाम एकताको सन्देश पनि हो ।’ गोपालमानलाई सधैं उम्मेदवार बनाउँदा पनि कांग्रेसभित्र असन्तुष्टि उब्जेको उनी बताउँछन् । ‘गोपालमान हार्नुमा गुटउपगुट पनि कारण हो,’ उनले भने, ‘एउटै नेतालाई बारम्बार उम्मदवार बनाइँदा व्यापक असन्तुष्टि थियो । त्यो असन्तुष्टि मतमार्फत पोखिएको हो  ।’ नेपालको विश्लेषणमा गोपालमान स्याङ्जाका निकै नै बलिया र क्षेत्रमा पडक जमाएका उम्मेदवार हुन् । उनीबाहेक त्यो क्षेत्रमा अरू नेता उम्मेदवार भएको भए अहिलेको पराजय अन्तर झनै फराकिलो पर्ने उनको भनाइ छ । ‘बलिया उम्मेदवार भएकाले पराजित हुँदा पनि अन्तर कम भएको हो । पकड नराम्रो होइन तर उनी राष्ट्रिय लहरको चपेटामा परेका हुन्,’ उनले भने ।
नेपालको विश्लेषणमा विजयी भएकी वाम गठबन्धनकी उम्मेदवार पद्माले लहरमा अहिले जितको मौका पाएकी हुन् । ‘लाटोको खुट्टा बाठोमा परेको हो,’ उनले भने । पद्मा यसअघिकै सभासद् भए पनि उनको उपस्थिति कमजोर रहेको हुँदा गठबन्धन नहुँदाको अवस्थामा पोजिसन बलियो थिएन । ‘यो मौका अर्याललाई राम्रो राजनीतिक छवि बनाउने अवसर पनि हो,’ नेपालले भने, ‘संविधानसभामा केही नगरेकाले योपटक गर्ने अवसर पनि उनको सामु खडा भएको छ ।’
अर्याल २०३९ सालको स्कुल जीवनदेखि तत्कालीन नेकपा (माले) र अनेरास्ववियुमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी थिइन् । ‘हेभी वेट’ उम्मेदवारका रूपमा लिइएका गोपालमान श्रेष्ठलाई पराजित गरेसँगै अर्यालको चर्चा हवात्तै बढेको छ । पद्माले ३५ हजार १ सय ४२ मत ल्याएर विजयी भएकी हुन् । प्रतिद्वन्द्वी गोपालमानले ३१ हजार ४ सय ३६ मत ल्याए । उनीहरूबीच ३ हजार ७ सय ६ मतान्तर रह्यो ।
गोपालमानले हार बेहोर्नुमा वाम गठबन्धनमात्रै नभएर पार्टीभित्रको असहयोग रहेको कांग्रेस नेताहरूको विश्लेषण छ । कांग्रेसले उम्मेदवारको टिकट वितरणमा जिल्लाभित्र लामो समयदेखि सक्रिय रहँदै आएका नेतालाई बेवास्ता गरेकाले श्रेष्ठलाई असहयोग भएको नेताहरूको भनाइ छ ।

प्रकाशित: २८ मंसिर २०७४ ०३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App