coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

इलाममा एकै वडाका पाँच उम्मेदवार !

इलाम- आउँदो २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ जिल्लाको एकै वडाका ५ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसले इलाम नगरपालिका–७ घर भएका छिमेकी पाँचै उम्मेदवारलाई प्रतिस्पर्धा गराउन लागेका हुन् ।  

चुनावमा जिल्लाको विभिन्न क्षेत्रबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्बाङ, खगेन्द्र देवान, केशव थापा, डम्बर खड्का र खिनु लङ्वा लिम्बू इलाम नगरपालिका–७ का बासिन्दा हुन् । उम्मेदवारमध्ये कसैको पुख्र्यौली घर नै यहीं हो भने कोही धेरै वर्षयता यहीं बसोबास गरिरहेका छन् ।

पूर्वसभामुख तथा नेकपा एमाले नेता सुवासचन्द्र नेम्बाङ र कांग्रेसका खगेन्द्र देवानको घर इलाम नगरपालिका–७, सुन्तलाबारीमा पर्छ । एउटै सडकको आमने–सामने घर भएका नेम्बाङ र देवानमध्ये नेम्बाङ नेकपा एमाले–नेकपा माओवादी केन्द्रको वाम गठबन्धनबाट प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ को उम्मेदवार छन् ।  देवान नेपाली कांग्रेसबाट क्षेत्र २ को प्रदेशसभा २ मा प्रतिस्पर्धा गर्दैछन् । नेम्बाङ पार्टीले दिएको जिम्मेवारीअनुसार धेरै समय काठमाडौं बस्छन् । तर, गृहजिल्ला आउँदा उनी आफ्नो निर्वाचन क्षेत्र र आफ्नो त्यही पुख्यौली घर पुग्छन् । कांग्रेस जिल्ला सचिव रहेका देवानको स्थायी घर सुन्तलाबारी नै भएकाले उनको बसोबास यहीं छ ।

नेम्बाङसँग क्षेत्र २ को प्रतिनिधिसभामा मुख्य प्रतिस्पर्धी रहेका केशव थापाको घर इनपा–७ कै इलाम बजारमा पर्छ । थापा सांसद हुँदा बढी समय काठमाडौंं नै बसेपनि गृहजिल्ला आउँदा आफ्नै घरमा बस्छन् । नेकपा एमालेले प्रतिनिधिसभा क्षेत्र १ को प्रदेशसभा १ मा उम्मेदवार बनाएकी खिनु लङ्वा लिम्बूको घर इनपा–७ कै कुलधारामा पर्छ । पुख्र्यौली घर प्याङ गाउँमा भएपनि लिम्बूको बसोबास अहिले इनपा नै हो । अबचाहिँ उनी आफू चुनावमा उठेको क्षेत्रमै पर्ने पशुपतिनगर गाउँमा घर बनाएर बस्ने सुरसारमा छिन् ।

नेपाली कांग्रेसले प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा १ मा उम्मेदवार बनाएका डम्बर खड्काको घर पनि इनपा–७ कै नारायणस्थानमा पर्छ । निर्माण व्यवसायी खड्काको बसोबास घरमै हुन्छ । नेम्बाङ, देवान, खड्का, थापा र लिम्बूको घर करिब आधार किलोमिटरको दूरीमा आसपासमै पर्छ । यो वडा जिल्ला सदरमुकामको बजार क्षेत्र पनि भएकाले धेरैजसो राजनीतिक दलका नेता–कार्यकर्ताको घर नजिक परेको हो ।

प्रकाशित: ७ मंसिर २०७४ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App