५ वैशाख २०८१ बुधबार
अन्य

टोली खटाएरै सामाजिक सञ्जालमा प्रचार

भित्ताभर चुनावी नारा र पोस्टर, सडक वारपार ब्यानर र तुल । ¥यालीमा सहभागी कार्याकर्ताका हातहातमा प्लेकार्ड र चुनावी प्रतिबद्धतापत्र । एक दशकअघि सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा राजनीतिक दलहरूले अपनाएको चुनावी प्रचारशैली यस्तै हुने गथ्र्यो ।

कतिपयले ‘फेसबुके पार्टी’ भनेर आलोचना समेत गरेको विवेकशील साझा पार्टीले संसदीय र प्रदेशसभा निर्वाचनका लागि सामाजिक सञ्जाल व्यवस्थापन गर्न २७ जनाको स्वयंसेवक समूह नै बनाएको छ ।  

दलले प्रचारका लागि गरेको भित्तेलेखन चुनाव सकिएको कैयौँ दिनसम्म पनि मेटिँदैनथ्यो । त्यसले सहर नै कुरूप हुन्थ्यो । चार वर्षअघिको दोस्रो संविधानसभामा भने दशकअघि देखिने प्रचारशैलीमा धेरै परिवर्तन देखियो । त्यसबेला परम्परागत साथै विभिन्न नयाँखाले प्रचारशैलीको समेत मिश्रण देखियो ।
६ महिनाअघिको स्थानीय तह निर्वाचनमा भने दशकअघि देखिने प्रचार कमै मात्र देखियो । भित्ताभर पार्टी र उम्मेदवारको प्रचार गर्दै लेखिने चुनावी नाराले फेसबुकका भित्ता र ट्विटरका टाइमलाइन भरिए ।
नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या बढेसँगै परम्परागत प्रचारशैली छाडेर नयाँ ढंगले चुनावी प्रचार गर्नेको संख्या बढेको हो । स्थानीय तह निर्वाचनका बेला जस्तै प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि पनि सामाजिक सञ्जालको प्रयोग व्यापक भइरहेको छ ।
धेरै मतदाता सामाजिक सञ्जालमा जोडिएकाले सहरी क्षेत्रका उम्मेदवारले त बढी नै यस्ता प्लेटफर्ममार्फत प्रचार गरिरहेका छन् । प्रायः सबै राजनीतिक दलले चुनावका लागि आफ्नो पार्टीको सामाजिक सञ्जाल पेज एवं पोर्टल बनाएका छन् । त्यसैमार्फत उनीहरूले आफ्ना अजेन्डालाई मतदातासमक्ष लगिरहेका छन् ।  
चुनावका बेला सामाजिक सञ्जालमा विभिन्न राजनीतिक दलका कार्यकर्ताबीच रमाइलो बहस समेत हुने गरेको छ । कतिपय कार्यकर्ताबीच भने आरोप–प्रत्यारोप र वादविवाद समेत भएको पाइन्छ ।
चुनाव नजिकिँदै जाँदा कतिपय पार्टी तथा उम्मेदवारले छुट्टै स्वयंसेवक समूह बनाएर समेत चुनाव प्रचार गरिरहेका छन् । कतिपयले ‘फेसबुके पार्टी’ भनेर आलोचना समेत गरेको विवेकशील साझा पार्टीले संसदीय र प्रदेशसभा निर्वाचनका लागि सामाजिक सञ्जाल व्यवस्थापन गर्न २७ जनाको स्वयंसेवक समूह नै बनाएको छ ।  
सामाजिक सञ्जाल चलाउने समूहले विवेकशील साझा पार्टीका उम्मेदवारको फेसबुक र ट्विटर व्यवस्थापन गर्दै आएको छ । २७ जनाको समूहलाई पनि फरक–फरक टोलीमा विभाजन गरी तिनलाई कस्ता–कस्ता कुरा सामाजिक सञ्जालमार्फत प्रसार गर्ने भन्ने जिम्मेवारी दिएको पार्टी प्रवक्ता रमेश पौडेलले बताए ।
‘सामाजिक सञ्जाल चलाउने टोलीले कुन कुरा कसरी पोस्ट गर्ने भनेर निर्धारण गर्छ,’ उनले भने, ‘कुन पोस्ट अगाडि राख्ने, कस्तो विषयवस्तु जनतासम्म पु¥याउने, कुन उम्मेदवारको भिडियो कसरी पोस्ट गर्ने भन्ने कुरा विशेष टोलीले छलफल गरेर टुंग्याउँछ ।’
सामाजिक सञ्जालले आफ्नो पार्टीको चुनावी अभियानलाई निकै सहयोग गरेको उनले बताए । ‘फिल्डमा गएर सोध्दा पनि हामीले यो भिडियो हेरेका थियौँ नि भन्ने प्रतिक्रिया पाइरहेका छौँ,’ उनले भने, ‘देश–विदेशका नेपाली माझ हामी सोसल मिडियामार्फत नै अन्तक्र्रिया गर्छौं ।’
धेरै मतदाताले सामाजिक सञ्जाल चलाउने भएकाले आफूहरूले त्यसलाई उपयोग गरेको उनले बताए । ‘अहिले परम्परागत चुनावी प्रचार शैलीले मात्र हुँदैन,’ पौडेलले भने, ‘घरदैलो कार्यक्रम त छँदै छ, तर सहरको भित्ता फोहोर पार्ने गरी पोस्टर टाँस्नु भन्दा हामीले क्युएफएक्स सिनेमामा  विज्ञापन गरेर नयाँ प्रयोग गरेका छौँ ।’ पार्टीले विभिन्न स्थानका उम्मेदवारसँग पनि सामाजिक सञ्जालबाटै अन्तक्र्रिया गरिरहेको उनले जानकारी दिए ।
पुराना पार्टीले पनि सामाजिक सञ्जाललाई चुनावी प्रचारको माध्यम बनाएका छन् । नेपाली कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनमा आबद्ध दल, नेकपा एमाले र माओवादी केन्द्रसहित वाम गठबन्धनमा आबद्ध दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टीलगायतले पनि अहिले सामाजिक सञ्जालमार्फत प्रचार तीव्र पारेका छन् ।
सामाजिक सञ्जाल चलाउनका लागि केही पार्टीले छुट्टै टोली बनाएका छन् भने कतिपयले आफैँ चलाइरहेका छन् । कतिपय राजनीतिक दल र उम्मेदवारले सामाजिक सञ्जालमार्फत विज्ञापन समेत गराइरहेका छन् । उम्मेदवारले आफ्ना गतिविधिलाई फेसबुक लाइभ समेत गर्ने गरेका छन् ।
वाम गठबन्धनले चुनाव प्रचारका लागि सामाजिक सञ्जालको व्यापक प्रयोग गरिरहेको छ । केन्द्रीय, जिल्ला र क्षेत्रीय तहमा उम्मेदवार आफैँले पनि सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् । वाम गठबन्धनले प्रतिनिधिसभाका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा मिडिया डेस्क स्थापना गरेको छ ।
वाम गठबन्धन निर्वाचन परिचालन कमिटी प्रवक्ता विष्णु रिमाल गठबन्धनको आफ्नो छुट्टै प्रचारप्रसार विभाग भएकाले त्यसैले सामाजिक सञ्जालमार्फत प्रचारको समन्वय गरिरहेको बताउँछन् । चुनाव प्रचारमा सामाजिक सञ्जाल प्रयोग गर्नेमा आफूहरू निकै अगाडि रहेको उनको तर्क छ । ‘हाम्रो मिडिया डेस्कमा न्यु मिडियाका जानकार हुनुुहुन्छ, उहाँहरूले सामाजिक सञ्जालमार्फत जानकारी दिनुहुन्छ,’ उनले भने, ‘हामी फेसबुक लाइभ पनि गरिरहेका छौँ, युट्युबमा पनि भिडियो पोस्ट भएका छन् ।’
सामाजिक सञ्जाल प्रयोग बढिरहेकाले ‘भर्चुअल’ प्रचारशैली प्रभावकारी भएको रिमालको अनुभव छ । ‘पहिले पर्चा छाप्नुपर्ने, घरघरमा गएर पर्चा बाँड्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘त्यो पु¥याउन नसक्दा यत्तिकै खेर जाने हुन्थ्यो तर सामाजिक सञ्जालमा त्यस्तो हुँदैन ।’ वाम गठबन्धनले प्रायोजित पोस्ट सामाजिक सञ्जालमा नराखेको बताए । आवश्यक परे त्यो पनि गरिने उनी बताउँछन् ।
चुनाव नजिकिँदै गएपछि पहिले सामाजिक सञ्जालमा सक्रिय नभएका नेता पनि अहिले भने सक्रिय भएका छन् । कतिपय उम्मेदवारले त चुनावकै लागि सामाजिक सञ्जालमा अकाउन्ट समेत खोलेका छन् । मतदातासँग अन्तक्र्रियाका लागि सजिलो र चाँडो हुने भएकाले उनीहरू सामाजिक सञ्जालतर्फ आकर्षित भएका हुन् ।  
राजनीतिक दल र चुनावी उम्मेदवारका सामाजिक सञ्जाल गतिविधिलाई अघिल्लो निर्वाचनदेखि नियालिरहेका सामाजिक सञ्जाल विश्लेषक रवि सिंघाल भने राजनीतिक दलको ‘डिजिटल मिडिया’ प्रयोग एकतर्फी सञ्चार भएको आरोप लगाउँछन् ।
दलले जति नै आक्रामक रूपमा लागेको भने पनि यस्ता मिडिया प्रयोगमा भने त्यो एकतर्फ मात्र भएको दाबी उनको छ । ‘सामाजिक सञ्जालमा दोहोरो अन्तत्र्रिmया गर्नुपर्ने हो तर नेपालमा त्यो अभ्यास भएको छैन,’ उनी भन्छन्, ‘दलले सामाजिक सञ्जालमा सूचना दिन्छन्, सामग्री पोस्ट गर्छन्, भिडियो देखाउँछन् तर त्यसमा सर्वसाधारले देखाएको चासो र प्रश्नलाई भने बेवास्ता गरिदिन्छन् ।’
उनी केही पार्टीले मात्र अहिले दोहोरो अन्तक्र्रिया गरिरहेको बताउँछन् । ‘उनीहरूलाई न सोसल मिडियाबारे ज्ञान छ, न त यसका असर नै,’ उनले भने, ‘जान्ने–बुझ्ने मान्छे छन् भनेर उनले दाबी गरे पनि अन्तक्र्रियाको कुरामा दल निकै पछि छन् ।’
पश्चिमा मुलुक र भारतमै समेत चुनावका बेला राजनीतिक दलले सामाजिक सञ्जाल प्रयोग बढाइरहेका छन् । गत वर्ष अमेरिकी राष्ट्रपति निर्वाचनमा सामाजिक सञ्जालको व्यापक प्रयोग गरिएको थियो । त्यसको प्रभाव समेत चुनावमा धेरै परेको विश्लेषण गरिएको छ । त्यस्तै, तीन वर्षअघिको संसदीय निर्वाचनमा भारतमा पनि सामाजिक सञ्जालको व्यापक प्रयोग भयो । त्यसयता भारतमा भएका प्रान्तीय निर्वाचनमा पनि सामाजिक सञ्जालको प्रभाव धेरै परेको छ ।
नेपालमा चुनावी प्रयोजनका लागि सामाजिक सञ्जालको प्रयोग बढिरहेको भए पनि त्यसको प्रभाव कति परेको छ भन्ने स्वतन्त्र अध्ययन हुने गरेको छैन । पछिल्ला निर्वाचनमा भने यसको प्रभाव निकै बढेको विश्लेषण गरिएको छ ।

प्रकाशित: ११ मंसिर २०७४ ०६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App