७ वैशाख २०८१ शुक्रबार
अन्य

‘मधुमास स्पट’ पोखरा

हालै विवाह गर्नुभएको छ र जोडी बनेर ‘हनिमुन’ मनाउन कतै जाने सोचमा हुनुहुन्छ भने तपाईंका लागि पोखरा सही गन्तव्य बन्न सक्छ । यहाँका तालतलैया, आकर्षक हिमाल, रहस्यमय गुफा अनि सफा र शान्त वातावरणले तपाईँको ‘हनिमुन ट्रिप’ रमाइलो, सुखद् र स्मरणीय बनाउन सक्छ । फेवातालमा घण्टौंसम्म बोटिङ गर्दाको आनन्द, सराङकोटबाट देखिने माछापुच्छे र अन्नपूर्ण हिमश्रृंखलाको मनोरम दृश्य, रहस्य लुकेका महेन्द्र, चमेरे र गुप्तेश्वर गुफाभित्रका आकृति, अनौठो डेभिज फल्स यहाँका लोभलाग्दा भ्रमणस्थल हुन् । बन्जी जम्प, प्याराग्लाइडिङ, पावर ग्लाइडर गर्न चाहनेका लागि पोखरा पहिलो रोजाइ हो । पोखरा आसपासका गाउँपिच्छे खोलिएका होमस्टेमा गएर पनि हनिमुनको मजा लिन सकिन्छ । ‘सुनेको पोखरा र देखेको पोखरामा आकाश जमिन फरक पायौँ, सुनेकोभन्दा देखेको धेरै राम्रो भयो,’ असोजमा वैवाहिक जीवन सुरु गरेर पोखरा हनिमुन मनाउन दाङबाट आएका शेरबहादुर केसीले भने, ‘अब मंसिरमा थुप्रै साथीहरुको बिहे हुँदैछ । उनीहरुलाई पहिलो सिफारिस नै पोखराको गर्नेछु । हामीले बोटिङ गर्नेदेखि सूर्योदय हेर्न सराङकोटसम्म पुग्यौं । बञ्जीको मजा पनि लिन पाइयो । जे खोज्यो, त्यही पाउने ठाउँ रहेछ पोखरा ।’
फेवातालमाथि रानी वनको शिखरमा रहेको शान्ति स्तूप अनि सात तालको सहरका रुपमा परिचित लेखनाथको बेगनास र रुपा लगायतका ताल यहाँका थप आकर्षण हुन् । यी र यस्तै आकर्षक प्राकृतिक सुन्दरताको धनी पोखरा ‘हनिमुन स्पट’ को रुपमा विकसित भइरहेको छ । नवविवाहित जोडीको लागि पोखरा आकर्षकस्थल बन्दै गएको छ । विवाह पछिका सुरुका दिन बिताउन पोखरा घुम्न आउने जोडी यहाँको शान्त वातावरण र आकर्षक दृश्य देखेर मन्त्रमुग्ध हुने गर्छन् । ‘डुंगामा सयर गर्दागर्दै बोर लागेमा ढुंगा छेउ लगाएर पारि रानीवनमा गए पनि भयो,’ हनिमुन मनाउन फेवातालमा आएका तनहुँका सन्तोष घिमिरेले भने, ‘पोखरा हनिमुनका लागि यति मिलेको ठाउँ छ, भनिसाध्य छैन । त्यसमा फेवाताल त सबैको रोजाइ हुने नै भयो ।’  

प्राकृतिक सुन्दरता, स्वच्छ हावापानी, शान्त र खुला वातावरणका कारण पोखरामा जुनसुकै समय स्वदेशी तथा विदेशी हनिमुन जोडी घुमिरहेका भेटिन्छन् । यहाँ जाडो र गर्मी छल्न अनि बिबाहपछि हनिमुन मनाउन आउने भारतीय जोडीको संख्या ठूलो छ । काठमाडौँ, चितवन, विराटनगर, बुटवल लगायतका ठाउँबाट पनि धेरै नेपाली जोडी हनिमुन मनाउन आउने गरेको व्यवसायी बताउँछन् । पोखराकै भएर पनि अम्बर सुवेदीले पोखरा र आसपासलाई रोजे हनिमुनका लागि । ‘पोखरा, धम्पुस र बन्दिपुरमा हनिमुन मनाइयो,’ कलाकार समेत रहेका अम्बरले भने ।

हनिमुनका लागि पोखरा आउँदा कम्तिमा दुई दिनको समय भने छुट्याउनुपर्छ । पोखराका रमणीय स्थलहरु घुम्दाघुम्दै दुई दिनको समय बितेको पत्तै हुँदैन । कतिपयले यहाँ आएपछि आफ्नो बसाइ लम्ब्याउने गरेका छन् । बेगनास र रुपा ताल घुम्न लेखनाथ जाने हो भने र शान्ति स्तुप पनि घुम्ने हो भने थप एक दिन बस्नैपर्ने हुन्छ । ‘हामीलाई पोखराको बसाइ साह्रै रमाइलो लाग्यो,’ ललितपुर नखिपोटबाट हालै वैवाहिक जीवनमा प्रवेश गरेर हनिमुन मनाउन पोखरा आएका राजुप्रताप जोशीले भने, ‘यहाँको प्राकृतिक सुन्दरता त जति घुमे पनि नअघाइने रहेछ ।’

असारको अन्तिमसाता वैवाहिक बन्धनमा बाँधिएको जोशी जोडीलाई कार्यव्यस्तताले हनिमुन मनाउन करिब चार महिना महिना कुर्नुप¥यो । नवदुलहीलाई लिएर पोखरा आएको यो जोडी सुरुमा दुई दिनका लागि भनेर आए पनि पछि थप दुई दिन बसेर फर्किएको छ । ‘दुई दिन त बितेको पत्तै भएन,’ फेवातालमा भेटिएका राजुप्रतापले भने, ‘पोखरा घुम्न त कम्तिमा ३÷४ दिनको समय लिएर आउनुपर्ने रहेछ ।’ उनले आफ्नी जीवनसंगिनीसँग फेवातालमा बोटिङ गरेको, सराङकोटबाट सूर्याेदय र मनोरम हिमाल हेरेको, यहाँका अनौठा गुफाभित्र घुमेको कहिलै नबिर्सने बताए । ‘हाम्रो हनिमुन ट्रिप साँच्चैको स्मरणीय भयो,’ उनले भने, ‘मैले त मेरा साथीलाई पनि हनिमुन मनाउन पोखरा नै जाने सल्लाह दिने भएको छु ।’

हनिमुनका लागि पोखरा आउने राजुप्रताप जस्तै नवजोडीका लागि यहाँका होटलले बेलाबेला विशेष छुटको अफर ल्याउँछन् । हनिमुन जोडीलाई यो राम्रो अवसर हो । एक त यहाँको रमणीय वातावरण त्यसमा होटलहरुले दिने छुट, यसले नवजोडीलाई पोखरा घुम्न झन् उक्साएको छ । ‘नवविवाहित जोडीलाई मंसिर महिनामा हनिमुन प्याकेजका रुपमा विशेष छुट दिने गरेका छौँ,’ लेकसाइडको बाराहीचोकस्थित स्नोल्यान्ड होटलका प्रबन्धक निर्देशक गणेशबहादुर थापाले भने । स्नोल्यान्डले आन्तरिक पर्यटकका लागि धौलागिरि, माछापुच्छ«े, जोमसोम र मुक्तिनाथमा प्याकेज बनाएको उनले बताए । जसअनुसार शुल्क पनि भिन्दाभिन्दै छ । होटलहरुले कोठामा विशेष सहुलियत दिए पनि खानामा भने कुनै छुट दिँदैनन् ।प्याकेजअनुसार बस्ने पाहुनाले सुविधा पनि फरक–फरक उपभोग गर्न पाउँछन् । होटलले पर्यटकको चाहनाबमोजिम विभिन्न रमणीय स्थलको घुम्ने सुविधासमेत उपलब्ध गराउँछन् । हल्लनचोकस्थित होटल ‘पिस प्लाजा’का सञ्चालक भरत पराजुलीले आफ्नो होटलमा हरेक महिना हनिमुन जोडी नटुट्ने बताए । पहिला–पहिला विदेशी जोडी मात्र हनिमुन मनाउन पोखरा आउने गरेकामा अहिले नेपालीहरुमा पनि हनिमुन मनाउने प्रचलन बढेको पराजुलीले बताए । ‘अहिले नेपाली युवा पुस्तामा पहिले नेपाल चिन्नुपर्छ भन्ने भावना विकास भएको छ,’ पराजुलीले भने, ‘नेपाली हनिमुन जोडीको बढ्दो पोखरा आगमन त्यसैको उपज हो ।’

कहाँ कहाँबाट आउँछन् ?
हनिमुनका लागि पोखरामा आन्तरिक मात्र नभई भारतका जोडीसमेत आउने गरेको व्यवसायीको भनाइ छ । आक्कलझुक्कल तेस्रो मुलुकका जोडीहरु पनि आउने गरेका छन् । ‘पहिला–पहिला भारतीय जोडी बढी हुन्थे,’ स्नोल्यान्ड होटलका प्रबन्ध निर्देशक गणेशबहादुर थापाले भने, ‘आजकल नेपालीहरु बढी हुन थालेका छन् । जोडीहरु हाम्रो होटलमा प्रायः छुट्दैनन् ।’
काठमाडौं, चितवन, विराटनगर, बुटवल, नेपालगञ्ज, धरान, इलाम, धनगढी, दाङ, भरतपुर, झापा लगायतका ठाउँबाट नवविवाहित जोडी हनिमुन मनाउन पोखरा आउने गरेको व्यवसायीहरु बताउँछन् । उनीहरुको बसाइ दुईदेखि चार रातसम्म हुने गर्छ । जाडो महिनामा दृश्यावलोकन राम्रो हुने भएकाले गर्मीभन्दा जाडो सिजन हनिमुनका लागि उपयुक्त हुने व्यवसायीको भनाइ छ । विशेषगरी मंसिरदेखि फागुनसम्म नवविवाहित जोडी धेरै आउने गरे पनि बाह«ै महिना यस्ता जोडी आउने गरेको होटल व्यवसायी सुनाउँछन् । उनीहरुको भनाइमा हनिमुन मनाउन आउने जोडीमा अधिकांश जागिरे हुन्छन् । ‘व्यवसाय गर्नेदेखि सबैखाले पेसाका जोडी यहाँ आउँछन्,’ होटल ट्रेक एन्ड क्लाइम्बका संचालक सोम थापाले भने, ‘सिजनमा त एक÷दुई जोडी नभएको दिन नै हुँदैन ।’

कति खर्च लाग्छ ?
हनिमुन आउँदा निर्विकल्प रुपमा लेकसाइडकै होटल पुग्छन् । लेकसाइड स्वदेशी तथा विदेशी पर्यटकको केन्द्र हो । यहाँका प्रायः होटलबाट फेवाताल र हिमालको मनोरम दृष्य देखिन्छ । आफ्नो खल्ती हेरेर यहाँ महँगोदेखि सामान्य दरका होटलमा बस्न सकिन्छ । सामान्य सुविधादेखि डिलक्स रुम भएका होटलहरु यहाँ प्रश्स्त छन् । लेकसाइडका होटलले सुविधाअनुसार फरकफरक शुल्क निर्धारण गरेका छन् । बाहिरी मुलुकका भन्दा आन्तरिक पर्यटकलाई शुल्कमा केही सहुलियत दिएका छन् । त्यसमा पनि प्याकेजअनुसार शुल्क निर्धारण गरेर विशेष सुविधा समेत दिँदैआएका छन् ।
एट्याच वाथरुम, टेलिभिजन, तातोपानी भएको कोठामा बस्न एक हजार पाँच सयदेखि दुई हजार पाँच सय रुपैयाँसम्म तिरे पुग्छ । बाथ टब, एसी लगायत अन्य सुविधा भएका कोठाका लागि भने तीन हजारदेखि ५ हजार रुपैयाँसम्म पर्छ । यस हिसाबले दुई रातको बसाइका लागि होटल खर्च पाँच हजारदेखि १० हजार रुपैयाँसम्म छुट्याए पुग्छ । हनिमुन मनाउन आउने जोडी घुम्नमै व्यस्त हुने भएकाले अधिकांशले बाहिरका होटल तथा रेस्टुराँमा खाना–खाजा खाने गर्छन् । यसो गर्दा एक छाक सामान्य खानाको तीन सयदेखि चार सय ५० रुपैयाँसम्म पर्छ । यहाँको प्रख्यात थकाली खाना खाने हो भने एक छाकको तीन सयदेखि ५ सय रुपैयाँसम्म लाग्छ ।
यस्तै डुंगा चढेर ताल बाराही मन्दिर जान प्रति व्यक्ति ८० रुपैयाँ तिरे पुग्छ । डुंगा भाडामा लिएर एकघण्टा ताल घुम्ने हो भने दुई हजार रुपैयाँसम्म लाग्छ । रमणीयस्थल घुम्न लेकसाइडमा भाडाका ट्याक्सी तथा मोटरसाइकल पनि उपलब्ध हुन्छन् । डेभिज फल्स र गुप्तेश्वर गुफासँगै रहेकाले एउटै ट्याक्सी खर्चमा दुवै ठाउँ घुम्न सकिन्छ । ट्याक्सीका लागि आपसी सहमतिमा भाडा तिर्नुपर्छ । दिनभर सबै भ्रमणस्थलको घुम्ने एउटै ट्याक्सी भाडामा लिने हो भने करिब तीन हजार रुपैयाँ पर्छ ।

 

प्रकाशित: १५ मंसिर २०७४ १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App