७ वैशाख २०८१ शुक्रबार
अर्थ

सिप्रदीलाई बिजनेस एक्सिलेन्स अवार्ड

काठमाडौं- मुलुकको प्रमुख व्यापारिक समूह सिप्रदी ट्रेडिङले ‘नेपाल बिजनेस एक्सिलेन्स अवार्ड’ पाएको छ । नेपाल उद्योग परिसंघ र अमेरिकी व्यावसायिक संस्था फ्रस्ट एन्ड सुलेभानले संयुक्त रुपमा मंगलबार आयोजना गरेको ‘नेपाल बिजनेस एक्सिलेन्स अवार्ड’ कार्यक्रममा सिप्रदीलाई सुपर प्लाटिनियम अवार्ड दिइएको हो ।
परिसंघले पहिलोपटक यस्तो अवार्ड दिने प्रचलन सुरु गरेको हो । परिसंघले ११ वटा व्यावसायिक संस्थालाई विभिन्न विधामा सम्मान गरेको हो । अवार्डलाई उदीयमान व्यवसाय, मध्यमस्तरको व्यवसाय, ठूला व्यवसाय र मेगा व्यवसाय गरी चार समूहमा विभाजन गरिएको थियो ।
यसै क्रममा नेपाल एसबिआई बैंकलाई फस्ट रनर अप सुपर प्लाटिनियम अवार्ड प्रदान गरिएको थियो । गोल्ड अवार्ड मध्येबाट विजय डिस्टिलरी र मेगा बैंकलाई सम्मान गरियो । यस्तै, सिल्भर अवार्ड सिजी ब्रुअरी र घोराही सिमेन्टलाई दिइएको थियो ।
परिसंघले पाँचवटा उदीयमान व्यावसायिक संस्थालाई पनि सम्मान गरेको थियो । अल्फाबिटा, चन्द्रागिरी हिल्स, एनआइबिएल क्यापिटल मार्केटस्, एनएमबी बैंक र टेलिटक प्रालिले यस्तो सम्मान पाएका थिए ।
परिसंघ र फ्रस्ट एन्ड सुलेभानको औद्योगिक विशेषज्ञले प्रतिस्पर्धी कम्पनीका विविध आयामबाट मूल्यांकन गरी अवार्ड प्रदान गरिएको हो । प्रतिस्पर्धी कम्पनीको व्यावसायिक योजना, कार्यान्वयन, सेवा प्रवाह, सेवाको गुणस्तर, उपभोक्ताको सन्तुष्टि, मुनाफाको स्तर, राजस्वमा पु¥याएको योगदान, संस्थागत सामाजिक उत्तरदायित्व, लागत न्यूनीकरण जस्ता विविध पक्षको विश्लेषण गरी अवार्ड दिने संस्था छनोट गरिएको हो ।
सो कार्यक्रममा बोल्दै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले इमान र धर्मसहितको व्यापारबाट उद्यमी व्यवसायी विमुख हुन नहुने बताए । रेग्मीले नेपालको संविधान, २०७२ को कार्यान्वयनसँगै मुलुक आर्थिक समृद्धिको मार्गमा लम्कने हुँदा यस प्रकारका सिर्जनशील कार्यक्रमले व्यावसायिक वातावरणमा सुधार हुने अपेक्षा व्यक्त गरे ।
रेग्मीले धेरै नाफा आर्जन गर्ने ध्येयले मात्र व्यापार गर्न नहुने बताए । रोजगारीका निम्ति विदेसिनुपर्ने बाध्यताबाट युवा वर्गलाई मुक्त गर्न स्वदेशमा उद्योग–धन्दा, कलकारखाना स्थापना अपरिहार्य भएको रेग्मीले बताए ।
परिसंघका अध्यक्ष हरिभक्त शर्माले व्यावसायिक संस्थाको आन्तरिक मूल्यांकन गरी अवार्ड वितरण गर्ने नयाँ अभ्यासले प्रतिस्पर्धी उद्योगको गुणस्तर सुधार र बजार विस्तारमा सहयोग पुग्ने बताए । फ्रस्ट एन्ड सुलेभानका ग्लोबल प्रेसिडेन्ट अरुप जुत्सीले नेपाल प्राकृतिक रुपले जति सुन्दर छ, त्यत्ति नै यहाँ लगानीको सम्भाव्यता रहेकाले उद्यमशीलता प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रसँग आफ्नो कम्पनी सहकार्य गर्न तत्पर रहेको बताए ।

प्रकाशित: ३० कार्तिक २०७४ ०४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App