८ वैशाख २०८१ शनिबार
ब्लग

काँग्रेसको हार र सुधारका आधारहरु

गणतन्त्रको संस्थागत विकासका लागि प्रस्थान विन्दु मानिएको संविधान जारी भएपछिको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका परिणामले केही संकेत गरेका छन्। यो आलेख तयार पर्दासम्मको परिणामले नेपालको पुरानो पार्टी नेपाली काँग्रेस हार निश्चित देखिएको छ। वाम गठबन्धन दुई तिहाईतर्फ अग्रसर छ। लामो समय नेपाली राजनीतिमा प्रमुख भूमिका निर्वाह गरेको काँग्रेसको यो हारले संरचनागत र पार्टी व्यवस्थापनमा व्यापक सुधारको स्पष्ट संकेत गरेको छ।

निकै कठिन अवस्थामा निर्वाचन सम्पन्न भएको हो। निर्वाचन गराउने शेरबहादुर देउवा वर्तमान सरकारको नेतृत्व त्यस मानेमा सफल हो। यसैले काँग्रेसले फेरि एकपटक आफू हारेर देश जिताएको छ। तर पार्टी सभापति भएका हिसाबले पार्टीको हारको जिम्मेवारी लिने र आगामी दिनमा त्यसको समीक्षा गर्दै सुधारको थालनी अबको आवश्यकता हो।

नेपालको हरेक राजनीतिक संक्रमणको साक्षी बस्दै त्यसको समाधानको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपाली काँग्रेसले सरकारको नेतृत्व गरेर देशको सविधान कार्यन्वयनको प्रवेशद्वारलाई सफल बनाएको छ। जसरी काँग्रेसको नेतृत्वमा संविधान जारी भएको थियो त्यसैगरी संविधान कार्यन्वयनको प्रवेशद्वार  मानिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भयो। पार्टी हार जित स्वाभाविक हो। यही निर्धारित समयमा निर्वाचन नहुँदा देश हार्ने थियो त्यो हुन पाएन। स्थानीय निर्वाचनदेखि नै नतिजा गुमाउँदै लागेको काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा जसरी अप्रत्यासित हार व्यहोर्नु पर्यो त्यसका केही कारणहरु पक्का छन्।

काँग्रेसले जनताबीच प्रष्ट पार्न नसकेको विषय भारतीय नाकाबन्दी हो। त्यति बेला भारतले नेपालमा नाकाबन्दी लगाउँदा नेपाली काँग्रेस कुटनीतिक समाधान निकाल्न चाहान्थ्यो।

पहिलो र मुख्यकारण नेपालको राजनीतिमा रहेको मुख्य तीन शक्ति काँग्रेस, एमाले र माओवादीमध्ये दुई शक्ति एकातिर हुँदा अर्को पक्ष निकै कमजोर हुन्छ नै। जुनसुकै स्तरको चुनावमा पनि मुख्य प्रतिष्पर्धा हुने यी तीनबीच नै हो। मुख्य प्रतिष्पर्धी काँग्रेस र एमाले हुन् भने तेश्रो शक्ति माओवादी। यी तीन शक्तिमध्ये एमाले र माओवादीबीच पार्टी एकीकरण गर्नेसम्मको सन्देश दिएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गरिएको मिलेमतोले परिणाममा निकै बदलाव देखाएको हो।

तीन शक्तिमध्ये कुनै दुई शक्ति मिल्दा यस्तो परिणाम आउनु एक हिसाबले नौलो पनि थिएन। निर्वाचनको परिणाम आएका सबैजसो स्थानमा प्रतिद्वन्द्वी नेपाली काँग्रेस नै देखिएको छ। धेरै ठाउँमा हार्दाको मतान्तर पनि निकै कम छन्। अर्कोतर्फ तराईमा उमे्रको केही दल जसले दुई वाम एकठाउँमा हुँदा पनि लोकतन्त्रवादी शक्तिलाई सहयोग गरेनन् र आआफैँ लड्दा उनीहरुले आफ्नो बलियोपना गुमाएका छन्।

काँग्रेस र माओवादी सरकार होस् वा माओवादी र काँग्रेस सरकार होस केही निर्णयका कारण जनमत रमाएको थिएन। जुन निर्णयमा जनमत खुसी भएन, त्यस्ता निर्णय गर्दा काँग्रेसको संलग्नता थियो वा दोषमात्र लगाइयो। त्यो भविष्यले बताउला तर त्यसैको असर निर्वाचनमा पर्यो। काँग्रेसले दोष लागेका कुरामा आफ्नो प्रस्ट दृष्टिकोण जनतासम्म लैजान सकेन।

काँग्रेसले जनताबीच प्रष्ट पार्न नसकेको विषय भारतीय नाकाबन्दी हो। त्यति बेला भारतले नेपालमा नाकाबन्दी लगाउँदा नेपाली काँग्रेस कुटनीतिक समाधान निकाल्न चाहान्थ्यो। किन कि संसारमा एक देश र अर्को देशबीचको समस्या समाधान गर्ने कुटनीतिक पहलबाटै हो। तर एमाले अध्यक्ष केपी ओलीले नाकाबन्दी नै काँग्रेसले लगाए जस्तो गरी त्यसको दोष काँग्रेसको टाउकोमा थुपार्यो। ओलीले नक्कली राष्ट्रवादको शैली अपनाएर काँग्रेस गैरराष्ट्रवादी बनाउने प्रापोगण्डा जनताका माझ विकाउ बन्न पुग्यो। काँग्रेसले त्यसलाई कुटनीतिक समाधानका लागि गरेको प्रयास जनता सामु लैजान सकेन। प्रापोगण्डामा यसै पनि कम्युनिस्ट सिपालु हुन्छन्। त्यसमा पनि एमाले अध्यक्ष ओलीको एकोहोरो रटानका सामु आन्तरिक रुपमा मन नमिलेको काँग्रेसले त्यसको उत्तर जनतालाई बुझाउन सकेन। फलत स्थानीय निर्वाचनमा ओरालो लागेको काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा थप क्षति व्यहोर्नु पर्यो।

प्रहरी आईजिपी परिवर्तन प्रकरणमा काँग्रेस नराम्ररी मुछियो। पार्टी सभापतिको नाम संलग्नता हो वा नियोजित रुपमा मुछियो त्यसले काँग्रेसको राजनीतिमा निकै ठुलो असर पार्यो। आईजीपि फेर्ने कुरा सदैव राजनीतिक नेतृत्वबाट प्रभावकै आधारमा हुँदै आएका हुन्। त्यो कुनै नौलो कुरा थिएन तर यस विषय निकै ठुलो बनाइयो। काँग्रेसले त्यस विषयमा जनतालाई चित्त बुझ्दो जवाफ दिन सकेन।

अर्को महत्वपूर्ण विषय नेपाली काँग्रेसदरा तत्कालिन प्रधान न्यायाधीश सुशीला कार्कीलाई महाभियाग लगाउने प्रयासको दोषारोपण। त्यो घटना वास्तविक थियो वा प्रापोगाण्डा त्यस विषयले काँग्रेसको लोकतान्त्रिक छवीलाई असर गर्यो। महाअभियोग किन ल्याइएको थियो र किन फिर्ता गरियो भन्ने विषय काँग्रेसले गोप्य राख्न चाह्यो।  फलत न्याय क्षेत्रमा काँग्रेसका लागि चोट पर्न गयो ।

काँग्रेसको संगठन निर्माणमा केही कमी आए पनि उसले अंगिकार गरेको लोकतन्त्रिक छवीका कारण पनि लोकतन्त्रवादीका लागि छहारी बनेको थियो। काँग्रेसले चुनावी नतिजा आफ्नो पक्षमा पार्नको लागि भन्दै १७ हजार मानिसको हत्या आरोपित माओवादीसँग स्थानीय चुनावमा गरेको तालमेल अर्को मुख्य कारण बन्न पुग्यो। काँग्रेसले आफ्नो महत्वपूर्ण र पार्टीको आधारभूमि मानिएको चितवनमा प्रचण्ड छोरी जिताउन जुन हर्कत गरियो त्यसबाट पार्टीको आधारभुमि गुम्दै गयो। जसरी काँगे्रसले निर्वाचन जित्न अरुको साहारा लिन थाल्यो, त्यसपछि लोकतन्त्र पक्षधरहरु चिन्तित हुँदै गएर रुपमा कम्युनिष्ट सारमा लोकतान्त्रिक धार समातेको एमालेमा समाहित हुँदै गए।

महत्वपूर्ण अर्काे हारको कारण पार्टीले तय गर्ने निर्वाचनको एजेण्डा जनतासामु बेलैमा पुग्न सकेन। कतिपय जनताले उठाएका प्रश्नहरु पार्टी नेतृत्वबाट जवाफ पाएनन् वा जनताको चाहाना बमोजिम पुगेन। काँग्रेस सरकारमा हुँदा उसले गरेका राम्रा कामहरु जनतामाझ पुर्याउन सकेनन्। राज्यको ढुकुटी दोहोन गरेर गरिएका पपुलिष्ट कामको आधारमा जनतालाई झुक्याउने काम भयो।

परिस्थितिजन्य अवस्थाको मुल्याडकन गर्दै टिकट वितरण हुनु जरुरी थियो तर चुनावमा हारका लागि अर्को पक्ष परम्परागत ढंगबाट टिकट वितरण हुनु हो । परिवर्तित सन्र्दभमा पार्टीले लोकतान्त्रिक विधिबाट टिकट वितरण गर्ने प्रणालीको विकास आजको आवश्यकता भैसकेको छ । पार्टीभित्रै आन्तरिक प्राईमरी प्रतिष्पर्धा गराई युवा तथा पढेलेखेका दोश्रो पुस्ताका उम्मेदवारलाई बढी भन्दा बढी स्थान दिनु जरुरी छ । पाकालाई सम्मान गर्दै युवालाई स्थान दिएमात्रै अबको राजनीतिक यात्रा सफल हुन सक्दछ।

कमल थापा र प्रचण्डहरु वीपीको बखान गर्दै गर्दा काँग्रेसमा यी बुढा मान्छे को हुन ? भन्नेहरुको जमातले काँग्रेसलाई थिच्दै गएको छ। त्यसैले पनि पार्टीले आफ्नो लोकतान्त्रिक समाजवादी छवीको प्रष्ट दिशा निर्देशसहित धारणा जनताको माझ लैजान सक्नु पर्दछ।

निर्वाचनमा हार जीत सत्य कुरा हुन्। जसले जिते वा हारे पनि जय÷पराजयलाई अस्वाभाविक रूपमा आत्मसाथ गरे मात्र लोकतन्त्रको भविष्य एकप्रकारले सुरक्षित हुनेछ। तर विजयकोउन्माद र अहंकारले भोलीको दिन अनुमान गर्न सकिन्छ। एकातिर राजनीतिमा डनहरूको उत्साहजनक उपस्थिति र धन भएकाहरूको प्राथमिकताले त्याग, तपस्या, बलिदान र निरन्तरतालाई पाखा लगाएका छन् भने अर्कोतिर लोकतान्त्रिक संस्कृति र यसका सीमामाथि निर्मम प्रहार हुन थालेका छन्। यसले लोकतन्त्रलाई संस्थागत गर्दैन। यही बेला अब बन्ने ओली सरकारले सर्वोच्च अदालतको आदेशमा जेल बसेका बालकृष्णा ढुंगेलहरु रिहाई नहोस्। गणतन्त्रको जगबाट निर्वार्चित प्रदेशको संरचनालाई सविधान कार्यान्वयनको प्रमुख आधार बनाइयोस्। जसले गणतन्त्रको सस्थागत विकासमा मद्दत पुग्नेछ।

निर्वाचन प्रचारका क्रममा देखिएका उन्मादी अभिव्यक्ति र फोहोरी चरित्रको जीत भएको छ। त्यस्ता कुराले अचारको जस्तो स्वाद दिए पनि वास्तविकतामा फरक पार्नेछ। यस पटकको निर्वाचनमा काँग्रेसको एकपछि अर्का गल्ति दोहोरिनु र वामले गरेकोे भ्रम सिर्जना नै मुख्य परिणाम आएको मन्न सकिन्छ। उदाहरणका रूपमा बिपी कोइराला अहिलेसम्म बाँचिरहेका भए नेकपा एमालेमा प्रवेश गर्थे भन्ने जस्तो गैरजिम्मेवार र गैरराजनीतिक अभिव्यक्ति फोहोरी चिन्तनको उपज मात्रै हो। बिपी नेपाली लोकतन्त्र र समाजवादका पिताका साथै राष्ट्र र राष्ट्रियताबारे नेपालका प्रथम मानव पनि हुन्। पृथ्वीनारायण शाहपछि यदि कसैले राष्ट्रका विषयमा स्पष्ट परिभाषा गरेको छ भने त्यो बिपीले नै गरेका छन्। नेपाली कांग्रेसले बिपी कोइरालाकै चिन्तनका आधारमा प्रजातान्त्रिक समाजवाद अवलम्बन गरेको छ। केही हदसम्म नेपाली कांग्रेसले बिपी चिन्तनको बाटो भुल्दै गएको कारण पनि यस्ता परिणामको भागेदार भएको हो। कमल थापा र प्रचण्डहरु वीपीको बखान गर्दै गर्दा काँग्रेसमा यी बुढा मान्छे को हुन ? भन्नेहरुको जमातले काँग्रेसलाई थिच्दै गएको छ। त्यसैले पनि पार्टीले आफ्नो लोकतान्त्रिक समाजवादी छवीको प्रष्ट दिशा निर्देशसहित धारणा जनताको माझ लैजान सक्नु पर्दछ।

वामगठबन्धनले निर्वाचन अगावै गरेको दावीअनुसार नै जनमत आएको छ । के उनिहरुले भने जस्तै आगामी पचास वर्षसम्म नेपाली जनतामाथि राज गर्ने उद्घोष कति लोकतान्त्रिक हुन्छ? सबैले चासो प्रकट गर्नुपर्ने बेला आएको छ। यस्ता भनाई र वाम एकीकरण नेपाली लोकतन्त्रमाथि कालो छाया हुन्। चाँडै बन्ने वाम सरकारले के के गदै जाला हेर्न बाँकी छ तर पनि चुनाव हार्नु भन्दा पनि वाम गठबन्धन यदि अधिनायकवादी भयो भने काँग्रेसको प्रतिपक्षी भूमिका अझै महत्वपुर्ण हुनेछ। काँग्रेसमा पछिल्ला दिनमा आएका केही विकृति र अस्तव्यस्ततालाई संगठन सुधार गर्न सकेमा अझै पाँच वर्ष जनताका मन जित्ने र संगठन सुधार्ने समय बनोस्। जनता जनार्दन हुन् उनीहरुले नेतृत्व सुधार गर्ने भनेकै मतदानबाट हो। त्यसैले नेपाली जनताले काँग्रेसलाई वाम गठबन्धनलाई वाच डगको रुपमा खबरदारी गर्ने जिम्मेवादरी दिएको छ। संगठनमा व्यापक सुधार गर्दै शसक्त प्रतिपक्षको भुमिका निर्वाह गर्नु नै काँग्रेसका लागि अबको मुल कार्यभार हो ।

लेखक भण्डारी काठमाडौं काँग्रेस महासमिति सदस्य हुन्।  

 

 

प्रकाशित: २५ मंसिर २०७४ ०९:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App