८ वैशाख २०८१ शनिबार
राजनीति

कुन नेता कहाँबाट मतदान गर्दै ?

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रमुख दलका शीर्ष नेताहरूले विभिन्न ठाउँबाट मतदान गर्दैछन् । अधिकांश नेताहरूले बिहान मतदान गर्ने समय तय गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । देउवा बिहीबार नै काठमाडौं फर्कने उनका निजी सचिव केशव जोशीले बताए । देउवाले  डडेलधुराबाटै प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । चुनावको तयारी गर्न देउवा केही दिनदेखि डडेलधुरामा छन् ।
एमाले अध्यक्ष केपी ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ महेन्द्रशान्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । उनले झापा–५ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । उनले आफ्नो आफूलाई भोट दिन पाउने छैनन् ।
एमालेका अर्का नेता माधव नेपालले रौतहटको गौर नगरपालिकास्थित रामजनकी मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । उनी काठमाडांै २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनले पनि आफ्नो भोट आफैंलाई दिन पाउने छैनन् ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । उनले तनहुँ–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । पौडेलले बिहीबार बिहान मतदान गर्ने कार्यक्रम तय भएको उनका सहयोगी चिरञ्जीवी अधिकारीले बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । उनी चितवन–३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार हुन् । यसैगरी माओवादी केन्द्रका नेता रामबहादुर थापाले चितवनको भरतपुर महानगरपालिकाबाट मतदान गर्ने भएका छन् । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले ललितपुर–३ बाट मतदान गर्ने भएकी छन् । उनले ललितपुर–३ बाट प्रतिनिधिसभामा उम्मेदवार दिएकी छन् ।
एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको सूर्योदय नगरपालिकाबाट मतदान गर्ने भएका छन् । खनालले प्रतिनिधिसभा निर्वाचनमा इलाम–१ बाट उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले झापाको भद्रपुर नगरपालिकाको कलबलगुडी मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । सिटौलाले झापा–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।
माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पनि आफ्नो भोट आफैंलाई दिन पाउने छैनन् । उनले प्रतिनिधिसभा निर्वाचनमा दाङ–२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । मतदाता सूचीमा उनको नाम भने रोल्पामा रहेको छ । पहिलो चरणअन्तर्गत रोल्पामा मतदान सम्पन्न भएको छ ।
संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि आफ्नो भोट आफंैलाई दिन पाउने छैनन् । यादवले सप्तरी–२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । उनले भोट विराटनगर महानगरपालिका–१४ जुतुवाबाट मतदान गर्ने भएका छन् ।
महोत्तरी–३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका ठाकुरले सर्लाहीको बलरा नगरपालिकाबाट मतदान गर्ने भएका छन् । महतोले सर्लाहीको चन्द्रननगर–२ बाट मतदान गर्ने भएका छन् । महतोले धनुषा ३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् ।
राजपाका अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले भने आफ्नो भोट आफूलाई दिनेछन् । उनले महोत्तरीको औरही–१ बाट मतदान गर्ने भएका छन् ।
 

प्रकाशित: २१ मंसिर २०७४ ००:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App