६ वैशाख २०८१ बिहीबार
राजनीति

‘पार्टीलाई होइन, योग्य उम्मेदवारलाई मत’

खोटाङ- खोटाङको रूपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका वीरबहादुर राई खेतीकिसानी गर्छन् । दैनिकजसो घाँसदाउरा र मेलापातमा व्यस्त रहने राईलाई पनि अहिले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनले छोएको छ । निर्वाचन मिति नजिकिँदै गर्दा उनले ‘कसलाई भोट दिने र भोट दिनका लागि कुन उम्मेदवार योग्य छन्’ भनेर सोचविचार गरिरहेका छन् ।

कृषिको व्यावसायीकरण, पर्यटन विकास एवं व्यावसायिक शिक्षामा जोड दिने, उद्योग तथा कलकारखाना खोल्ने, विकास तथा परिवर्तनका पक्षमा काम गर्ने ‘भिजन’ भएका व्यक्ति जिते मात्र जिल्लाको विकासले गति लिने भएकाले निर्वाचनको अवसरलाई सदुपयोग गर्नुपर्छ ।

‘म त असल मान्छे छानेर भोट दिन्छु, पार्टी भनेको दोस्रो कुरा हो,’ दिक्तेलमा खसी बिक्री गर्न आइपुगेका उनले भने, ‘उम्मेदवार जनताको स्वयंसेवक बनेर काम गर्ने हुनुप¥यो, यो ठाउँको विकास र आवश्यकता पूर्ति गर्ने भलाद्मी हुनुप¥यो ।’ ढोका चहार्दै दर्जनौं उम्मेदवार आए पनि राष्ट्र र जनताको हित चिताउने, राजनीतिमा त्यागी र सादा जीवन उच्च विचार भएका उम्मेदवारलाई भोट दिने उनले बताए ।
दिक्तेलका स्थानीय दिलबहादुर बस्नेत पनि गाउँठाउँको विकास गर्न सक्ने सक्षम उम्मेदवार पहिचान गरेर उसैलाई भोट दिने तयारीमा छन् । भोट माग्दै आउनेमध्ये ‘कुन उम्मेदवार अब्बल छन्’ सुझबुझ गरेर मात्र एउटा योग्य उम्मेदवारलाई भोट दिने उनको भनाइ छ । ‘पार्टीभन्दा पनि जिल्लाको विकास गर्न सक्ने उम्मेदवार छान्नका लागि आपसमा छलफल पनि गरिरहेका छौं,’ बस्नेतले भने, ‘कसलाई भोट दिँदा ठीक हुन्छ, यस ठाउँको विकास हुन्छ, विचार गरेर उसैलाई भोट दिने हो ।’
वीरबहादुर र दिलबहादुर मात्र होइन । बुईपाकी चित्रकुमारी ढकाल पनि उम्मेदवारमध्ये सबैभन्दा योग्यलाई भोट दिने तरखरमा छिन् । निर्वाचनक्रममा आर्थिक चलखेल, भोजभतेर र झुटा आश्वासनले मतदाता प्रभावित हुने चर्चा चलिरहँदा चुनावका बेलामा जतिसुकै प्रलोभन दिए पनि योग्य उम्मेदवारलाई भोट दिनबाट चुक्न नहुने उनको भनाइ छ । उम्मेदवारको सूची हेरेर त्याग, क्षमता, इमान्दारी, योग्यता, चुनावी अजेन्डाका विषयमा सुझबुझ गरेर योग्य उम्मेदवार छान्ने मतदाताहरू बताउँछन् ।
पार्टीकै आधारमा भोट हाल्नेको संख्या पनि कम्ती छैन । तर, पार्टीलाई भन्दा क्षमता र योग्यतालाई प्राथमिकता दिने सचेत मतदाता बढ्दो छ । पार्टीभन्दा निर्वाचित हुने योग्य उम्मेदवारले विकास गर्ने बुझाइ भएका मतदाता ‘राम्रा मान्छे’ लाई भोट दिने मनस्थितिमा छन् । कतिपयले त ‘सोचेको, रोजेको र चाहेको’ उम्मेदवारलाई छानेर भोट दिनका लागि अरूलाई सरसल्लाह पनि दिने गरेका छन् । ‘खोटाङ भौतिक रूपमा पूर्वी पहाडी जिल्लामै सबैभन्दा पछि परेको छ । अहिलेसम्म खोटाङलाई जोड्ने पुल बनेको छैन, बनेका सडक पिच हुन सकेका छैनन्,’ वीरबहादुरले भने, ‘त्यही भएर होस पु¥याएर सचेततापूर्वक सक्षम व्यक्तिलाई भोट दिनुपर्छ ।’ निर्वाचनमा गलत व्यक्तिले चुनिने मौका पाए जिल्ला र जनताको भविष्य झनै बर्बाद हुने भएकाले संवेदनशील बन्नुपर्ने सचेत मतदाताको भनाइ छ ।
निर्माण सुरु गरिएको ८ वर्षसम्म पनि खोटाङ र ओखलढुंगा जोड्ने दुधकोसीको पुल सञ्चालनमा आउन सकेको छैन । खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित पुल निर्माणको गति उस्तै सुस्त छ । अस्पताल पुग्नका लागि अढाई लाख रुपैयाँसम्म खर्च गरेर हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । बेरोजगारीको समस्या जटिल बन्दैछ । त्यही भएर जिल्लाका सर्वसाधारण सदियौंदेखि भोग्दै आएका समस्याबाट मुक्तिका लागि समर्पित प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको प्रतीक्षामा छन् । कृषिको व्यावसायीकरण, पर्यटन विकास एवं व्यावसायिक शिक्षामा जोड दिने, उद्योग तथा कलकारखाना खोल्ने, विकास तथा परिवर्तनका पक्षमा काम गर्ने ‘भिजन’ भएका व्यक्ति जिते मात्र जिल्लाको विकासले गति लिने भएकाले निर्वाचनको अवसरलाई सदुपयोग गर्नुपर्ने सामाजिक कार्यकर्ता सन्तोषकुमार राईले बताए ।
पञ्चायतकालमा खोटाङमा २०४६ अघि डिल्लीसेर राई, पर्शुराम राईदेखि वीरेन्द्रकेशरी पोखरेलसम्म राष्ट्रिय पञ्चायत सदस्य भए । २०४८ पछि टंक राई, कुलप्रसाद फुयाँल, अशोक राई, सर्वधन राई, शिवकुमार बस्नेतलगायत धेरैजना सांसद बने । कुनै बेला खोटाङका ७÷८ जना सचिवले एकैसाथ विभिन्न मन्त्रालय सम्हाले पनि जिल्लाका लागि केही नगरेको जिल्लावासीको गुनासो छ ।

प्रकाशित: ३० कार्तिक २०७४ ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App