७ वैशाख २०८१ शुक्रबार
खेल

अफ्रिकी क्षेत्रमा रोचक भिडन्त

जोहानेसबर्ग- रूस विश्वकप २०१८ का लागि अफ्रिकाबाट पाँच राष्ट्रले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउँछन् ।   विश्वकप छनोट प्रतियोगितामा आआफ्नो खेल जित्दै शनिबार नाइजेरिया, ट्युुनिसिया र इजिप्ट पाँचमध्ये तीन स्थान ओगट्ने लक्ष्यमा हुनेछन् ।
अफ्रिकी छनोटका प्रत्येक समूहका शीर्ष टोलीले विश्वकप यात्रा तय गर्नेछन् ।
समूह ‘बी’ मा रहेको नाइजेरियाले जाम्बियाको चुनौती पन्छााउन सके छनोट चरणको अन्तिम खेलअगावै विश्वकपमा स्थान सुरक्षित गर्नेछ । ४ खेलको समाप्तिमा १० अंक जोडेको नाइजेरिया शीर्ष स्थानमा छ भने समान खेलमा ७ अंक जोडेको जाम्बिया ७ अंकका साथ दोस्रो स्थानमा छ । त्यस्तै ३ अंक जोडेको क्यामरुन तेस्रो र १ अंक जोडेको अल्जेरिया पुछारमा छन् । तर जाम्बियाविरुद्धको बराबरी अथवा हारले नाइजेरियालाई छैटौं पटक विश्वकपमा स्थान सुरक्षित गर्नका लागि अन्तिम खेलसम्म कुर्नुपर्नेछ । यसअघि गत वर्ष सम्पन्न अवे खेलमा नाइजेरियाले जाम्बियालई २–१ ले पराजित गरिसकेको छ ।
बलियो मानिएको अफ्रिकन च्याम्पियन क्यामरुनविरुद्ध घरेलु तथा अवे खेलमा नतिजा आफ्नो पक्षमा पारेको नाइजेरियाले विश्वकप सम्भावना बलियो पारेको थियो । चेल्सीका मिडफिल्डर भक्टिर मोसिस र जोन मिकेल ओबीको प्रदर्शनप्रेरित नाइजेरियाले घरेलु मैदानमा ४–० को जित तथा अवे खेलमा १–१ को बराबरी खेल्दै क्यामरुनको चुनौती समाप्त पारेको थियो । समूह ‘बी’ को अर्को खेलमा क्यामरुनले अल्जेरियाको समाना गर्दै छ ।
यता समूह ‘ए’ मा १० अंक जोड्दै शीर्ष स्थानमा भएको ट्युनिसियाले पनि शनिबारको खेलमा गुयनाको चुनौती पाखा लगाउन सके विश्वकप टिकट पक्का गर्नेछ । समान ४ खेलमा ७ अंक जोडेको डेमोक्य्राटिक रिपब्लिक अफ कंगोले पुछारको टोली लिबियाको सामना गर्दै छ ।
त्यस्तै समूह ‘इ’ मा रहेको इजिप्ट घरेलु मैदानमा हुने खेलमा कंगोलाई पराजित गर्दै २८ वर्षपछि विश्वकपमा छनोट हुने लक्ष्यमा हुनेछ । तर कंगोविरुद्धको जितले मात्र पनि इजिप्टको एक खेलअगावै विश्वकप यात्रा पक्का नबन्न सक्छ । त्यसका लागि समूहको अर्को खेलमा घानाले युगान्डालाई पराजित गर्नुपर्नेछ । ४ खेलको समाप्तिमा ९ अंक जोडेको इजिप्ट शीर्ष र समान खेलमा ७ अंक जोडेको युगान्डा दोस्रो स्थानमा छन् । ५ अंक जोडेको घाना तेस्रो र १ अंक जोडेको कंगो पुछारमा छन् ।
यता समूह ‘सी’ र ‘डी’ को भिडन्त भने रोचक बन्दै गएको छ । दुवै समूहका  शीर्ष तीन टोलीबीच एक अंकको दूरी भएकाले तीनै टोलीको विश्वकप सम्भावना जीवितै छ । समूह ‘सी’ मा ४ खेलको समाप्तिमा ७ अंक जोडेको आइभोरी कोस्ट शीर्ष स्थानमा रहँदा ६ र ५ अंक जोडेका मोरोक्को र गावोन क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् । २ अंक जोडेको माली समूहको पुछारमा छ । शनिबार हुने खेलमा आइभोरी कोस्टले मालीको समाना गर्दा मोरक्कोले र गाबोनसँग खेल्नेछ ।
समूह ‘डी’ मा  बुर्किना फासोले दक्षिण अफ्रिकाको सामना गर्दा केप भार्डेले सेनेगलसँग प्रतिस्पर्धा गर्दै छ ।
४ खलको समाप्तिमा ६ अंक जोडेको बुर्किना फासो शीर्ष स्थानमा छ ।  समान खेलमा समान ६ अंक जोडे पनि गोलअन्तरमा पछि परेको केप भार्डे दोस्रो स्थानमा छ । ५ अंक जोडेको सेनेगल तेस्रो र १ अंक जोडेको दक्षिण अफ्रिका अन्तिम स्थानमा छन् ।
विश्वकप छनोट प्रतियोगितामा आआफ्नो खेल जित्दै शनिबार नाइजेरिया, ट्युुनिसिया र इजिप्ट पाँचमध्ये तीन स्थान ओगट्ने लक्ष्यमा हुनेछन् ।

प्रकाशित: २० आश्विन २०७४ ०४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App