७ वैशाख २०८१ शुक्रबार
कला

‘डण्डिबियो’ खेल्दै खगेन्द्र र मेनुका

काठमाडौं- हालसालै राष्ट्रिय खेलबाट बर्खास्तगीमा परेको डण्डीबियोलाई केन्द्रमा राख्दै फिल्म बन्ने भएको छ । ‘डमरुको डण्डिबियो’ शीर्षकमा बन्न लागेको फिल्मको शुक्रबार घोषणा गरिएको छ । फिल्मलाई छेतन गुरुङले निर्देशन गर्न लागेका हुन् । तीन फिल्ममा पटकथा लेखनको जिम्मेवारी सम्हालेका छेतनले चौथो फिल्ममा निर्देशनको अभिभारा लिएका हुन् । उनले लेखनको अनुभवलाई निर्देशनमा खन्याउने बताए ।
‘पटकथा लेखकको रुपमा जे जति जानेको छु त्यसलाई निर्देशनमा उतार्ने छु । सबै मिलर एउटा राम्रो सामाजिक फिल्म दर्शकलाई दिनेछौं,’ घोषणा कार्यक्रममा छेतनले भने । फिल्मको शीर्ष भूमिकामा खगेन्द्र लामिछाने देखा पर्नेछन् । पछिल्लो समय निर्माणसँगै अभिनय गर्दै आएका खगेन्द्रले यो फिल्ममा कलाकारको भूमिका मात्र निर्वाह गर्नेछन् ।
‘मलाई सधैं आफ्नै फिल्म मात्र खेल्दै आएको आरोप लाग्न थालेको थियो । यो फिल्मसँगै म ती आरोपबाट मुक्त भएको छु,’ उनले भने, ‘ लोपोन्मुख खेल डण्डिबियोलाई केन्द्रमा राखेर सामाजिक कथा पस्कनेछौं । दर्शकलाई नबिझाउने फिल्म दिने हाम्रो प्रयास रहनेछ ।’ फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, अंकित खड्का, बुद्धि तामाङ, लक्ष्मी वर्देवा आदि कलाकारको अभिनय रहनेछ ।
लमजुङको घले गाउँ र काठमाडौंका विभिन्न स्थानमा खिचिने फिल्मको सुटिङ असोज २२बाट सुरु हुनेछ । फिल्मलाई सुमी श्रेष्ठ र विनोद गुरुङ मिलेर निर्माण गर्न लागेका हुन् । डेढ करोड लगानी रहने भनिएको फिल्मलाई ४० दिनमा खिच्ने लक्ष्य रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

 

प्रकाशित: २२ आश्विन २०७४ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App