८ वैशाख २०८१ शनिबार
राजनीति

वाम गठबन्धन अधिनायकवादी : कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले एमाले र माओवादी केन्द्रको गठबन्धनले लोकतान्त्रिक मूल्यमान्यता कमजोर पार्दै निरंकुशता र अधिनायकवादलाई प्रोत्साहित गर्ने काम गरेको ठहर गरेको छ ।

‘विकसित परिस्थितिबाट विचलित नभई राष्ट्रिय एकता, लोकतान्त्रिक शासन, शान्ति प्रक्रिया र संविधान कार्यान्वयनमा जिम्मेदारीका साथ अगाडि बढ्न प्रतिबद्ध रहेको स्पष्ट पार्न चाहन्छौं।’

कांग्रेसले सामाजिक सद्भाव र राष्ट्रिय एकता कमजोर पार्ने वाम गठबन्धनको प्रयासलाई परास्त गर्ने दृढता पनि जनाएको छ । ‘विधिको शासनमा आधारित लोकतान्त्रिक पद्धतिमार्फत देशमा समृद्धि सृजना गर्दै आमजनताको पहुँचमा पु¥याउने सोचलाई कमजोर पार्ने प्रवृत्तिलाई दृढताका साथ नेपाली कांग्रेसले सामना गर्नेछ र यी प्रवृत्तिलाई हामी पराजित गर्नेछौं,’ प्रधानमन्त्री निवास बालुवाटार शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले वाम गठबन्धन र तालमेललाई अनपेक्षित र अस्वाभाविक घटनाको संज्ञा दिएको छ ।
माओवादी केन्द्रले एमाले र नयाँ शक्तिसँग चुनावी तालमेल र लगत्तै पार्टी एकीकरण गर्न ६ बुँदे सहमति गरेर सरकारको वर्तमान गठबन्धन निर्माण गर्दा भएको ३ बुँदे सहमति तोडेको आरोप कांग्रेसले लगाएको छ ।
माओवादीले संविधान कार्यान्वयन, राािष्ट्रय एकता र विभिन्न जाति तथा समुदायबीचको सद्भाव र विश्वासका आधारमा देशलाई समृद्धि र विकासको मार्गमा अगाडि बढाउने भन्दा पनि विभाजनको मानसिकतालाई प्रोत्साहन गरेको कांग्रेसको आरोप छ । लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक सद्भावसमेत कमजोर पार्न उन्मुख हुँदै आएको एमालेसँग माओवादी केन्द्रले गरेको सहकार्यले देशलाई अनावश्यक रूपमा धु्रवीकरणतर्फ धकेलेको टिप्पणी कांग्रेसको छ ।
शान्ति प्रक्रियाबाट विकसित नेपालको राजनीति सहमति, सहकार्य र मेलमिलापको कार्यदिशाबाट संविधानको कार्यान्वयनसम्म आइपुगेको भन्दै कांग्रेसले यही बाटोबाट नै देशमा दिगो शान्ति, राजनीतिक स्थिरता र आर्थिक समृद्धि हासिल हुन सक्ने ठहर गरेको छ । ‘विकसित परिस्थितिबाट विचलित नभई राष्ट्रिय एकता, लोकतान्त्रिक शासन, शान्ति प्रक्रिया र संविधान कार्यान्वयनमा जिम्मेदारीका साथ अगाडि बढ्न प्रतिबद्ध रहेको स्पष्ट पार्न चाहन्छांै,’ कांगे्रस विज्ञप्तिमा उल्लेख छ, ‘यस बाटोमा समान सोच राख्ने सबैसँग सहकार्य गर्न कांग्रेस सदैव तत्पर छ ।’
यस्तै कांग्रेसले विकसित परिस्थितिमा, मुलुकमा प्राप्त उपलब्धिको संरक्षण र संवद्र्धन गर्न तथा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराई संविधान कार्यान्वयन तथा मुलुकमा राजनीतिक स्थायित्व कायम गरी आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने राष्ट्रिय जिम्मेवारी पूरा गर्ने दृढता पनि व्यक्त गरेको छ । ‘उपरोक्त दायित्व र जिम्मेवारी पूरा गर्न देशका सबै लोकतान्त्रिक, राष्ट्रवादी र प्रगतिशील राजनीतिक शक्तिहरूका बीचमा आपसी सद्भाव कायम राख्दै सहकार्य र आवश्यकताअनुसार चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गर्दछ,’ कांग्रेस निर्णयमा भनिएको छ ।

बक्स
उम्मेदवारको टुंगो २७ गतेभित्र
कांग्रेस केन्द्रीय समिति बैठकले प्रदेश र केन्द्रका लागि पार्टीका तर्फबाट असोज २७ गतेभित्र उम्मेदवार टुंगो लगाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अपराह्न दोस्रोपटक बसेको बैठकले २७ गतेभित्र उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको हो ।
‘पुनर्संरचित ठूलो भूगोलसहितका निर्वाचन क्षेत्र तथा अत्यन्त कम समयावधि भएका कारण यही २०७४ आश्विन २७ गतेभित्र प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिकतर्फका सबै उम्मेदवारको नाम टुंगो लगाइसक्ने निर्णय गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले पार्टी नीतिविपरीत स्थानीय निर्वाचनमा बागी उम्मेदवार बनेका र तिनका प्रस्तावक समर्थकलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ । ‘२०७० को संविधानसभा निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेकाहरूलाई प्रदेशसभा र प्रतिनिधिसभाको सदस्य पदको उम्मेदवार नबनाउने निर्णय गर्दछ,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  
त्यस्तै कांग्रेसले संसद्को समानुपातिकतर्फबाट सांसद भएकालाई आगामी निर्वाचनमा  समानुपातिकतर्फको उम्मेदवार नबनाउने भएको छ । ‘साबिक संविधानसभा हाल संसद्को समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका व्यक्तिहरुलाई आसन्न प्रतिनिधिसभाको निर्वाचनमा अपवादबाहेक समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार पुनः नबनाउने निर्णय गर्दछ,’ कांग्रेसले भनेको छ ।  
पार्टीमा निरन्तर लागेका, निर्वाचन जित्न सक्ने नेताहरूलाई नै उम्मेदवार बनाउने नीति लिएको कांग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकालाई भने प्रदेश र केन्द्रको निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ ।
जिल्लाबाट आएका सिफारिसकै आधारमा तत्काल संसदीय समिति गठन गरेर उम्मेदवार टुंगो लगाउने कांग्रेसले निर्णय गरेको छ । पार्टी सभापति देउवा र नेता पौडेलबीच छलफल गरेर संसदीय समितिको टुंगो लगाएपछि उम्मेदवार छनोट हुनेछ । ‘प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार चयन गर्न वरिष्ठ नेतालगायत साथीहरूसँग आवश्यक परामर्श गरी संसदीय समिति गठन गर्न पार्टी सभापतिलाई अधिकार दिने निर्णय गर्दछ,’ विज्ञप्तिमा छ ।
यसैबीच कांग्रेसले प्रदेश र केन्द्रको निर्वाचनका लागि घोषणापत्र लेखन सुरु गरेको छ । स्थानीय तहको घोषणापत्र तयार गरेको महेश आचार्य नेतृत्वको समितिले नै घोषणापत्रको मस्यौदा लेख्न थालेको हो । समितिले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा विभिन्न पक्षसँग सुझाव मागेको छ ।
००००
‘राष्ट्रियतमाथि प्रहार’
बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले नयाँ संविधान कार्यान्वयनमा जुट्नुको साटो एमाले, माओवादी केन्द्रसहितका दलहरू सिंगो मुलुकलाई नै ध्रुवीकरण गरेर प्रजातान्त्रिक शासनव्यवस्था र राष्ट्रियतामाथि प्रहार गर्न सक्रिय भएको आरोप लगाएका छन् ।
उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन नदिने र मुलुकलाई पुनः अस्थिरतातर्फ धकेल्न एमाले र माओवादी अग्रसर भएको धारणा राखेका हुन् ।
७० वर्ष लामो संघर्षबाट प्राप्त उपलब्धिलाई संरक्षण र संस्थागत गर्दै मुलुकमा राजनीतिक स्थायित्वसहित आर्थिक विकासतर्फ अघि बढाउन लोकतन्त्रवादी, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूसँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा सबै नेताहरू एकमत देखिएका छन् ।
एमाले, माओवादी, नयाँ शक्तिबीचको तालमेल र एकता कांग्रेसविरुद्धमा मात्र घेराबन्दी नभई मुलुकको राष्ट्रियता र प्रजातन्त्रमाथिकै प्रहार भएको सदस्यहरूको भनाइ छ ।
संविधान कार्यान्वयनको साटो संविधानको मर्म÷भावनाविपरीत शासन व्यवस्था नै परिर्वतन गर्दै एकदलीय कम्युनिस्ट शासन लागू गर्नेतर्फ वाम गठबन्धन अग्रसर भएको उनीहरूको विश्लेषण छ । नयाँ संविधान कार्यान्वयनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै राष्ट्रियताको रक्षाका लागि पार्टी एकताबद्ध र दृढ भएर अघि बढ्नुपर्ने धारणा सदस्यहरूले धारणा राखेका छन् ।
नेता महेश आर्चायले कांग्रेसले लोकतन्त्रवादी साना राजनीतिक दलसँग मिलेर अगाडि बढ्नुपर्ने बताए । जनतालाई उग्रविचारमा संगठित गर्ने एमाले र माओवादी प्रयत्न गलत भएको जिकिर गर्दै आर्चायले कांग्रेसको काँधमा संविधानको रक्षा गर्ने जिम्मेवारी आएको बताए । ‘यो परिस्थितिमा संविधानको परिधिभित्र सबैलाई एकताबद्ध गर्ने जिम्मेवारी कांग्रेसको हो’, बैठकपछि आचार्यले पत्रकारसँग भने, ‘यसैलाई दृष्टिगत गरेर चुनाव तोकिएकै समयमा सम्पन्न गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने हामी सक्रिय रहनेछौं ।’
शान्तिप्रक्रियाको एउटा पक्ष माओवादी एमालेमा मिसिएपछि बाँकी काम सम्पन्न गर्न समस्या खडा हुने कांग्रेसको बुझाइ छ । माओवादी एमालेमा मिसिएपछि शान्तिसम्झौता गरेको पक्षको वारेस कसले लिन्छ भन्ने विषयमा बैठकमा छलफल भएको थियो ।
‘माओवादी शान्तिप्रक्रियाको एउटा पक्ष भएर उभिएर आएको पार्टी हो,’ उनले भने, ‘माओवादी द्वन्द्वका बेला मुद्दा सकिएको छैन । अब त्यसको वारेस खड्ग ओली बन्ने अवस्था आउनु अस्वाभाविक हो ।’
वाम गठबन्धन निर्माण हुँदैमा अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको तर्क गर्दै सदस्यहरूले पार्टीले बनाउने चुनावी तालमेल रणनीतिकै आधारमा शक्ति आर्जन हुने नेतृत्वलाई सुझाएका थिए । हाम्रालाई भन्दा राम्रालाई र जित्नेलाई उम्मेदवार बनाएर अघि बढ्न नेतृत्वलाई आग्रह गर्दै केन्द्रीय सदस्यहरूले जनतालाई उदार प्रजातान्त्रिक मूल्यको अभियानकर्ता कांग्रेस नै हो भनेर विश्वास दिलाउने गरी अभियान सञ्चालन गर्नुपर्ने तर्क गरेका छन् ।  
‘हामी नै प्रजातान्त्रिक मूल्यमान्यता बोक्ने मुख्य पार्टी हौं भन्ने अझै प्रमाणित गर्दै जनतामाझ जानुपर्छ,’ आचार्यले भने, ‘हामीले आत्तिनुपर्ने कुरा छैन । अहिले अंकगणतिमा लागेर नेता कार्यकर्तालाई निरास बनाउनुपर्ने अवस्था छैन ।’  
बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका नेताहरूले सबै नेताकार्यकर्ता हतास नभई एकजुट र अनुशासित भएर निर्वाचनमा जुट्नुपर्ने धारणा राखेका थिए ।
उनीहरूले संविधानसभाबाट जारी संविधान र अहिलेसम्मको उपलब्धिलाई नै संस्थागत हुन नदिने गरी कम्युनिस्ट र प्रजातन्त्रविरोधी शक्तिहरूको गठबन्धन र एकताबाट प्रजातन्त्र, राष्ट्रियता जोगाउँदै संविधानको सफल कार्यान्वयनका लागि लोकतान्त्रिक, राष्ट्रवादी र प्रगतिशील पक्षधरको सहकार्य र तालमेल जरुरी रहेको बताएका थिए ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले लोकतान्त्रिक, राष्ट्रवादी र प्रगतिशील पक्षसँग गठबन्धन गरेर अघि बढ्ने विषयमा छलफल भइरहेको जानकारी दिएका थिए । उनले मुलुकलाई कम्युनिस्ट अतिवादतर्फ जान नदिन चुनावी तालमेल गर्ने बताएका थिए ।
नेता पौडेलले नेपालका कम्युनिस्टहरू समाधानभन्दा सधैं समस्याका रूपमा आएको भन्दै वाम गठबन्धनका नाममा एमाले, माओवादीसहितका दलले संविधान र अहिलेको व्यवस्थामाथि नै धावा बोल्ने प्रयास गरेको धारणा राखे । संविधानसभाबाट संविधान जारी भएर त्यसको कार्यान्वयनका लागि पहिलो पटक हुन लागेको निर्वाचनअघि भएको वाम एकता मुलुकको हितमा नभएको र यसको प्रतिवाद जनताले गर्ने पौडेलको तर्क थियो ।
केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले एमाले र माओवादीले राजनीतिक व्यवस्थाको मूल मर्ममै प्रहार गरेको आरोप लगाए । उनले ९० प्रतिशत सांसदको समर्थनमा जारी भएको संविधानको व्यवस्थाविपरीत कम्युनिजम ल्याउने बाटोमा वाम गठबन्धन अघि बढेको तर्क गरेका थिए । पार्टी स्थापनादेखि नै विभिन्न शक्तिलाई लोकतान्त्रिक धारमा ल्याउन धेरै प्रयत्न भए पनि त्यसप्रति धोका भएको धारणा राख्दै जोशीले भने, ‘नेता कार्यकर्ता मात्र होइन जनतालाई निरन्तर कम्युनिकेसन गरेर लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि लाग्नुपर्छ ।’
सभापति देउवा र नेता पौडेलले पार्टीलाई व्यावहारिक र व्यापक एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेको जोशीले जानकारी दिए ।

प्रकाशित: २१ आश्विन २०७४ ०२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App