७ वैशाख २०८१ शुक्रबार
राजनीति

यसरी गर्नुस् मतदान, तीन मतपत्र, चार छाप

इलाम- हरेक निर्वाचनमा निर्वाचन आयोगले सबैभन्दा आलोचना खेप्नुपरिरहेको काम हो मतदाता शिक्षा। मतदान नगरेकामा भन्दा आफूले हालेको मत बदर हुँदा चाहिँ मतको ‘नाश’ भएको तीतो अनुभव मतदाताले गरिरहेका हुन्छन्। आयोगले प्रत्येक मतदातासम्म पुगेर मतदाता शिक्षा दिन नसक्दा हरेक चुनावमा बदर मतको संख्या बढी हुने गरेको छ।

यही मंसिर १० गते देशका हिमाली तथा उच्चपहाडी ३२ जिल्ला र बाँकीमा मंसिर २१ गते एकैदिन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । प्रदेशसभाको संरचना यसअघिसम्म नभएको र निर्वाचन पनि नहुँदा मतदातालाई भोट हाल्ने तरिकाबारे निकै अन्योल छ । दुई तहको चुनाव एकैचोटी भएकाले मतदाता झनै अलमलमा परेका हुन्। निरक्षर मात्र होइन, शिक्षित र अगुवासमेत आउँदो निर्वाचनमा कसरी मतदान गर्ने भन्ने रनभुल्लमा देखिन्छन् । तर, कुन–कुन चिह्नमा कसरी मतदान गर्ने भन्नेमा ख्याल गरेर मतदान केन्द्र पुग्नेलाई भने भोट हाल्न गाह्रो चाहिँ छैन।

बेग्लाबेग्लै ४ खालका जनप्रतिनिधि चुन्न आउँदो निर्वाचन हुन लागेको हो। यो चुनावबाट प्रतिनिधिसभातर्फ पहिलो हुनेले जित्ने (प्रत्यक्ष) र समानुपातिकका गरी दुईखाले उम्मेदवार छानिने छन्। प्रदेशसभातर्फ पनि  पहिलो हुनेले जित्ने र समानुपातिकका उम्मेदवार नै छानिँदैछन् । पहिलो हुनेले जित्ने प्रणालीको निर्वाचनको मतपरिणाम जिल्लामै घोषणा गरिनेछ । प्रतिनिधिसभातर्फ समानुपातिकमा देश नै एउटा निर्वाचन क्षेत्र र प्रदेशसभामा सम्बन्धित प्रदेश एउटा निर्वाचन क्षेत्र कायम गरिएको निर्वाचन आयोगले जनाएको छ । समानुपातिकमा आएको मतका आधारमा आयोगले दलहरूले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट विजयी तोक्नेछ। 

आउँदो निर्वाचनका लागि आयोगले देशभर ३ खाले मतपत्र तयार गरेको छ । प्रतिनिधिसभाको प्रत्यक्षका उम्मेदवार छान्न सेतो भुइँमा हरियो मसीको चुनाव चिह्न भएको मतपत्र छ । प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार छान्न सेतो भुइँमा कालो मसीका चुनाव चिह्न छन् । प्रत्यक्षका दुवैखाले मतपत्रमा निर्वाचन क्षेत्रअनुसार चुनाव चिह्नका प्रकार र संख्या बेग्लाबेग्लै रहेको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले जानकारी दिए । ‘जति उम्मेदवार उठेका छन्, उनीहरूको मात्रै चुनाव चिह्न मतपत्रमा छ,’ उनले भने, ‘त्यसले मतदाता झुक्किने अवस्था आउँदैन।’

समानुपातिकका दुवैखाले (प्रतिनिधिसभा र प्रदेशसभा)उम्मेदवार छान्ने मतपत्र चाहिँ एउटै छ । त्यसमा सेतो भुइँमा रातो मसीका चुनाव चिह्न छन् । एउटै मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधिसभाका लागि र तल्लो खण्डमा प्रदेशसभाको दल छान्ने चिह्न राखिएको छ । यो मतपत्रको माथिल्लो भागमा देशभरका लागि ८८ चिह्न र तल्लो भागमा (प्रदेशतर्फ) भने जिल्लाअनुसार फरक–फरक चिह्न राखिएको काफ्लेले जनाए।

निर्वाचनको दिन मतदाता मतदान केन्द्र पुगेपछि कर्मचारीले सुरुमा मतदाता नामावलीमा उसको नाम रुजु गर्नेछन्। त्यसपछि नङमा नउड्ने मसी लगाइने छ र मतपत्र दिइने छ । सबैभन्दा पहिले मतदातालाई प्रतिनिधिसभा सदस्य छान्ने हरियो रंगका चुनाव चिह्न भएको मतपत्र मात्र दिइन्छ । मतदाताले त्यसमा आफूले रोजेको चिह्नमा मतदान गरेर मतपेटिकामा खसालेपछि मात्र प्रदेशसभाको प्रत्यक्षतर्फका उम्मेदवार छान्ने कालो रंगका चुनाव चिह्न भएको मतपत्र दिइन्छ । मतदानपछि त्यो मतपत्र पनि मतपेटिकामा खसालेपछि समानुपातिकतर्फ दल छान्ने मतपत्र दिइनेछ। ‘समानुपातिकतर्फको मतपत्रको माथिल्लो खण्डमा प्रतिनिधिसभा र तल्लो खण्डमा प्रदेशसभाका लागि दलहरूका चुनाव चिह्नमा छाप लगाउनुपर्नेछ,’ काफ्लेले भने, ‘मतपत्र एउटै र मतदान अधिकृतको हस्ताक्षर एउटै भएपनि यसमा भने एउटै मतपत्रमा २ वटा छाप लगाउन बिर्सनु हुँदैन।’

अहिले विभिन्न मतदानस्थलमा मतदाता शिक्षाका लागि नमुना मतदानसमेत भइरहेको छ । ‘एक मतदातालाई तीनैखाले मतपत्रमा मत हाल्न करिब डेढ मिनेट लाग्दोरहेछ,’ काफ्लेले सुनाए, ‘मतदाता शिक्षा प्रभावकारी हुने हो भने मतदानलाई धेरै समय लाग्नेरहेनछ।’ यही अनुभवले अहिले जिल्लाका सबै २ सय ६६ मतदान केन्द्रमा  मतदाता शिक्षाका लागि कर्मचारी खटाएको उनले बताए। ‘आउँदो निर्वाचनमा कुनै पनि मत बदर नहोस् भनेर यो पटक कर्मचारीलाई घर–घरमै पुगेर मतदाता शिक्षा दिन अनिवार्य गरिएको छ,’ उनले भने । दलहरूले चुनावमा गठबन्धन र तालमेल गरेकाले मतपत्रमा जो उम्मेदवार छ, उसको मात्रै चुनाव चिह्न मतपत्रमा राख्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०७४ ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App