७ वैशाख २०८१ शुक्रबार
कला

बैतडी आउँदैछन् अर्जुन र परिणिती

मुम्बई– नेपाललाई यदाकदा सुटिङका लागि खुल्ला स्टुडियो भन्ने गरिन्छ । प्राकृतिक सुन्दरता र पुरातात्विक महत्वका संरचनाका कारण नेपाल पश्चिमा मुलुकका लागि पनि सुटिङ गन्तव्य बन्दै गइरहेको छ ।  छिमेकी फिल्म उद्योग बलिउडका पनि थुप्रै फिल्म नेपालमा खिचिएका छन् । नेपालमा बलिउडका झण्डै दर्जन बढी सुपरहिट फिल्महरु खिचिएका छन् । अग्ला हिमाल, सुन्दर र पुरातात्विक सम्पदा, चाखलाग्दा आकर्षक संस्कृति, तिब्र गतिमा बग्ने नदी, राष्ट्रिय निकुञ्जसँगै सुगम र दुर्गम स्थानमा रहेका ताल तलैयाले पनि नेपालमा फिल्म छायांकनका लागि विदेशीका लागि आकर्षक गन्तव्य बनेको छ।

देव आन्दको फिल्म ‘हरे राम हरे कृष्ण’, अमिताभ बच्चनको ‘महान’, ‘खुदा गवाह’, अनिल कपुरको ‘घरवाली बाहरवाली’, ‘युद्ध’, गोविन्दाको ‘एक हसिना एक दिवाना’ जस्ता नेपालमा खिचिएका फिल्मले नेपाललाई सुन्दर तरिकाले प्रस्तुत गरेका थिए । सन् २०१४ मा छायांकन गरिएको अक्षय कुमार अभिनित फिल्म ‘बेबी’ले पनि नेपालको भक्तपुरलाई बेग्लै बान्कीमा प्रस्तुत गरेको थियो । बलिउडबाहेक भारतका थुप्रै भाषाभाषीका फिल्म पनि नेपालमा खिचिने गरेका छन् । अक्षयको फिल्म छायांकन भएको झण्डै तीन वर्ष पछि यो सगरमाथाको देशमा नयाँ फिल्म ‘सन्दिप और पिंकी फरार’शीर्षकको फिल्म छायांकन हुँदैछ । दिवाकर बनर्जीले निर्देशन गर्ने फिल्म नेपाल र भारतको सीमा क्षेत्रमा सुटिङ हुन लागेको हो । फिल्म केही समयपछि नै सुटिङका लागि नेपाल आउँदैछ। 

अर्जुन कपुर र परिणिति चोपडा अभिनित यो फिल्मको पहिलो सेड्युलको छायांकन नयाँदिल्लीमा सकिएको छ । फिल्मको दोस्रो सेड्युल नेपालसँग सीमाना जोडिएको उत्तराखण्डको पहाडमा रहेको सानो शहर पिथौरागढ र नेपालको बैतडी जिल्लास्थित झुलालघाट पुलमा खिचिनेछ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मका निर्माताले सुन्दरता, ग्रामीण परिवेश र पहुँचयोग्य स्थान भएकाले नेपाल र भारतको सीमाना छनौट गरेको बताएका छन्  । फिल्म बन्ने भएपछि यशराज फिल्मस्ले गत अक्टोबरमा नेपालस्थित सरकारी निकायलाई यो स्थानमा फिल्म छायांकनका लागि अनुमति माग्न पत्र पठाएको थियो। 

नेपाल सरकारले पनि फिल्म युनिटलाई रोमान्टिक प्रेमकथाको फिल्म छायांकन गर्न केही सर्त राखेर अनुमति दिएको थियो । तर, ती सर्त के के हुन भन्ने केही खुलाइएको छैन।

‘उनीहरुले नेपाल र भारतको सीमानामा फिल्मका लागि अति आवश्यक दृश्य खिच्नेछन् । निर्देशक दिवाकर यहाँ फिल्म खिच्न उत्साहित छन् । नेपालको  ग्रामीण क्षेत्रमा फिल्मका लागि अत्यन्तै महत्वपूर्ण केही दृश्यहरू खिचिनेछ  ’ फिल्ममा नेपालबाट आबद्ध एक सदस्यले भनेका छन्। 

पिथौरागढ र झुलालघाटमा डिसेम्बर ५ देखि डिसेम्बर ३० सम्म फिल्म खिचिनेछ । फिल्ममा नायिका परिणिति बैंक र फाइनान्समा काम गर्ने एक युवतीको भूमिकामा छिन् भने अर्जुन चाहिँ हरियाणाको एक पुलिसको भूमिकामा देखिँदैछन् ।
५ वर्षअघि ‘इशकजादे’बाट एकै पटक डेब्यु गरेका अर्जुन र परिणितको सँगै  दोस्रो फिल्म हो । ‘रोमिया जुलियट’ को भारतीय संस्करण मानिएको ‘इशकजादे’ बाट दुवैको अभिनयले प्रशंसा पाएको थियो ।  फिल्म सन् २०१८को मध्यतिर प्रदर्शन हुनेछ।

प्रकाशित: १७ मंसिर २०७४ ०४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App