८ वैशाख २०८१ शनिबार
राजनीति

अस्पतालको 'बेड'बाट निधिको आह्वान : निर्वाचनमा सक्रिय रहनु होस्

काँग्रेस नेता विमलेन्द्र निधि। फाइल तस्विर

काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सक्रिय रहन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। नियमित स्वास्थ्य परिक्षणका क्रम ओम अस्पताल पुगेका निधिलाई चिकित्सकले अस्पतालमै बसेर उपचार गर्न सल्लाह दिएपछि मंगलबार अपील जारी गर्दै लोकतन्त्र रक्षाका लागि काँग्रेसले जित्नै पर्ने उल्लेख गरेका हुन्।

‘स्वास्थ्य अवस्थामा सामान्य समस्या देखिएपछि मेरो उपचार भै रहेको छ। म आराम छु,’ निधिले भनेका छन्, ‘मेरा शुभचिन्तक, पार्टी कार्यकर्ता तथा सम्पूर्ण धनुषाबासीलाई निर्वाचनको यो महान मोर्चामा अनवरत रुपमा सक्रिय रहन आह्वान गर्दछु। म पात्र मात्र हु। यहाँहरुको प्रतिनिधिमात्र हँु। धनुषाका हरेक युवा, प्रोण, सबै वर्ग, जनजाती, पेशाकर्मी र देशबासीले यसपटक लोकतन्त्र रक्षाको यो मोर्चा जित्नै पर्नेछ।’

पार्टीका नेता तथा कार्यकर्तालाई नआत्तिन र नमात्तिन आह्वान गर्दै निधिले डटेर जनताका घर–घरमा पुग्न पनि आग्रह गरेका छन् । ‘दिग्भ्रमित भएका जनतालाई बुझाउनुहोस। हामी सम्वृद्धीको महान अभियानमा छौं,’ उनको अपिलमा भनिएको छ, ‘रुखमा भोट हाल्नुहोस्। कांग्रेसका उम्मेदवारहरुलाई देशभरबाटै अत्याधिक बहुमतले विजयी बनाएर आफ्नो र भावी पुस्ताको भविष्य सुनिश्चित गर्नुहोस्।’

पार्टीका नेता, कार्यकर्ता र देशवासीको माया, ममता र सद्भाव र दिएको जिम्मेवारी पूरा नगरी आफूलाई केही नहुने दृढता व्यक्त गर्दै उनले भनेका छन्, ‘यहाँहरुले दिनुभएको जिम्मेवारी, धनुषाबासीले सुम्पेको दायित्व पुरा नगरी मलाई कुनै रोगले थला बनाउन सक्दैन। यो मेरो होइन यहाँहरुले मप्रति देखाउनु भएको विश्वासको खेला हो।’

आइतबार पुत्र वियोगमा परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समवेदना दिन सोमबार चुनावी प्रचार छाडेर काठमाडौं आएका निधि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना थिए। कांग्रेस नेताहरुका साथै पूर्व राष्ट्रपति रामवरण यादव उनलाई भेट्न मंगलबार अस्पताल पुगेका थिए ।   

 

 

प्रकाशित: ५ मंसिर २०७४ १६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App