८ वैशाख २०८१ शनिबार
कला

कौमार्य कथामा ‘मिस्टर भर्जिन’

काठमाडौं– समाजमा सार्वजनिक चर्चाका लागि निषेध जस्तै मानिने यौन सम्बन्धी विषयलाई लिएर  ‘मिष्टर भर्जिन’ शीर्षकको फिल्म बन्ने भएको छ । बुधबार क्युज सिनेमा हलमा औपचारिक कार्यक्रम गर्दै फिल्मको घोषणा गरिएको हो । फिल्ममा कलाकारहरू कमलमणि नेपाल, विजय बराल र गौरव पहारी फिल्मको  शीर्ष भूमिकामा देखिन लागेका हुन् ।
नाट्य थिएटर र एभरेष्ट फिल्म एकेडेमीमा अभिनय कक्षा पढाउने कलाकार बिशारद बस्नेतले यसै फिल्ममार्फत् निर्देशनमा डेब्यु गर्न लागेका हुन् । ‘फिल्मले तीन भर्जिन पात्रहरूको यौन मनोविज्ञानको कथालाई देखाउनेछ । तीन युवामा एक्कासी दिमागमा यौन सम्बन्ध राख्ने सोच आएपछि उनीहरूमा देखिएको तनावलाई फिल्ममा देखाइनेछ,’निर्देशक बस्नेतले भने, ‘फिल्मको कथाको सूत्रधार मेरो कलेजका पहिलो ब्याजका विद्यार्थीहरू हुन् । उनीहरूले कथासार बताइदिएपछि यसको पटकथा बनाउन सजिलो भयो ।’ उनका अनुसार तीन पात्रको जीवनमा घटेका रोचक कुराहरूलाई कमेडी र मनोरञ्जनमार्फत फिल्ममा देखाइनेछ ।
फिल्मका कलाकार कमलमणिले एघार वर्ष अघि फिल्म बनेको भए आफ्नो चरित्र शीर्ष भूमिकाका लागि उपयुक्त हुने भन्दै ठट्टा गरे । ‘ढिलै भए पनि यस्तो कथामा फिल्म खेल्न पाएको छु । फिल्मले युवामा आएको यौन मनोविज्ञानले उनीहरुको जीवनमा पार्ने प्रभावलाई देखाउन खोजेको छ ’ कमलमणिले भने ।
अर्का कलाकार गौरव पहारीले फिल्मका लागि आफू चार महिनादेखि ‘भर्जिन’ नै रहेको बताउँदा कार्यक्रममा हाँसोको फोहरा छुटेको थियो ।  ‘फिल्मको स्क्रिप्ट सुनेदेखि म भर्जिन चरित्र कसरी निभाउने भनेर नै सोचिरहेको छु । त्यसकारण चार महिनादेखि भर्जिन नै छु ’ उनले भने । कलाकार विजयले भने आफ्नो चरित्रबारे बोल्न लजाए । नायिका मरिष्का पोखरेलले एउटा राम्रो टिम र राम्रो कथामा फिल्म खेल्न पाउँदा खुशी लागेको बताइन् । 
वल्र्डवाइड फिल्मस् डिस्ट्रिब्युसनको व्यानरमा बन्न लागेको फिल्ममा भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा, लोकेन्द्र लेखक, सागर ढकाल, पवन घर्ति मगर, कुलदीप अधिकारी, विशाल पहारी, किशोर भण्डारी, कमल गाउँले, रामचन्द्र अधिकारी, आर्जेश रेग्मी, सुशिल पोखरेल, सविन कट्टेल, धनराम मुस्कान, रमेश केसी ‘मट्टारे’, नारायण भण्डारी, अस्मिता लामिछाने र सन्ध्या पौडेलको अभिनय रहनेछ । 
खिलेन्द्र तिमल्सिना, प्रजापति शिवाकोटी, मुकेश रेग्मी र विरासद बस्नेतको निर्माण र सन्दिप उप्रेती तथा मनिष खत्रीको सहनिर्माण हुने फिल्ममा दीपक ओलीको क्रिएटिभ निर्देशन, महेश दवाडीको लेखन, विक्रम स्वार र दीपकमान सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे र मिस्टर प्रिन्सको संगीत र रामेश्वर कार्कीको छायांकन हुनेछ ।
आगामी शुक्रबारबाट फ्लोरमा जाने फिल्मको छायांकन राजधानीको ठमेलमा गरिनेछ । फिल्म वैशाखको अन्तिमतिर रिलिज गरिने निर्माण पक्षले जनाएको छ । यो व्यानरले निर्माण गरिरहेको फिल्म ‘कागजपत्र’ यतिबेला सुटिङ भइरहेको छ । 

 

प्रकाशित: २८ मंसिर २०७४ ०३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App