coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चुनाव विरोधी गतिविधि गरेको आरोपमा मेचीका ४ जिल्लाबाट ३४ पक्राउ

इलाम- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मेची अञ्चलका चारै जिल्लाको सुरक्षा अवस्था मजबुत रहेको सुरक्षा निकायले जनाएको छ। इलाम, पाँचथर, ताप्लेजुङ र झापाका मतदाताले ढुक्कले मतदान गर्ने वातावरण रहेको मेची अञ्चल प्रहरी कार्यालयले जनाएको हो।

मेचीका प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारीले चारै जिल्लाका मतदातालाई ढुक्कसँग मतदान गर्ने वातावरण बनाउने दाबी गरे। ‘छिटफुट घटनाबाहेक मेचीका कुनै पनि जिल्लामा चुनावका लागि चुनौती छैन,’ उनले नागरिकसँग भने, ‘दुवै चरणका निर्वाचनमा भरपूर सुरक्षाको वातावरण बनाउनेछौं ।’ ताप्लेजुङ र पाँचथरमा पहिलो चरण (मंसिर १०) तथा इलाम र झापामा दोस्रो चरण (मंसिर २१) मा निर्वाचन हुँदैछ।

एसएसपी अधिकारी मंगलबार इलामको पूर्वी क्षेत्रका मतदान केन्द्रहरूको अनुगमनमा आएका छन्। उनी बुधबार पनि इलाम सदरमुकामलगायत अन्य मतदानस्थल पुग्दैछन् । मेचीका चारै जिल्लामा सुरक्षास्थिति अनुगमन गरिरहेका उनले पाँचथरमा सर्वसाधारणलाई तर्साउन बम राखेको पाइएपनि अन्य ठाउँमा शान्तिपूर्ण रूपमा निर्वाचन गतिविधि भइरहेको बताए । ‘उम्मेदवार र राजनीतिक दलहरूलाई शान्तिपूर्ण रूपमा चुनावी प्रचारमा लाग्न र मतदातालाई चुनावमा भोट हाल्न जान सुरक्षाका दृष्टिले कुनै समस्या हुनेछैन,’ उनले भने, ‘शान्तिपूर्ण निर्वाचनमा बाधा पुर्‍याउन सक्नेहरूलाई नियन्त्रणमा लिँदैछौं।’

          अधिकारीका अनुसार निर्वाचनविरोधी गतिविधिमा संलग्न आरोपमा अहिलेसम्म मेचीका चारै जिल्लामा गरी ३४ जना पक्राउ परेका छन्। निर्वाचनमा बाधा पुर्‍याउने सम्भावनाले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता छन्।

          प्रहरीले मंगलबारसम्ममा इलामबाट ४, पाँचथरबाट १२ र ताप्लेजुङ तथा भापामा ९–९ जनालाई पक्राउ गरेको छ । इलामका डिएसपी रमेश बस्नेतका अनुसार इलाम नगरपालिका–५ भोर्लेनीकी मुना भनिने बसुन्धरा कार्की, इनपा ११ सोयाकका सञ्जीव फागो, इनपा १ साखेजुङका विशाल राई र देउमाई नगरपालिका–८ जितपुरका मोहन बराल पक्राउ परेका छन् । पार्टीकी इलाम जिल्ला महिला विभाग प्रमुख कार्की कात्तिक २८, फागो र बराल कात्तिक २९ तथा राई कात्तिक ३० मा पक्राउ परेका हुन् ।

          ‘निर्वाचनमा कुनैपनि गतिविधिमार्फत अशान्ति फैलाउने, फैलाउन खोज्नेलाई छाडिने छैन,’ एसएसपी अधिकारीले भने, ‘भयमुक्त वातावरणमा चुनाव गराउनु हामी सबैको दायित्व हो।’

प्रकाशित: ५ मंसिर २०७४ ११:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App