५ वैशाख २०८१ बुधबार
खेल

निरर्थक खेलमा नेपाल–युएई आमनेसामने

काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग च्यामिम्पयनसिपको शीर्ष चारमा रहने मौका गुमाइसकेको नेपालले प्रतियोगिताअन्तर्गत अन्तिम चरणको खेलमा बुधबार युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध खेल्दै छ ।
बुधबार युएईको अबुधाबीस्थित शेख जायद क्रिकेट रंगशालामा हुने खेलको नतिजाले दुवै टोलीलाई कुनै फरक पार्दैन । प्रतियोगिताको शीर्ष चार टोलीले सीधै आइसिसी विश्वकप २०१८ को छनोट प्रतियोगिताका लागि स्थान बनाउने थियो । तर, त्यो मौका दुवै टोलीले गुमाइसकेका छन् । करिब आठ महिनाअघि केन्याविरुद्ध नेपालले घरेलु मैदानमा मिश्रित नतिजा निकालेपछि शीर्ष चारको सम्भावना कमजोर बन्दै गएको थियो । काठमाडौंमा नै वर्षाले प्रभावित बनेको पहिलो खेलमा केन्या डर्कवर्थ लुइस पद्धतिका आधारमा ५ विकेटले विजयी भएको थियो । केन्यासँग पराजित भएपछि शीर्ष चारमा रहेर विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कमजोर बनेको थियो । दोस्रो खेलमा ७ विकेटको नतिजा निकाल्दै नेपालले सम्भावना कायम राखे पनि २ महिनाअघि हङकङसँग १ खेल बराबर भए पनि अर्काे खेल गुमाएपछि नेपालले सीधै विश्वकप छनोट प्रतियोगिता खेल्ने मौका गुमाएको थियो ।
छैटौं चरणको खेल सकिँदा नेदरल्यान्ड १८ अंकका साथ शीर्ष स्थानमा छ । १६ अंक जोडेको पपुवा न्याुगिनी (पिएनजी) दोस्रो स्थानमा छ । स्कटल्यान्ड १५ र हङकङ १४ अंकका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन् । १२ अंकका साथ केन्या पाँचांै स्थानमा छ । छैटौं स्थानमा रहेको नेपालले ९ अंक बटुलेको छ । समान ६ अंक जोडेको नामिबिया र युएई क्रमशः सातौ र आठौं स्थानमा छन् ।
नेदरल्यान्डले विश्वकप छनोटमा स्थान बनाउनुका साथै आएसिसी एकदिवसीय लिगमा स्थान तय  गरिसकेको छ । पिएनजी पनि विश्वकप छनोटका लागि छनोट भइसकेको छ । स्कटल्यान्ड, हङकङ र केन्यामध्ये दुईले विश्वकप छनोट प्रतियोगिताका लागि स्थान पक्का गर्नेछन् भने अर्को एक टोली नेपाल नामिविया र युएईसँगै डिभिजन २ मा झर्नैछ । सातौं चरणका सबै खेल एकै दिन युएईमै हुनेछन् । केन्याले स्टकल्यान्डविरुद्ध खेल्नेछ भने हङकङले पिएनजीसँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष टोली नेदरल्यान्डले नामिबियासँग खेल्नेछ ।
युएईविरुद्ध खेल्नुअघि नेपालले अबुधाबीमै अमेरिका र केन्याविरुद्ध अभ्यास खेल खेलेको थियो । जसमा नेपालले मिश्रित नतिज निकाल्यो । पहिलो खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा केन्यालाई ६ विकेटले हराउन सफल भएको थियो । युएईले खेलेको पछिल्लो खेल इन्टरनेसनल कपमा अफगानिस्तानलाई १० विकेटको नतिजा सुम्पिएको थियो ।
नेपाल र युएईले एकदिवसीयमा पछिल्लो पटक २०१४ मेमा मलेसियामा भएको एसिसी प्रिमियर लिग खेलेका थिए । जसमा नेपाल ४ विकेटले विजयी भएको थियो । त्यसअघि जनवरीमा भएको आइसिसी विश्पकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले १ सय २ रनको नतिजा सुम्पिएको थियो । केन्याविरुद्ध दीपेन्द्रसिंह ऐरीले ४६ तथा शरद भेषावकरले अविजित ३१ रन बनाउनुबाहेक नेपालको कमजोर ओपनिङ जोडीले अभ्यास खेलमा पनि निरन्तरता पाएको छ । तथापि दुवै खेलमा नेपालका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी र सोमपाल कामीजस्ता अनुभवी खेलाडीलाई आराम दिइएको थियो ।
प्रतियोगिताभर धेरै परिवर्तन गरिएको ओपनिङ जोडी बुधबार युएईविरुद्ध पनि परिवर्तन हुने सम्भावना छ । हङकङविरुद्ध सागर पुन र ज्ञानेन्द्र मल्ल नयाँ बल खेल्न आएका थिए । तर हङकङमा दुईको जोडी नजमेपछि युएईविरुद्ध दिलीप नाथले मौका पाउने सम्भावना छ । स्वास्थ्यका कारण हङकङ भ्रमण गुमाएका अनुभवी स्पिनर शक्ति गौचनले टोलीमा पुनरागमन गरेका छन् ।

नेपाल र युएईले एकदिवसीयमा पछिल्लो पटक २०१४ मेमा मलेसियामा भएको एसिसी प्रिमियर लिग खेलेका थिए । जसमा नेपाल ४ विकेटले विजयी भएको थियो । त्यसअघि जनवरीमा भएको आइसिसी विश्पकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले १ सय २ रनको नतिजा सुम्पिएको थियो ।

 

प्रकाशित: २० मंसिर २०७४ ०३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App