८ वैशाख २०८१ शनिबार
राजनीति

शीर्ष नेता देश दौडाहामा व्यस्त

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन आउन १० दिन बाँकी रहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेता एकैपटक काठमाडौं छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका छन् । शीर्ष नेता मंसिर १० गते हिमाली र पहाडीसहित ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा हुने निर्वाचनलाई लक्षित गरी काठमाडौं छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका हुन् । कम्तीमा ७ दिनको कार्यक्रम बनाएर शीर्ष नेता काठमाडौंबाहिर पुगेका छन् ।   

नबशीर्ष नेता मंसिर १० गते हिमाली र पहाडीसहित ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा हुने निर्वाचनलाई लक्षित गरी काठमाडौं छाडेर चुनावी सभामा केन्द्रित हुन पुगेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा महेन्द्रनगर पुगेका छन् भने वाम गठबन्धनमा आबद्ध नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल गोरखा र लम्जुङ पुगेका छन् । उनीहरु बुधवार विशेष पत्रकार सम्मेलनको लागि काठमाडौं आएका हुन् । प्रमुख दलका शीर्ष नेतासहित अन्य दलका नेता पनि चुनावी अभियानका लागि काठमाडौं छाडेर आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन पुगेका छन् ।
कांग्रेस सभापति देउवाले कात्तिक २८ मा औपचारिक रुपमा चुनावी अभियान सुरु गरेका छन् । यसअघि देउवा जनकपुर, ताप्लेजुङ र सोलुखुम्बु पुगेर चुनावी सभालाई सम्बोधन गरिसकेका छन् । मंगलबार औपचारिक रुपमा सुरु भएको देउवाको चुनावी अभियान नेपालगन्ज, लम्की हुँदै बुधबार धनगढी पुगेको छ । प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणका अनुसार सुदूरपश्चिम र मध्यपश्चिमलाई केन्द्र बनाएर देउवा चुनावी अभियानमा सहभागी हुनेछन् । उनका अनुसार कात्तिक २९ गते धनगढी, ३० गते डडेल्धुरा, मंसिर १ गते दार्चुला र बैतडी, मंसिर २ मा बझाङ र बाजुराको कार्यक्रम तय भइसकेको छ । ‘अन्य कार्यक्रमको मिति तय हुन बाँकी छ’, खाँणले भने ।
उनका अनुसार सभापति देउवाले रुकुम, रोल्पा, जाजरकोट, हुम्ला र मुगुका चुनावी कार्यक्रमलाई सम्बोधन गर्नेछन् । यस क्रममा सभापति देउवा सुरक्षासम्बन्धी गोष्ठी र छलफलमा पनि सहभागी हुनेछन् । आफ्नो उम्मेदवारीसमेत वारेसमार्फत दर्ता गराएका देउवा चुनावी सभाको क्रममा एक साता सुदूरपश्चिम र मध्यपश्चिममा रहनेछन् । कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ को घरदैलोमा व्यस्त छन् भने महामन्त्री शशांक कोइराला नवलपुरमा घरदैलो र कोणसभामा व्यस्त छन् ।
त्यसैगरी वाम गठबन्धनअन्तर्गतका एमाले र माओवादीले १४ सहरमा संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम बुधबार सुरु भएको छ । अध्यक्षद्वय ओली र दाहालले गोरखा र लम्जुङ पुगेर संयुक्त सभालाई सम्बोधन गरी चुनावी सभा सुरु गरेका हुन् । ओली र दाहालको कात्तिक २९ मा सुरु चुनावी अभियान मंसिर ९ गतेसम्म जारी रहने गठबन्धनका केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले वताए । ‘प्राविधिक समस्या परेन भने घोषणा गरिएका सबैजसो चुनावी सभामा दुवै अध्यक्षले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम छ’, रिमालले नागरिकसँग भने ।
उनका अनुसार कात्तिक ३० गते बागलुङ र स्याङ्जा, मंसिर २ गते दमक, ३ गते काँकडभिट्टा र विराटनगर, मंसिर ५ गते चितवन, मंसिर ६ गते बुटवल र दाङ, मंसिर ७ गते सुर्खेत र दैलेख, मंसिर ८ गते कैलाली र कञ्चनपुर तथा मंसिर ९ गते पोखरामा संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । एमाले नेता माधवकुमार नेपाल गृहजिल्ला रौतहट र निर्वाचन क्षेत्र काठमाडौं–२ मा व्यस्त छन् भने झलनाथ खनाल इलाममा केन्द्रित भइरहेका छन् । माओवादी नेता नारायणकाजी श्रेष्ठले गोरखा–२ को आफ्नो निर्वाचन क्षेत्र छाडेका छैनन् ।
यता, राप्रपा अध्यक्ष कमल थापा पनि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन पुगेका छन् । मंगलबार आफ्नो निर्वाचन क्षेत्र मकवानपुर–१ पुगेका अध्यक्ष थापा केही दिन त्यतै क्रियाशील रहने राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले बताए । ‘त्यसपछि बैतडी र जाजरकोटका चुनावी सभालाई सम्बोधन गर्न जानुहुनेछ’, श्रेष्ठले नागरिकसँग भने । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा आफ्नो चुनावी क्षेत्र सिन्धुपाल्चोक–१ मा व्यस्त छन् ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आफ्नो चुनावी क्षेत्र सप्तरी–२ मा प्रचारप्रसार र घरदैलो अभियानमा संलग्न छन् । ‘सप्तरीमा नै घरदैलो र चुनावी सभामा व्यस्त हुनुभएको छ, केही दिन त्यतैका कार्यक्रममा रहनुहुनेछ’ यादवका प्रेस संयोजक महेश चौरासियाले भने ।
राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर महोत्तरी–३ मा चुनावी सभा र पार्टी कार्यकर्ता भेटघाटमा व्यस्त छन् । ‘उहाँले कम्तीमा ४ दिन महोत्तरीमा बिताउनुहुनेछ, त्यसपछि अन्यत्रको कार्यक्रममा सहभागिता जनाउनुहुनेछ’, राजपाका सहमहामन्त्री डा. सुरेन्द्र झाले नागरिकसँग भने । पार्टी घोषणापत्र फाइनल गर्न मंगलबार काठमाडौं आएका संयोजक ठाकुर बुधबारै नै निर्वाचन क्षेत्रमा सक्रिय हुन जलेश्वर पुगेका छन् ।
महोत्तरी–२ बाट चुनावी मैदानमा उत्रेका अर्का नेता शरद्सिंह भण्डारी पनि घरदैलो र चुनावी सभामा व्यस्त छन् भने राजेन्द्र महतोले धनुषा–३ मा केन्द्रित छन् । धनुषाका अन्य क्षेत्रमा पनि चुनावी सभामा महतो व्यस्त देखिएका छन् । त्यसैगरी अनिलकुमार झा रौतहट–१, राजकिशोर यादव सिरहा–४ र महेन्द्रराय यादव सर्लाही–१ मा व्यस्त छन् । उनीहरु आफ्नो निर्वाचन क्षेत्रवाट बाहिर जान सकिरहेका छैनन् ।
तत्कालीन व्यवस्थापिका संसद्मा रहेका साना दलमध्ये नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे भक्तपुरमा व्यस्त छन् भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ हुँदै प्युठान पुग्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित: ३० कार्तिक २०७४ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App