coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पिता अर्धभूमिगत, पुत्र चुनावी मैदानमा

काठमाडौं- आइतबार विहान गोंगवुमा एक युवा चुनावी प्रचारको क्रममा भेटिए। न ठूलो समूह न हल्ला खल्ला न त कुनै ठूलो योजना नै थियो। अग्लो कद र खिरिलो ज्यान भएका ति युवा थिए समिर सिंह अर्थात अशोक विक्रम जिसी। राजनीतिमा समिर सिंह चलेको नाम होइन तर उनका पिताको नाम भनेपछि 'ए…' नभन्ने सायदै कम होलान्। उनका पिताको नाम हो मोहन विक्रम सिंह। मोहन विक्रम सिंह नेकपा मसालका महामन्त्री हुन्। उनी अर्धभूमिगत रहँदै आएका छन्। नेपालको कम्यूनिष्ट आन्दोलनमा उनको उच्च स्थान छ। उनै मोहन विक्रमका छोरा यतिवेला राष्ट्रिय जनमोर्चाबाट काठमाडौं क्षेत्र नम्बर ६ को चुनावी मैदानमा उत्रिएका छन्। समिरको चुनाव चिन्ह गिलास छ।

मोहन विक्रमका छोरा यतिवेला राष्ट्रिय जनमोर्चाबाट काठमाडौं क्षेत्र नम्बर ६ को चुनावी मैदानमा उत्रिएका छन्।

'नेताका सन्तान त अली ढुक्क जितिने ठाउँमा उठ्ने गर्छन् वा समानुपातिकमा जोड गर्छन् तपाई किन अनिश्चित ठाउँमा उम्मेदवार ?' उनलाई सोधियो । समिरको सरल जवाफ छ, 'निर्वाचनमा उम्मेदवार भएपछि जितको अभिलासा त स्वभाविकरुपमा हुन्छ तर त्यो मात्र ठूलो कुरा होइन। मेरो उम्मेदवारीले पार्टीको संगठन विस्तारलाई मद्दत गर्छ। अर्को पार्टीको निर्णय मान्दै यो क्षेत्रमा उम्मेदवार बनेको हुँ। म नेताको छोरा भए पनि राजमोको कार्यकर्ता हुँ।' समिरले क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका उम्मेदवार भिमसेनदास प्रधान र वाम गठवन्धनका झक्कु सुवेदीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ।

उनी मोहन विक्रम सिंहकी जेठी श्रीमति शान्ता देवी घर्ती तर्फका जेठा छोरा हुन्। गणित र दर्शनशास्त्रमा स्नातकोत्तर उनी प्राध्यापन पेशामा पनि संलग्न छन्। समिरले भारतको दिल्ली विश्व विद्यालयमा अध्ययन गरेका हुन्।

अरु उम्मेदवारका जस्ता उनका खास ठूला योजना पनि छैनन्। तर उनको विचारमा विकृत राजनीतिलाई सकारात्मक राजनीतिका माध्यमबाट सफा गर्नु पर्छ भन्ने प्रमुख उदेश्य भने छ। पार्टीको अखिल नेपाल वुद्धिजिवी संघको केन्द्रीय सचिवको भूमिकामा रहेका उनले चुनावको लागि प्रचार प्रसार विभाग र आर्थिक समितिको गठन गरेका छन्। निर्वाचनको लागि सभाहरु र घरदैलो अभियानमा जाने उनको योजना छ।

भारतमा अध्ययन गर्दा अखिल भारत नेपाली विद्यार्थी संघको अध्यक्ष समेत बनेका उनले पत्रकारिता समेत गरे। भारतै रहेर समिरले विश्व नेपाली साप्ताहिकको सह-सम्पादक भएर काम गरे। त्यसपछि नेपाल फर्केका उनले प्राध्यापन र राजनीतिलाई संगै अगाडी बढाए।

कुराकानीकै क्रममा उनलाई अर्को प्रश्न सोधियो, 'कान्छि आमा दुर्गा पौडेललाई जनमोर्चा प्रभावित क्षेत्र प्युठानमा, तपाईलाई प्रभाव नभएको स्थानमा उम्मेदवार बनाएर भेदभाव भएन ?' तर उनलाई भेदभाव भएको लाग्दैन। 'मलाई त्यस्तो लाग्दैन', उनले भने, 'दुर्गा पौडेल मोहन विक्रम कमरेडको श्रीमति नहुँदा देखिनै राजनीतिमा हुनुहुन्थ्यो। राजनीतिमा उहाँको ठूलो त्याग र लगानी छ। यसमा पारिवारिक सिफारिसले काम गरेको छैन। पार्टीको बफादार कार्यकर्ता भएकोले पार्टीले उहाँलाई उम्मेदवार सिफारिस गरेको हो।'

प्रकाशित: १९ कार्तिक २०७४ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App