"

देशले काँचुली फेरिरहेको बेला

शुक्रबार, १५ मङि्सर २०७४, ०९ : ४१ डा.सरोज धिताल


केही दिनअघि अग्लो डाँडामाथिको विहारको शान्त आँगनबाट काठमाडौं खाल्डो नियाल्दै थिएँ । सुन्दर उपत्यका सुन्दर नै देखिएको थियो । तर धूलो र धुवाँको फोहोर बाक्लो पत्रले त्यो सुन्दरतालाई मन कुँडिने गरी छोपेको थियो । घामतिर पिठ्युँ फर्काएर उभिएको थिएँ म, पछाडिबाट बिस्तारै एकजना विदेशी मित्र आए र उनको आफ्नो भाषामा भने– नेपाल साँच्चै सुन्दर छ। 

मैले उनको अनुहारतिर नहेरी सोधेँ– काठमाण्डु नि ? 
उनले भने– सुन्दर छ ।  
मैले खुइय्य गर्दै भनेँ– यो सहर निसास्सिएको छ, हेर त ! सासै फेर्नै सकिरहेको छैन !  
एकछिन उनी केही बोलेनन् । बिस्तारै सोधे– आमचुनाव भइरहेको छ क्यारे ! अब के हुन्छ ?
मैले भनेँ– हेरौँ, अब केही स्थिरता होला कि ! तिमीलाई थाह छ नि, दशकौँ भइसक्यो हामीकहाँ स्थिर सरकार नभएको । अब नयाँ संविधान पनि कार्यान्वयन हुँदैछ । केही आशा गर्ने ठाउँ छ । चुनावी घोषणापत्रहरू हेर्दा सबै पार्टीहरू देशको समृद्धिमा केन्द्रित देखिन्छन् । संघीयताको अर्थ सकारात्मक, सृजनात्मक विकेन्द्रीकरणमा अनूदित भयो भने साँच्चै चमत्कार पनि हुन सक्नेछ। 

तर आफ्नो मनमा मडारिइरहेको डरको कालो बादल भने मैले उनलाई देखाइनँ । नयाँ संविधान कार्यान्वयन हुनु भनेको देशले काँचुली फेर्नु हो । काँचुली फेरिरहेको जुनसुकै प्राणीको जीवनकै सर्वाधिक महत्वपूर्ण नयाँ सम्भावनाको ढोका उघ्रिरहेको हुन्छ । तर त्यो सम्भावनाका निम्ति ज्यादै ठूलो जोखिमको मूल्य तिरिरहेको हुन्छ ऊ । देशका निम्ति पनि नयाँ संविधानको काँचुली फेर्नु भनेको नयाँ अवसर मात्र हैन, अति ठूलो जोखिमको चुनौतीले भरिएको अवधि हो । यो चुनौतीलाई अझ भयानक बनाइदिएका छन् अनेक यथार्थले । हरेक ठूला पार्टीभित्र सांगठनिक सुसंस्कारको चिहानमाथि कुसंस्कारको विषवृक्ष बढिरहेको छ, सबैजसो स्थापित ठूला पार्टीका नेता, कार्यकर्ताहरू घाँटी घाँटीसम्म भ्रष्टाचार र परनिर्भरताको आहालमा डुबेका छन्, लम्पसारवाद र लूटतन्त्रले करीबकरीब वंशाणुकै तहमा प्रवेश पाइसकेका छन्, यी पुराना पार्टीभित्र मूल्यमान्यता, सुविचार र सुसंस्कारका कुरा हास्यास्पद ‘पाखे’ र ‘पुरातन’ कुराका रूपमा ग्रहण हुन थालेका छन्, इमानदार साथीहरूका दुखेसाहरूलाई वास्ता गर्नु भनेको व्यवस्थापन क्षमता नभएका अक्षम नेताका कमजोरीका रूपमा लिइन थालेको छ .... र यिनै पार्टीहरूले फेरि पनि केही वर्ष शासन चलाउने सम्भावना छ । 
अनि यस्तै बेला, पुरानो घनिष्ठ छिमेकी हाम्रो नयाँ संविधानका बारेमा हाकाहाकी आफ्नो अप्रसन्नता व्यक्त गरेको ग¥यै छ । देशै टुक्र्याइदिन्छु भन्ने खालको त्रास देखाइरहेको छ । र पुराना शासकहरूको मूर्खताका कारण घरैभित्र सृजित असन्तुष्टि र नमीठा मनोवैज्ञानिक पक्षहरूलाई दिलोजनले मलजल गर्दै देशभित्रै विखण्डनको बीउ छर्ने काममा लागेको छ । सधैँ आफैँले प्रभाव जमाइरहेको फुच्चे छिमेकीको स्वतन्त्र भएर समृद्धिको बाटोमा हिँड्ने छटपटी उसलाई पटक्कै चित्त बुझेको छैन । र ऊसँगको सम्बन्धमा हुने घनिष्ठता वा दूरीप्रति अर्को छिमेकी पनि झन् झन् चनाखो भइरहेको छ । 
देशले झेलिरहेको यो सम्भावना र जोखिमका सबै कुरा उनलाई कसरी भनूँ, बुद्ध जन्मिएको भूमिमा अलिकति शान्ति खोज्न भनी आएको एउटा विदेशीलाई ! 

उनीसँग कुरा गरिरहेकै बेला चुनावी प्रचारमा हिँडेको एउटा गाडीले धूलो उडाउँदै र कर्कश, छाडा, सस्तो र निरर्थक चुनावी थेगो फलाक्दै, त्यो शान्त डाँडाको शान्ति चिर्दै निस्क्यो । हामी दुवै केही बोलेनौँ । म एक्लै बस्न चाहेँ र बिस्तारै उनलाई छोडेर अर्को कुनातिर लागेँ। 

चुनावी माहौलमा एकार्काप्रति आरोप–प्रत्यारोप हुनु स्वाभाविक हो– जहाँ पनि हुने कुरा हो । तर जस्तो घटिया भाषामा र सतहीरूपमा एकार्काप्रति गालीगलौज चलिरहेको छ, कुनै पनि हिसाबले एउटा सभ्य लोकतान्त्रिक देशको निम्ति सुहाउने भाषा हैन । ‘चुनावी गठबन्धनमा जे पनि हुनसक्छ’, ‘राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु कोही हुँदैन’, ‘अहिलेको युग भनेको बजारलाई सबै कुराको जिम्मा छोडिदिने हो’, ‘चुनाव हो हजुर, चुनाव हो ! खर्च नगरी कहाँ हुन्छ ?’ जस्ता अनेक अभिव्यक्ति अहिले प्रयोग हुने गरेका राजनीतिक भाषाका मानक शब्दावली बन्न पुगेका छन्।   

लोकतन्त्रको ठेक्का नै हामीले लिएका छौँ भन्नेहरूदेखि लिएर सामाजिक न्यायको असल ध्येयका नाममा जस्तोसुकै अमानवीय तरिका अपनाए पनि हुन्छ भन्दै हुर्केकाहरू अनि मध्यमार्गी वामको छवि बनाएका पार्टीसम्म सबै सबै व्यापारी र गुण्डाको पार्टीका रूपमा चिनिन थालेका छन्, कतिपयमा हिंसा र षड्यन्त्रको संस्कार पखालिनुको सट्टा झन्झन् बाक्लो भएर पोतिँदै छ, पार्टीभित्र आन्तरिक लोकतन्त्र भन्ने कुराको अभाव सबैले अनुभूत गरेका छन् । अवसरवाद, लम्पसारवाद र लूटतन्त्र पराकाष्ठामा पुगेको छ।

तर यो अन्धकारभित्र पनि उज्यालोको बीउ देख्न सकिन्छ । यो खरानीभित्र पनि आगोका बीउहरू अझै जिउँदै छन् । यी काला बादलमा पनि चाँदीका घेरा देखिन्छन् । ती सकारात्मक यथार्थमा नै केन्द्रित भएर अघि बढ्ने हो भने यो देशले साँच्चै नै राम्रोसँग काँचुली फेर्ने छ।

यसपालिको चुनावी घोषणापत्रमा सबैजसो नयाँ पुराना पार्टीहरूले देशको समृद्धिलाई केन्द्रविन्दुमा राखेर प्रचारप्रसार गर्नु निश्चय नै सकारात्मक पक्ष हो । सामाजिक न्यायका कुरालाई समेत केवल वामपन्थीकै फेसन वा मन्त्रका रूपमा मात्रै न लिएर सबैले आफ्नो प्रतिबद्धताकै रूपमा अभिव्यक्त गरेका छन्, यो त्यत्तिकै आशाप्रद पक्ष हो । देशका प्राकृतिक स्रोत संसाधनहरूको अझै उपयोग हुन नसकेको कुरामा समेत सबैले केही न केही बोलेकै छन् र केही गर्ने आशय देखाएका छन् । देशका दुवै ठूला छिमेकीले द्रुत गतिमा गरिरहेको उन्नति र त्यो समृद्धिबाट आफूसमेत अघि बढ्ने प्रेरणालाई बुझ्न थालेको अभिव्यक्ति पनि दिइरहेका छन् । अनि यो सबको बीचमा देशलाई असाध्यै माया गर्ने, सकारात्मक छटपटीलाई ऊर्जाका रूपमा लिइरहेको नयाँ पुस्ता देखिन थालेको छ । अघिल्लो पुस्ताझैँ विभिन्न पूर्वाग्रहबाट ग्रस्त नभई जाग्रत मनस्थितिमा रहेर, खुला हृदय, युवासुलभ कौतूहल, निडरता, सिक्ने चाहना, सृजनात्मकता आदिले भरिएका युवाहरूको ठूलो अंश केही गरूँ भनेर तात्तिएको छ । सृजनात्मक कलामा, थिएटर र पर्दामा, सुन्दर कविता र साहित्यिक रचनामा, कुची र क्यान्भासमा मात्रै हैन, अब त देशको राजनीति नै सफा गर्छौं भनेर समेत युवाहरूको ठूलो पंक्ति राजनीतिमै फाल हान्न खोजिरहेको छ । र यसको तरंग जनता जनार्दनमा मात्र हैन, पुराना पार्टीभित्रैका युवाहरूमा समेत पर्न थालेको आभास हुँदै छ।

विगतमा सधैँभरि एउटा देशको घेराबन्दीमा सीमित हुन पुगेको हाम्रो सानो देश बिस्तारै त्यो घेरा तोडेर उत्तरतिरको अलंघ्य ठानिएको हिउँको पर्खाल तोडेर स्थल मार्गबाटै मध्यएसियादेखि प्रशान्त महासागरको किनारसम्म र युरोपदेखि साइबेरियासम्म पुग्ने सम्भावना नियाल्न थालेको छ । अत्यन्त धिमा गतिमा भए पनि शिक्षा र स्वास्थ्य जनताका अधिकार हुन् कि विनिमयका वस्तु भनेर गम्भीर छलफल हुन थालेको छ। 

यी सबै पनि यथार्थ हुन् । हो, खरानीभित्र अझै आगोका बीउहरू छन् । अन्धकारका बीचमा पनि जूनकिरीहरू उडिरहेका छन् । यो देश सम्भावनाले भरिएको छ । खाँचो केवल एउटै कुराको छ– राजनीतिक पार्टीहरूमा सुसंस्कारको । यति मात्रै हुने हो भने, यो देश कम्तीमा पनि दक्षिण एसियाको सर्वोत्तम रत्नका रूपमा चिनिनेछ र एसियाली मापदण्डतर्फ अघि बढ्न थाल्नेछ । नेपाली राजनीतिमा एकअर्काको दानवीकरण गर्ने र घृणाकै मात्रै खेती गर्ने प्रचलनको अन्त्य हुनु आवश्यक छ । यदि सामाजिक न्यायसहितको समृद्धिप्रति आफ्ना चुनावी घोषणापत्रमा भनेझैँ साँच्चैको प्रतिबद्धता छ भने, कम्तीमा यति कुरामा त सबै पार्टी मिलेर काम गर्न सक्छन् नि ! अब त्यस्ता राजनेताहरूको आवश्यकता देशले बोध गरिरहेको छ, जो अरूका कुरा काटेर, ओठे जवाफ दिएर भीडको ताली पाउन लालायित हैन, देशले काँचुली फेरिरहेको यो महत्वपूर्ण, सम्भावना र जोखिम दुवैले भरिएको कालखण्डमा जनताका पंक्तिबीच भिन्नताभित्र समानता पहिल्याउन र त्यही समानतामा टेकेर देशलाई केही कदम अघि बढाउन सक्षम होस् । आशा गरौँ, चुनावको नतिजा यही दिशातर्फ फर्केको होस्।







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

बलिउडमा रणवीर कपुर र आलिया भट्टको जोडी अहिले चर्चामा छ। दुबैले प्रेम सम्बन्धलाई स्वीकार गरिसकेका छन्। अब दुबैबीच विहे कहिले...

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ...

लेखिका प्रियंका

लेखिका प्रियंका

हलिउड टेलिभिजन सो ‘क्वान्टिको’को पछिल्लो श्रृंखलाबाट विवादमा तानिएकी बलिउड नायिका प्रियंका चोपडाले सन् २०१९ मा ‘अनफिनिस्ड’ नामक पुस्तक पाठकमाझ ल्याउने...

नेपाली फिल्मको खराब बोहनी

नेपाली फिल्मको खराब बोहनी

अघिल्लो वर्ष थुप्रै फिल्मले निर्माताकोे गोजी भरेका थिए । थुप्रै नयाँ कलाकारले अभिनयमा सम्भावना देखाएका थिए । यही अपेक्षाका साथ...