६ वैशाख २०८१ बिहीबार
समाज

उपभोक्ताले भत्काए सडकको सोलिङ

इलाम- सदरमुकामको मालापथबाट कुलधारास्थित मेची राजमार्ग जोड्ने कच्ची सडकमा गुणस्तरहीन सोलिङ गरेर चरम लापरबाही गरिएको भन्दै स्थानीयले सोलिङ नै भत्काइदिएका छन् । सोलिङ गर्ने नाममा लाखौं खर्च गरी रकम दुरुपयोग गरिएको भन्दै आक्रोशित स्थानीयले सडकको सोलिङ उखेलेर फ्याँकेका हुन् ।

गत असारमा डिभिजन सडक कार्यालयले करिब १ किलोमिटरको यो सडकमा सोलिङ गराएको थियो । कार्यालयको ‘बजेट सक्न’ ज्यादै हतारमा काम गरेर आफूहरूलाई झुक्याएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । कार्यालयले गुणस्तरहीन सोलिङ गरेको सहजै देखिएपनि बिल–भरपाई भने पास गरिसकेको छ । तर, सोलिङपछि यो सडकमा कुनै पनि सवारी साधन चल्न सकेका छैैनन् । सोलिङको उबडखाबडमा अल्झिएर कतिपय बालबालिका स्कुल जाँदा–आउँदा घाइते भइ अस्पतालसमेत पु¥याउनुपरेपछि स्थानीय आक्रोशित भएका हुन् । पटक–पटक सडक कार्यालयको ध्यानाकर्षण गर्दा पनि बेवास्ता गरिएपछि ठूलो संख्यामा भेला भएका स्थानीयले सडकमा बिछ्याइएका ढुंगा उक्काइदिएका छन् ।

स्थानीय बालागुरु टोल विकास संस्थाको अगुवाईमा भेला भएका स्थानीयले दर्जनौं पटक डिभिजन सडक कार्यालयमा ध्यानाकर्षण गराएपनि कार्यालयले आफूहरूको कुरै सुन्न नचाहेको गुनासो गरे । उनीहरूले केही हिलो नै भएपनि चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन चलिरहेको सडकमा सोलिङ गरिएपछि चाहिँ बालबालिका, अपांग र वृद्धवृद्धा पैदल हिँड्नसमेत नसकेको गुनासो गरे । ‘सोलिङ गर्नुअघि बरु यो सडकमा स्कुटीसमेत सरर्र गुड्थ्यो,’ अनेरास्ववियू इलामका अध्यक्षसमेत रहेका स्थानीय युवक ईश्वरी तामाङले भने, ‘जब सोलिङका नाममा झन् बाटो बिगारियो, त्यसयता सवारी चल्न सक्ने त कुरै भएन, मान्छे हिँड्नै निकै मुस्किल भएको छ ।’

सडक अप्ठ्यारो भएर हिँड्नै नसक्दा नजिकैका उपभोक्तासमेत वैकल्पिक र लामो बाटो प्रयोग गर्न बाध्य हुनुपरेको छ । ‘सडकमा ढुंगा त छापियो तर यति उबडखाबड छ कि मान्छे पैदलै हिँड्दासमेत दर्जनौं ठाउँमा खुट्टा अल्झेर लडिन्छ,’ स्थानीय भीमा खतिवडाले भनिन्, ‘बालबालिकालाई स्कुल लैजाँदा यही सोलिङमा लडेर अस्पतालसमेत लैजानुपर्यो अस्ति ।’ उनले सडकका ढुंगाका कारण बालबालिकालाई स्कुल लैजान–ल्याउन अभिभावकले ज्यादै कष्ट बेहोर्नुपरिरहेको बताइन् ।

सदरमुकामको मुख्य चोकबाट मालापथ हुँदै मेची राजमार्ग जोड्ने सबैभन्दा छोटो सडक हो यो । सदरमुकाम मात्र नभई नजिकैको महभीर गाउँ, सोयाङ र नयाँबजारसम्मका दर्जनौ सवारी साधन तथा हजारौं पैदलयात्रीले यही प्रयोग गरिरहेका थिए । तर, गुणस्तरहीन सोलिङ गरिएकै कारण अहिले यो सडक प्रयोगविहीनजस्तै छ । इलाम बजारको ट्राफिक व्यवस्थापनमा पनि वैकल्पिक मार्गका रूपमा रहेको यो सडकको काम ‘आँखामा छारो होल्ने’ हिसाबले मात्रै गरिएको भन्दै पटक–पटक विरोध जनाइहेपनि सडक कार्यालयले कुनै वास्ता नगरेको उपभोक्ताको गुनासो छ । ‘यही सडकको विषयलाई लिएर दर्जनौंपटक सडक कार्यालय पुग्यौं,’ स्थानीय मनमोहन पोख्रेलले भने, ‘हाम्रो अनुरोधमा कार्यालयले कहिल्यै वास्ता गरिदिएन ।’

मोटो रकम खर्च भएको हल्ला सुनिएपनि काम ज्यादै गुणस्तरहीन हुँदा यहाँ आएको रकम अनियमितता भएको आशंकासमेत स्थानीयले गरेका छन् । स्थानीय युवक प्रकाश घिमिरेले भने, ‘गत असारमा सडकमा जमेको हिलो र भर्खर खनेको माटोमाथि ढुंगा राखेर सोलिङ गरिएको थियो, सोलिङका लागि कति रकम आयो, केमा कति खर्च भयो भन्नेबारे अहिलेसम्म कोही उपभोक्तालाई जानकारी छैन ।’ उनले सडकमा सोलिङ गरिरहेका बेला अनुगमनकारी निकायसमेतले नहेरेको बताए । ‘छँदाखाँदाको सडक बिगारेर बजेट पचाउने काम भएको छ,’ उनले भने, ‘यो सडकको खर्च पारदर्शी बनाउनुपर्यो र तुरुन्त मान्छे हिँड्ने सकिने अवस्थामा ल्याउनुपर्यो ।’

गत असारमा यहाँ सोलिङ गर्दागर्दै तल्लो भागबाट भत्केर जान थालिसकेको थियो । सडकभन्दा नालीको भाग अग्लो भएपछि वर्षामा बग्ने भल पनि सडकभित्रैबाट बगेको थियो । मेची राजमार्गसँग जोडिएको भागमा सडककै भलले सोलिङ भत्किएको छ । सडकका लागि उठाइएको पर्खाल र ‘प्याराफिट’भन्दा करिब २ मिटर परबाट मात्रै सडकको सोलिङ गरिएको छ । त्यो पनि खनेर पुरिएको कच्चा माटोमाथि ।

बालागुरु टोल विकास संस्थाका अध्यक्ष तिलचन नेपालले स्थानीयलाई कुनै जानकारी नदिई यहाँ लाखौं रुपैयाँ ‘बगाइएको’ बताए । ‘यो सोलिङ गर्न कति रकम खर्च भयो भनेर सोध्दा कसैले १४ लाख, कसैले ४० लाख र कसैले ४३ लाख रुपैयाँ भन्छन्,’ उनले भने, ‘आयोजना कस्तो हो, कति रकम खर्च हुँदैछजस्ता जानकारी त आयोजनास्थलमा बोर्ड नै राखेर जानकारी दिनुपर्ने होइन र ? त्यस्तो त यहाँ कतै देखिएन ।’

सोलिङमा चरम लापबाही भएपछि आक्रोशित स्थानीयलाई कार्यालयले दसैंअघि नै ग्राभेल गरिदिने आश्वासनसमेत दिएको थियो । तर, तिहार बितेको २ साता भइसक्दा पनि कुनै चासो नदेखाएपछि उपभोक्ता पुनः आक्रोशित भएका हुन् । स्थानीय विद्यार्थी नेता तामाङले भने, ‘यो सडकमा भएको खर्च विवरण र अब गरिने कामको स्पष्ट जानकारी नदिइए स्थानीय उपभोक्ता आन्दोलनमा उत्रिने छन् ।’

सोलिङ गर्दाताका यहाँ काम लगाइएका कामदार पनि बालबालिका उमेरका थिए । फोस्के (कमजोर) ढुंगा सोलिङमा प्रयोग गरिएकाले पुनः त्यसमाथि रोलर लगाउन वा ग्राभेल गर्न सकिने अवस्था पनि नदेखिएको अर्का स्थानीय पोसक बानियाँले बताए । ‘यो सडकको काम ज्यादै लाजमर्दाे गरी गरिएको थियो,’ उनले भने, ‘गुणस्तरीय सामग्री तपाइँहरूले पाउनुभएन भएन भने हामी खोजिदिन्छौं भन्दासम्म इन्जिनियरहरूले हाम्रो कुरै नसुनी फोस्के ढुंगा लगाउन दिए ।’

सूर्याेदय र बालागुरु टोल विकास संस्थाका पदाधिकारीसहित स्थानीय उपभोक्ताले पुनः डिभिजन कार्यालयको ध्यानाकर्षण गर्ने बताएका छन् । सडक रहेको इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले सर्वसाधारणको नाङ्गो आँखाले हेर्दा पनि यो सडकमा अत्यन्त गुणस्तरहीन सोलिङ गरिएको बताए । ‘यो सोलिङको काम कुनैपनि हालतमा चित्तबुझ्दो देखिएन,’ उनले भने, ‘सडक पुनः सहज बनाउन डिभिजन कार्यालयमा खबरदारी गर्नेछौं ।’

स्थानीय अगुवा तथा नेकपा एमाले इलामका उपाध्यक्ष भक्त केसीले स्थानीयकै पहलमा डिभिजन कार्यालयमार्फत आएको बजेटको काम गुणस्तरहीन हुँदा स्थानीयले सास्ती खेप्नुपरिरहेको बताए । ‘यो सडक सदरमुकामको अत्यन्त महŒवपूर्ण र आवश्यक भएकाले गुणस्तर सुधार्न हामी टोलबासीले नै माग गरेपछि सडकले बजेट दिएर सोलिङ गरिएको थियो,’ उनले भने, ‘तर, भइरहेको सडक सोलिङपछि झनै कष्टकर हुनु जायज होइन ।’ उनले डिभिजन सडकले थालेको काम उसैले पार लगाउनुपर्ने बताए ।  

सोलिङ गर्ने ठेक्का लिएका नवीन तामाङले सडकको सोलिङ डिभिजनका इन्जिनियरले लगाएअनुसारकै गरेको दाबी त्यतिबेलै गरेका थिए । तर, उनले बजेट र स्टिमेटअनुसार आफूले काम गरेपनि त्यसमा आफ्नै चित्त नबुझेको चाहिँ स्वीकारेका थिए । जेठ २० टेन्डर भएको काम असारमै सक्नुपर्ने बाध्यतासमेत आफूहरूलाई भएको उनले बताएका थिए ।

डिभिजन सडक कार्यालयले यो सडकको सोलिङ, मेची राजमार्गसँग जोडिएको स्थानको पर्खाल र कोष तथा लेखा नियन्त्रणकको कार्यालयछेउको सडकका लागि १४ लाख रुपैयाँ खर्च भएको जनाएको छ । ‘हाम्रो योजनामा त्यो (मालापथ–कुलधारा) सडकको सोलिङ थिएन, मेची राजमार्गसँग जोडिएको वाल मात्रै थियो । सहरी सडकको केही रकम उब्रिएकाले त्यहाँ सदुपयोग गरेका थियौं,’ डिभिजन कार्यालयका इन्जिनियर ध्रुवकुमार झाले भने, ‘अहिले हामीले १ करोडभन्दा तलको लगानीको सहरी सडकको काम गर्न पाउँदैनौं । सम्बन्धित स्थानीय तहले नै हेर्छ । तर, मेची राजमार्गको लिंक रोडका रूपमा आफूले पहिला पनि गरेको काममा सुधार गर्न सकिन्छ ।’ उनले यो सडकमा प्राविधिक हिसाबले अब ग्राभेल हाल्न र मेची राजमार्गको पर्खाल थप्न नमिल्ने भएपनि सडक सजिलो बनाउन केही गाडी ग्राभेल ल्याएर तत्काललाई सडक सहज बनाइदिने प्रतिबद्धता जनाए ।

उनका अनुसार यहाँको पर्खालको फाउन्डेसन बढीमा १ दशमलव ९ मिटरको मात्रै छ । त्यो फाउन्डेसनमा ४ मिटरको पर्खाल लगाउनु पनि सुरक्षित मानिँदैन । तर, सडकमा अहिलेको पर्खाल नै ६ मिटरजतिको भइसकेको भन्दै उनले मेची राजमार्गसँग जोडिएको भागबाट करिब १० मिटरसम्मको सडकमा ढलान गर्न सकिने बताए ।

प्रकाशित: १३ कार्तिक २०७४ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App