coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जो भोट हाल्न पाउँदैनन्

सुष्मा बराली
देश चुनावी रौनकमा छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि विभिन्न दलका नेता, कार्यकर्ता प्रचार–प्रसारमा छन् ।
देशमा निर्वाचन सम्पन्न गर्न आमनागरिककै अन्तिम भूमिका हुन्छ, उनीहरूले भोट दिएर नै प्रतिनिधि चुनिने हुन् । तर बाहिरी जिल्लाबाट राजधानी आएर विभिन्न पेसा, व्यवसाय गरेर बसेका कतिपय विभिन्न कारण मतदान गर्न जाने छैनन् ।

‘म सामान्य विद्यार्थी हुँ, जान–आउन यसै पनि खर्च भइहाल्छ । घरबाट खर्च ल्याएर पढेको छु । अनि खर्च गरिगरी भोट हाल्नकै लागि जान त कहाँ सक्छु र ?’

मतदान गर्न नपाउनेमध्ये एक हुन्, सुशील पोखरेल । उनी राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पसमा बिए तेस्रो वर्षमा अध्ययनरत छन् । विराटनगर घर भई हाल पढ्नका लागि भक्तपुर जडिबुटी बस्दै आएका उनी यसपालि मतदान गर्न जाने छैनन् ।
‘म सामान्य विद्यार्थी हुँ, जान–आउन यसै पनि खर्च भइहाल्छ । घरबाट खर्च ल्याएर पढेको छु । अनि खर्च गरिगरी भोट हाल्नकै लागि जान त कहाँ सक्छु र ?’ उनले भने ।
भोट हाल्न मन भए पनि खर्चका कारण जान नपाएको उनले बताए । ‘भोट हाल्नु नागरिकको अधिकार हो, तर मैले आफ्नो अधिकार सदुपयोग भने गर्न पाइनँ,’ उनले भने ।
उनलाई आफ्नो क्षेत्रको समस्याबारे राम्रो जानकारी छ । आफ्नो क्षेत्र विराटनगरमा हरेक क्षेत्रमा समस्या भए पनि विशेषगरी ढल व्यवस्थापन गर्ने, सडक पिच गर्ने, विराटनगरका समस्याको समाधानका लागि काम गर्ने, भ्रष्टाचार उन्मूलन गर्ने प्रतिनिधि चाहिएको उनी बताउँछन् ।
सुमित्रा श्रेष्ठ व्यापारी हुन् । उनले विगत १० वर्षदेखि राजधानीका सडकपेटीमा मौसम अनुसारको फलफूल बेच्छिन् । उनी लमजुङ क्षेत्र– ३ की मतदाता हुन् । काठमाडौं क्षेत्रपाटी बस्ने उनले आफ्ना बालबच्चालाई पनि  यतै राखेर पढाएकी छन् ।
गाउँमा आफन्तसँग भेटघाट हुने भएकाले पनि उनलाई भोट हाल्न जाने मन छ । तर व्यापार, बालबच्चा हेर्नुपर्ने भएकाले जान नपाउने उनले बताइन् । ‘मैले छोराछोरी हेर्नुप¥यो, व्यापार पनि नगरी भएन, नत्र के खाने ? म नगए पनि श्रीमान् जानुहुन्छ कि !’ उनले भनिन्, ‘हाम्रो गाउँमा बाटोको समस्या छ । चुनाव जित्ने नेताले बाटो बनाइदिए हुन्थ्यो । सबै कुरा गाउँमै पाइने भए यति टाढा आएर किन दुःख गथ्र्यौं र ?’
नेपालगञ्जकी बिन्ती पुन तामाङ कीर्तिपुर बस्छिन् । प्राइभेट कम्पनीमा काम गर्दै आएकी उनी पनि यसपालि मतदान गर्न जाने छैनन् । अफिसको काम र केही व्यक्तिगत समस्याका कारण यसपालि भोट हाल्न जान नपाउने उनले बताइन् ।
विद्यालाल कुमार शाह बारा जिल्ला क्षेत्र– ४ का मतदाता हुन् । काठमाडौं बागबजार बस्ने उनी विद्यार्थी हुन् भने एक गैरसरकारी संस्थामा कार्यरत पनि छन् । सामाजिक कार्यमा संलग्न भए पनि यसपालिको चुनावमा भने भोट हाल्न जान नपाउने उनले बताए । ‘घरदेखि टाढा छु । आउन–जान खर्च लाग्छ । खर्च अभावकै कारण यसपालि मतदान गर्न जान पाइनँ,’ उनले भने ।
मतदान गर्न नपाए पनि उनी आफ्नो ठाउँका समस्याबारे जानकार छन् ।
‘म बस्ने गाउँमा सामान्य चर्पीको पनि अभाव  छ । कतिपयलाई दिशा–पिसाब चर्पीमा गर्नुपर्छ भन्ने समेत चेतना छैन,’ उनले भने, ‘चुनाव जितेर नेताले यस्तै स्वास्थ्य, शिक्षामा काम गरे हुन्थ्यो ।’

प्रकाशित: ४ मंसिर २०७४ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App