८ वैशाख २०८१ शनिबार
कला

‘साथीभाइका फिल्मले बिगारे’

काठमाडौं- अभिनेत्री रेखा थापाको ब्यानरमा बनेको फिल्म ‘हिम्मत’ खेलेर चर्चामा आएका आर्यन सिग्देल ८ वर्षपछि सोही ब्यानरको फिल्म ‘रुद्रप्रिया’मार्फत् पुनरागमन गर्दैछन् । फरक यत्ति छ, रेखाले निर्माण गरेका फिल्ममा कलाकारको रूपमा अभिनय गरिरहेका आर्यन यो फिल्ममा २५ प्रतिशतका साझेदार पनि छन् । आफ्नो ब्यानर बाहिरका फिल्म नखेल्ने र कम्तीमा वर्षमा एउटा मात्र फिल्म खेल्ने घोषणा गरेका आर्यन लगभग दुई वर्षपछि पर्दामा फर्कन लागेका छन् । अझ रोचक त के छ भने यो फिल्मअघि आर्यन र रेखा एकअर्कासँग बोल्दैनथे । कात्तिक २ गते रिलिज हुने फिल्म ‘रुद्रप्रिया’ र करियरको सेरोफेरोमा केन्द्रित रहेर नागरिकका सामीप्यराज तिमल्सेनाले आर्यनसँग गरेको कुराकानी ।
तपाईं र रेखा थापा एक वर्षअघिसम्म एक अर्काको नाम पनि सुन्न चाहानुहुन्नथ्यो ? अहिलेसँगै फिल्म गर्नु भयो । के झगडा परेको थियो र कसरी मिल्यो ?
झगडा परेको भनेर हामीबीच त्यस्तो भयंकर झगडा परेको पनि होइन । धेरै पुरानो कुरामा नजाउँ । त्यतिबेलाको हावा नै त्यस्तै  थियो । मलाई एउटा हावा लाग्यो । उसलाई अर्कै हावा लाग्यो । बिस्तारै आ–आफ्नो बाटो लाग्यौं ।
तर, तपाईंले त यही फिल्म गर्ने सिलसिलामा पनि रेखाले फोन गर्दा आवाज सुन्ने बित्तिकै फोन काटिदिएको चर्चा थियो ?
म कतारमा थिएँ । बबी (निर्देशक सुदीपभूपाल सिंह)ले पहिलादेखि नै सँगै काम गरौं भनेर भनिरहेको थियो । तर, म फिल्म नै कुन गर्ने दोधारमा थिएँ । गर्ने भनेको ‘टकिला सनराइज’ फिल्मको पटकथा ५ जनाले लेख्दासमेत चित्त बुझिरहेको थिएन । यस्तोमा रेखाको फिल्म गर्ने मुडमा थिइँन । कुरा भएर पनि फाइदा नहुने देखेपछि फोन काटेको थिएँ ।
तर, राम्रो पैसाको अफर आएपछि गर्नुभयो ?
पैसाको कुरै हैन । मैले पैसाका लागि अहिले मात्र होइन कहिल्यै पनि फिल्म गरिन । गरेको भए मेरो फिल्म संख्या ३०–३५ हैन डेढसय पुग्थ्यो । ‘माला’ गर्दा नै बबीको काम गर्ने तरिका मलाई राम्रो लागेको हो । उसले कथा न्यारेट गर्दा कथा पनि रोचक लाग्यो । त्यही भएर फिल्म गरेको हुँ । अनि फिल्मका निर्माता रमेश एमके पौडेलसँगको विशेष सम्बन्धका कारण पनि फिल्म गर्न राजी भएको हुँ ।
तर, एकातिर सम्बन्ध सुध्रँदा अर्कोतिर बिग्रियो । रेखासँग फिल्म गर्ने खबर पछि तपाइँका अभिन्न निर्देशक रिसाएको चर्चा थियो नि ?
को रिसायो भन्ने मलाई थाहा भएन । रिसाएको नै हो भने पनि मलाई केही भन्नु छैन ।
अचेल नम्रता श्रेष्ठसँग पनि तपाईँको सम्बन्ध सुमधुर छैन भन्ने हल्ला सुनिन्छ नि ?
वाहियातको हल्ला हो यो । नमीसँग सधैं मेरो व्यवसायिक सम्बन्ध हो । त्यो अहिले पनि कायम छ । बिग्रने सप्रने केही छैन ।
‘रुद्रप्रिया’मा फर्कौं, फिल्ममा कस्तो चरित्रमा हुनुहुन्छ ?
म कृषकको भूमिकामा छु । यो शहरउन्मुख गाउँको कथा हो । चरित्रको क्यानभास ठूलो छैन तर चरित्रमा ‘इन्टेन्सिटी’ छ ।
रोमान्टिक हिरोको इमेज बदल्न लाग्नु भएको हो ?
त्यस्तो पनि हैन । खाली यो फिल्म ‘सोसल ड्रामा’ हो । रोमान्स नभएको हैन छ तर फरक तरिकाले प्रस्तुत भएको छ ।
रेखा थापा भएको फिल्ममा हिरोको कामै हुन्न । रेखाले डोमिनेट गर्छ भनिन्छ । अझ यसको त कथा नै महिलाप्रधान रहेको चर्चा छ । फाइदा होला त तपाईंलाई ?
मैंले कहिलै पनि फिल्म गर्दा आफ्नो भूमिका मात्र हेरिन । जहिले पनि फिल्मको समग्रतामा सोच्छु । यो फिल्मको सवालमा पनि त्यही हो । महिला त्यतिबेला सशक्त बन्छे जब उसको पछाडि कुनै पुरुष हुन्छ । निश्चय नै यो रेखाको सिनेमा हो तर फिल्म हेरिसकेपछि दर्शकले मेरो चरित्रलाई पनि ‘इग्नोर’ गर्न सक्दैनन् ।
अभिनेताको रूपमा सक्षम हुँदाहुँदै पनि तपाईँका पछिल्ला फिल्मले राम्रा व्यापार गरेनन् । तपाईँको स्टारडम गुमेको टिप्पणी हुन थालेको छ । कहाँनेर गल्ती भयो भनेर कहिलै समीक्षा गर्नुभएको छ ?
पहिलो कुरा त मैले कहिलै आफूलाई स्टार मानेको छैन । मैले पहिला पनि यसरी नै काम गर्ने गरेको थिएँ । अहिले पनि गरिरहेको छु । मैले जति पनि फिल्म गरेको छु नराम्रामध्येका राम्रा गरेको हुँ । अनि केही फरक सिनेमा गर्नुपर्छ भनेर पनि गरे । दुर्भाग्य, ती कुनै फिल्म सफल भएनन् । धेरै बिग्रेको चाहीँ साथीभाइका फिल्म गरेर हो । साथीभाइलाई नाइँ भन्न सकिनँ । तिनै फिल्मले बिगारे ।
भर्खर आएका कलाकारले २० लाख ३० लाख पारिश्रमिक लिन थालेका छन् ? दौडमा चाँडै छुटे जस्तो लाग्दैन ?
बिल्कुलै लाग्दैन । मैले ठूलो कुरा गरेका हैन, यो प्रचलनको सुरुवात नै मैले गरेको हुँ । देखाउनलाई मात्र होइन, कलाकारलाई साँच्चिकै मेन्टन गर्न गाह्रो छ । त्यही भएर म कलाकारलाई पुग्दो पारिश्रमिकको पक्षमा छु ।
तर, कलाकारले बजार पनि त बढाउनु प¥यो नि हैन र ?
बजार बढाएका छन् र त निर्माताहरू उनीहरूलाई पैसा दिन तयार छन् नि । हिजोको तुलनामा बजार पनि त बढेको छ । हिजो फिल्मले एक करोड कमाउँदा दंग पर्ने अवस्था थियो भने अहिले दिनमै करोड ग्रस भइरहेको छ । यसमा कलाकारको पनि योगदान छ ।
अब ‘रुद्रप्रिया’पछि दर्शकले तपाईँलाई कुन फिल्ममा हेर्न पाउँछन् ?
लेखनको काम भइरहेको छ । सबै कुरा तयार नभएसम्म के भनुँ । जुन दिन सबै कुरा परिपक्व हुन्छ त्यही दिन बोल्नेछु ।

प्रकाशित: २४ आश्विन २०७४ ०६:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App