७ वैशाख २०८१ शुक्रबार
अर्थ

प्याजको मूल्य २७ प्रतिशतले घट्यो

काठमाडौं– एक हप्ताअघि प्रतिकेजी प्याजको औसत मूल्य एक सय २० रुपैयाँ थियो । मंगलबार प्याजको मूल्यमा २७ प्रतिशतले गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार थोक बजारमा प्याजको मूल्य प्रतिकेजी ८९ रुपैयाँ रहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्ष तथा कृषि विकास मन्त्रालयका सह–सचिव काशीराज दाहालले भारतमा प्याजको मूल्य वृद्धि भएकोले नेपालमा प्रत्यक्ष असर परेको बताए । ‘नेपालमा ९९ प्रतिशत प्याज भारतबाट आयात हुन्छ । अन्य तरकारीको तुलनामा प्याज पहिलो नम्बरमा आयात हुने भएका कारण भारतमा मूल्य वृद्धि हुनेबित्तिकै नेपालमा पनि वृद्धि भएको हो,’ उनले भने, ‘अहिले भारतमा सस्तिएसँगै नेपालमा पनि मूल्य घटेको छ ।’
नेपालमा अन्य तरकारीको तुलनामा प्याज कमै उत्पादन हुने गरेको दाहालको भनाइ छ । भारतको नयाँ दिल्लीमा खुद्रा बजारमा प्याज ७० देखि ८० भारतीय रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ । भारतका अन्य प्रमुख सहरमा पनि उत्तिकै मात्रामा प्याजको भाउ बढिरहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा अहिले दैनिक चार सय ५० मेट्रिक टन तरकारी आपूर्ति हुन थालेको छ । तरकारी आयात ५० बाट ६५ प्रतिशत पुगेको दाहालको भनाइ छ । ‘पहिलो चरणको निर्वाचन सकिएसँगै तरकारी आयतमा थप राहत मिलेको छ,’ उनले भने, ‘नेपालमा तरकारी उत्पादन कम छ । भारतबाट आउने तरकारीमा पनि मूल्यवृद्धि भएको छ । यसले गर्दा तरकारी महँगिएको थियो ।’
यस्तै, सर्वसाधारणको भान्सादेखि उपत्यकाको पाँचतारे होटलसम्म दैनिक उपभोगमा आउने आलु, टमाटर, काउली लगायत तरकारीको मूल्य राहत हुने गरी घट्दै गएको समितिले जनाएको छ ।
समितिका वरिष्ठ अधिकृत मनोज धितालले सामान्यतया काठमाडौंमा दैनिक सात सय मेट्रकि टन तरकारी आपूर्ति हुने गरेको बताए । असोज–कात्तिकमा तरकारी उत्पादनमा तुलनात्मक रुपमा कमी आएका कारण बजारमा मूल्य तलमाथि भएको धितालको भनाइ छ ।

प्रकाशित: २० मंसिर २०७४ ०४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App