७ वैशाख २०८१ शुक्रबार
अर्थ

अदुवा मर्न थालेपछि कृषक चिन्तित

इलाम – मुख्य नगदेबालीको रूपमा रहेको अदुवामा रोग लाग्न थालेपछि इलामका कृषक चिन्तित बनेका छन्। 

अदुवाको माउ झिकिसकेपछि गानो कुहिने र पहेँलिदै मर्न थालेपछि कृषक चिन्तित बनेका हुन्। 

एक दशकदेखि अदुवाखेती गर्दै आएका फाकफोकथुम–२ साप्तिनका गोपीकृष्ण तिम्सिनाले २० मन (४० किलोको एक मन) अदुवा रोपेका छन्। पानी परेर घाम लाग्दा र माउ झिकेपछि अदुवा मर्न थालेको उनी बताउँछन्। पहेँलो भएर भदौ असोजमा मरेको अदुवाबाट नेक्सान मात्र भएको उनको भनाइ छ। 

अहिले मरेको अदुवालाई खनेर अर्को बाली लगाउँदा केही फाइदा हुन्छ तर त्यसले बीउको मूल्य पनि नउठ्ने तिम्सिनाले बताए। फाकफोकथुम–३ आमचोकका लेखनाथ लुङ्गेलीले १३ मन अदुवा रोपेका छन्। उनको अदुवाखेतीमा पनि कतैकतै पहेँलो देखिन थालेको बताउँछन्। अदुवा मर्ने गरे पनि रोप्न भने नछाडेको उनले बताए। 

यसपालि भाउ नआएको कारणले आम्दानी लिन सकिएन, झन त्यसमाथि रोगले पनि अदुवा मर्न थाल्यो, लुङ्गेलीले भने “किसानलाई अदुवाबाट घाटा भएको छ।” जिल्लामा तीन हजार २३३ हेक्टर जमिनमा अदुवाखेती भइरहेको जिल्ला कृषि विकास कार्यालय इलामका योजना अधिकृत प्रकाशमणि काफ्लेले बताए। 

ढुसीजन्य रोगका कारणले अदुवाको गानो कुहिने हुँदा प्रत्येक वर्ष नयाँ ठाउँमा रोप्दा रोग नलाग्ने उनी बताउँछन्। कार्यालयले किसानलाई अदुवाखेतीसम्बन्धी कृषक पाठशाला तालीम सञ्चालन गर्दै आएको छ। जसले गर्दा पनि अदुवामा रोग लाग्ने सम्भावना कम हुन्छ। 

उत्कृष्ट बन्दै इलामको ह्वाइट टी 

दुई पात एक सुइरोको चिया नै सबैभन्दा गतिलो भनेर त्यसैलाई सबैभन्दा बढी दाममा किनबेच गरिन्थ्यो। तर अब दुई पात एक सुइरोको चियाभन्दा ‘ह्वाइट टी’ उत्कृष्ट मानिन थालिएको छ। 

एक पात एक सुइरोबाट मात्र बनाइने गरेको ह्वाइट टी अहिले नेपालसहित विश्व बजारमै उत्कृष्ट कहलिएको छ। 

यो चिया इलामका चिया कारखानामा पनि उत्पादन हुने गरेको छ । इलाम नगरपालिका वडा नम्बर १ को साँखेजुङका दुई उद्योग, सूर्योदय नगरपालिकाको एउटा र देउमाई नगरपालिकाको पानीटारमा रहेको एउटा उद्योगले यो चिया उत्पादन गरिरहेका छन्। विश्व बजारमा सबैभन्दा महँगो मानिएका चियामध्ये ह्वाइट टी पनि एक हो। 

स्वाद र स्वास्थ्यका लागि अतिनै उपयुक्त मानिएको ह्वाइट टी उत्पादन हुन थालेपछि चिया कृषकलाई पनि फाइदा हुन थालेको छ। ह्वाइट टी बनाउने एक पात एक सुइरो पत्तीको मूल्य रु ३०० देखि ४०० सम्म कारखानाले उपलब्ध गराउने गरेका छन्। 

त्यसो त जुन पायो, त्यही बगानबाट टिपिएको पत्तीले यो चिया बनाइँदैन। अग्र्यानिक प्रविधिबाट उत्पादन गरिएको बगानको पत्ती, त्यो पनि एक पात एक सुइरो मात्र यसका लागि छनोट हुने गरेको साँखेजुङस्थित ग्रीनहिल अर्थोडक्स चिया उद्योगका प्रोप्राइटर टंक दाहालले बताए । 

नेपाल, जापानसहित युरोपेली देशमा समेत बिक्रीका लागि जाने ह्वाइट टी महँगोमा बिक्री हुने गरेको छ। इलाममा उत्पादित ह्वाइट टी कारखानाबाटै प्रतिकिलो रु चार हजारसम्ममा बिक्री हुने गरेको छ। 

साँखेजुङस्थित हिमालयन साङ्ग्रिला टी स्टेटका व्यवस्थापक दिनेश रसाइलीले पनि किसानबाट हरियो पत्ती एकपात एक सुइरो प्रतिकिलो रु ३०० देखि ४०० मा लिने गरेको र बिक्री गर्दा प्रतिकिलो रु चार हजारसम्मले बिक्री हुने बताए। यस कारखानाबाट उत्पादित धेरै चिया जर्मन निर्यात हुन्छ । यो चिया उत्पादनका लागि मौसमअनुसार फरक गुणस्तर हुने उत्पादकले बताएका छन्। 

वर्षात्मा कम गुणस्तरको र हिउँदको पहिलो चरणको पत्ती गुणस्तरीय मानिन्छ। ‘ह्वाइट टी’ ‘ब्लाक टी’ भन्दा महँगो मूल्यमा बिक्री हुने र धेरै स्वस्थकर हुने केन्द्रीय चिया उत्पादक सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद दाहाल बताउँछन्। अहिले इलाममा यो चिया दैनिक ५० किलोसम्म तयार हुने गरेको पाइएको छ। 

एउटा कारखानाले दैनिक १० देखि १५ किलो ह्वाइट टी बनाउँदै आएका छन्। यो चिया उत्पादन गर्ने कारखानाले मागअनुसार प्रशोधन गर्ने गरेका छन् । स्वदेशबाट नभई विदेशबाट मात्र माग आउने भन्दै अध्यक्ष दाहालले भने ‘ह्वाइट टी’ का लागि विदेशबाट मात्र बढी माग आउँछ। विदेशी व्यापारी पनि यही आएर स्वाद चाखेर मात्र चिया खरिद गर्छन् ।” यहाँका तीनजुरे, ग्रीनहिल, साङ्ग्रिला, गोर्खा टी स्टेटलगायतले ह्वाइट टी उत्पादन गर्दै आएका छन्। 

प्रकाशित: २१ आश्विन २०७४ ०९:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App