१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

आमनिर्वाचन : केही तथ्य, केही टिपोट

मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न संघीय गणतन्त्र नेपालको पहिलो आमनिर्वाचनमा देशकै सबैभन्दा पुरानो एवं प्रतिष्ठित लोकतान्त्रिक दल नेपाली कांग्रेसले केही महिनाअघि मात्र नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको वामपन्थी गठबन्धनको हातबाट इतिहासकै सबैभन्दा भीषण पराजय भोगेको  छ । नयाँ संविधानले परिकल्पना गरेको जनप्रतिनिधिमूलक व्यवस्थापिका सदन (प्रतिनिधिसभाका प्रत्यक्षतर्फका कुल १६५ स्थानमध्ये कांग्रेसले २३ स्थानमात्र जितेको छ ।

नेपाली कांग्रेस जस्तो गौरवशाली इतिहास भएको पुरानो राजनीतिक संगठनका लागि १६५ जना चुनिने ठाउँमा आफ्नो दलका उम्मेदवार २३ जनामात्र चुनिएको यो अवस्था घोर अपमानजनक नै हो ।

अन्तिम परिणामका रूपमा घोषणा गरिएका विजयकुमार गच्छदारले संसदीय निर्वाचन लगातार छैटौं पटक जितेर कांग्रेसका अर्का प्रभावशाली नेता अहिलेका कामचलाउ प्रधानमन्त्री शेरबहादुर देउवाको कीर्तिमानको बराबरी गर्न सकेका छन् । यसरी प्रत्यक्षतर्फ १६५ जना चुनिने प्रतिनिधिसभाको सदनमा कांग्रेसका उमेदवारका हैसियतले चुनिएका २३ जना सांसदको झिनो उपस्थिति हुने देखिएको छ ।
सदनमा कांग्रेसका सदस्यलाई भनेर छुट्याइएको लङमा बस्ने सांसदको संख्या जति भए पनि त्यस संख्यालाई वामपन्थी संख्याको तुलनामा निकै सानो मान्नुपर्ने हुन्छ । आजको घडीको कटु वास्तविकता के हो भने कांग्रेस नामक त्यो प्रतिष्ठित पार्टी सम्पन्न आमनिर्वाचनको नतिजापछि निकै कमजोर देखिएको छ । विगतमा प्रायः पहिलो नभए पनि दोस्रो रहँदै आएको त्यो पार्टी अहिले आएर करिब तेस्रो संसदीय दलका रूपमा खुम्चिइसकेको छ । आफ्नो यस्तो दयनीय अवस्थालाई लिएर नेका नेतृत्व रूनु कि हाँस्नुको बिडम्वनामय स्थितिमा पुगेको हुनुपर्छ । कम्युनिस्ट अधिनायकवादी सोचका विरोधी र लोकतन्त्रमा विश्वास गर्ने सबै  मानिस अन्योल र हताशाको गर्तमा भासिएको अहिलेको समयमा राजनीतिक अखडाको अर्कोतिर भने हर्षबढाइँको वातावरण बनेको छ । एमाले र माके मिलेर बनेको वाम गठबन्धनले संसदमा दुईतिहाइ बहुमत प्राप्त गर्ने सम्भावना बलियो देखिँदैछ । वाम गठबन्धनको अगुवा साझेदार एमालेको मात्रै पनि सदनमा सामान्य बहुमत पुग्ने सम्भावना टड्कारो हुँदैछ । गएको वर्षायाममा सम्पन्न स्थानीय तह (नगर र गाउँपालिका निर्वाचनमा अभूतपूर्व सफलता हासिल गर्न सफल एमालेले प्रतिनिधिसभाका प्रत्यक्षतर्फका १६५ मध्ये ८० स्थान जितेको छ । त्यो संख्या प्रत्यक्षतर्फको कुल संख्याका हिसाबले सामान्य बहुमतका लागि ३ सिटमात्र अपर्याप्त हो ।
वाम गठबन्धनको यो अभूतपूर्व चुनावी उपलब्धिले कांग्रेस पार्टीका नेता÷कार्यकर्ता हतप्रभ भएका छन् नै, साथै त्यस पार्टीका मतदाता र समर्थक पनि निराश भएका छन् । कांग्रेस आफूलाई बौद्धिक स्तरमा समर्थन गर्ने तर पार्टी सदस्यता नलिएका स्वतन्त्र व्यक्ति तथा समूह र आममतदाताको भरमा टिक्दै आएको राजनीतिक दल हो । यसको वास्तविक पुँजी भनेकै यसलाई समर्थन र सहयोग गर्ने पढे÷लेखेको, हरेक प्रकारका अलोकतान्त्रिक सोच र व्यवहार मन नपराउने, प्रायः बेवास्ता गरेको जस्तो देखाउने, अलि अलि सुस्त जस्तो पनि लाग्ने तर विचारमा जहिलेसुकै दृढ मध्यम वर्ग हो । यसपटकको निर्वाचन परिणामले त्यस वर्गले पनि गहिरो मानसिक चोट पाएको छ । कांग्रेसमा आलोचना गर्न हरेकलाई छुट छ, चाहे त्यो सक्रिय सदस्यता लिएको कार्यकर्ता होस् वा पार्टी पदाधिकारी, अथवा सामान्य समर्थकमात्र किन नहोस् । निर्वाचनअघि पार्टी नेतृत्व खासगरी सभापति शेरबहादुर देउवाको पार्टी संगठनभित्र र बाहिर दुवैतिरबाट धज्जी उडाइएको थियो । धेरैले पार्टीको चुनावी दुर्दशाको भविष्यवाणी गरेका थिए भने कतिपयले यसको पूर्ण पतन हुने दाबीसमेत गरेका थिए । अहिले जब वास्तवमै कम्युनिस्टहरूका हातबाट पार्टीको अत्यन्त ठूलो फजिती भएको छ, ती आलोचकहरू जो यस दलको यस्तो खराब हालतको कल्पनासम्म पनि गर्न चाहँदैनथे, सबै स्तब्ध र निस्शब्द भएको हुनुपर्छ ।
कांग्रेस जस्तो गौरवशाली इतिहास भएको पुरानो राजनीतिक संगठनका लागि १६५ जना चुनिने ठाउँमा आफ्नो दलका उम्मेदवार २३ जनामात्र चुनिएको यो अवस्था घोर अपमानजनक नै हो । यस अपमानको चोटबाट बाहिर निस्कन हरेक कांग्रेसजनलाई धेरै समय लाग्नेछ । सदस्यता लिएका सक्रिय कांग्रेसजनका लागि  मात्र होइन, त्यसका पक्षमा मतदानमात्र गर्ने सामान्यतया निष्क्रिय रहने आमलोकतन्त्रवादी जनताका लागिसमेत विश्वास गर्न गाह्रो पर्ने यो निर्वाचन परिणाम लोकतन्त्रको बहालीपछि भएका निर्वाचन परिणाममध्ये सर्वाधिक निराशाजनक छ, पीडादायी छ र छ कडा चेतावनीयुक्त पनि । कांग्रेस नेतृत्वलाई मात्र होइन, हरेक लोकतन्त्रवादी नागरिकलाई समेत यस परिणामले प्रस्ट र मुखर ढंगले चेतावनी दिएको छ के भने यो देश कम्युनिस्ट पार्टी संगठन, कम्युनिस्ट पार्टी नियन्त्रित गैरसरकारी संस्थाहरूको सञ्जाल, नोकरशाही र निर्वाचित कम्युनिस्ट जनप्रतिनिधिको संयुक्त जालमा परिसकेको छ । सबैतिरबाट जनतालाई घेर्न सफल भएको, सम्पूर्ण राज्य संयन्त्रमाथि नियन्त्रण कायम गरेको र संसद्मा दुईतिहाइ (प्रत्यक्षतर्फ) बहुमत भएको कम्युनिस्ट पार्टीले देशलाई कतातिर लैजाने प्रयत्न गर्ला भन्ने अनुमान गर्न धेरै टाढा जानुपर्दैन, सन् १९७० को दशकको पश्चिम बङ्गालसम्म पुगे हुन्छ । त्यतिबेला बङ्गालमा भाकपा माक्र्सवादीको सरकारद्वारा संरक्षित पार्टी क्याडरहरूले जुन आयतनमा अराजकता फैलाएका थिए त्यसको पुनःमञ्चन यहाँ भयो भने देश कहिल्यै उठ्न नसक्ने गरी थला पर्नेछ ।
प्रतिनिधिसभाको अन्तिम निर्वाचन परिणामअनुसार प्रत्यक्षतर्फका १६५ स्थानमध्ये ३६ वटामा जीत हासिल गरेर माओवादी केन्द्र संसद्को दोस्रो ठूलो दल बन्न सफल भएको छ । तर समानुपातिकतर्फका ११० स्थानका लागि भएको चुनावको मतगणनापछि पनि त्यस दलको त्यो स्थिति कायम रहन सक्छ कि सक्दैन भन्ने कुरामा सन्देह छ । समानुपातिक प्रणालीतर्फको मतगणनाको अहिलेसम्मको नतिजाले भने माओवादी केन्द्रले प्रत्यक्षतर्फको परिणामका आधारमा प्राप्त गरेको संसद्को दोस्रो ठूलो दलको हैसियत गुमाउने जस्तो देखिएको छ । अहिलेसम्म करिब ५० लाख भोट गनिएकामा कांग्रेसले प्रतिद्वन्द्वी माओवादी केन्द्रले पाएको ७ लाख मतको तुलनामा १७ लाख मत प्राप्त गरेको छ । गणना हुन बाँकी करिब ५० लाख मत पनि अहिले गनिसकिएका मतको हिसाब र अनुपातमै खसेका छन् भने (जसको सम्भावना प्रबल देखिन्छ) कांग्रेस निश्चितरूपले संसद्को दोस्रो ठूलो दल हुनेछ । समानुपातिकतर्फ कांग्रेसको पक्षमा सबैतिरबाट एकनाससित मत परेको देख्दा जनताले त्यस पार्टीलाई अझै माया गरिरहेको तर देशमा भएका कांग्रेसबाहेकका सबै शक्तिले एकगठ भएर मोर्चाबन्दी गरेकाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ त्यस दलको पराजय भएको हो भन्ने प्रस्ट हुन्छ ।
यस निर्वाचनमा कांग्रेसको यस्तो नराम्रो हार किन भयो भन्ने विषयमा कांग्रेसजन र नेताहरूले व्याख्या र विश्लेषण गर्लान् । पंक्तिकारका विचारमा कांग्रेसले इतिहासकै सबैभन्दा ठूलो चुनावी धक्का खानुका मुख्य मुख्य कारण यी छन्:
१. देशभरिका वामपन्थी मत संकलित भएर वाम गठबन्धनका उमेदवारका पक्षमा पर्नु
२. सभापतिका रूपमा सुशील कोइराला र शेरबहादुर देउवा दुवैले पार्टी संयन्त्र, विभाग, भ्रातृ संगठनहरू र कार्यकर्तालाई पार्टीको पक्षमा परिचालन गर्न नसक्नु
३. सभापति देउवाको अक्षमता, कतिपय अहम् महŒवका निर्णयमा पत्नीमाथिको निर्भरता, निवास र कार्यालय दुवैतिर नालायक सहायकको बिगबिगी र लाभका पदको खुलेयाम लिलामी
४. स्थानीय तहको चुनावका समयमा प्रचण्डसँगको सहकार्य
५. भारतसँग अनावश्यक दकस खाएर बराबरी हैसियतमा (जनतालाई देखाउन नै किन नहोस्) उभिन नसक्नु
६.प्रधान न्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग, राजदूत नियुक्ति र आइजिपी प्रकरणमा देउवाको अशोभनीय व्यवहार
७.मुख्य कुरो कांग्रेसरूपी जहाजको क्याप्टेन देउवाले जनताको भरोसा गुमाइसकेका थिए । उनको जिम्मामा आफ्नो भविष्य जिम्मा लगाउन जनता तयार भएनन् । परिणाम सबैको सामुन्ने छ ।

प्रकाशित: २८ मंसिर २०७४ ०३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App