७ वैशाख २०८१ शुक्रबार
अर्थ

७०० भन्दा बढी टावरबाट एनसेलको फोरजी

काठमाडौं- निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले सात सयभन्दा बढी टावर जडान गरी आधुनिक चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) प्रदान गरेको छ । कम्पनीको प्रमुख लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को दोस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार एनसेलले गत जुन (असारको मध्य) सम्ममा ६ सय ९९ वटा फोरजी टावर जडान गरिसकेको छ ।
बिटिएस टावर मोबाइल नेटवर्क विस्तारको लागि प्रमुख पूर्वाधार हो । मोबाइल टावरले ग्राहकलाई सञ्चार सेवा प्रदान गर्न उनीहरुको मोबाइललाई फ्रिक्वेन्सीका माध्यमबाट सेवा प्रदायकको नेटवर्कसँग जोड्ने काम गर्छ । टावर निर्माण तथा जडानमा हुने खर्च सेवा प्रदायकहरुको प्रमुख पुँजीगत खर्च तथा लगानीका रुपमा लिइन्छ ।
फोरजी सेवा सञ्चालनमा आएपछि बढेको इन्टरनेट प्रयोगले डाटा खपतमा उल्लेख्य रुपमा वृद्घि भएको पनि उक्त प्रतिवेदनमा उल्लेख छ । दोस्रो त्रैमासमा एनसेलको डाटा खपत ६८ लाख जिबी पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा एनसेलको कुल डाटा खपत २७ लाख जिबी थियो ।
प्रतिवेदन अनुसार जेठ १८ बाट सञ्चालनमा ल्याइएको फोरजी सेवा र विभिन्न अफरले गर्दा पहिलो त्रैमासको तुलनामा डाटा आय ११.५ प्रतिशतले वृद्घि भएको कम्पनीले जनाएको छ । यसले एनसेलको आय ३.९ प्रतिशतले बढाएको छ । दोस्रो चौमासमा एनसेलको खुद नाफा ३५ प्रतिशतले बढेको जनाएको छ ।
दोस्रो त्रैमासमा कम्पनीको कुल आय १४.४७ अर्ब रहेकोमा डाटा योगदान १८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । एनसेलको तथ्यांक अनुसार कुल एक करोड ५६ लाख ग्राहक रहेकोमा ४४.४ प्रतिशत ग्राहकले डाटा सेवा लिएका छन् ।
डाटाको ग्राहक संख्यामा भएको वृद्घि, तुलनात्मक रुपमा सस्तिएको डाटा शुल्क, स्मार्टफोनको प्रगोगमा वृद्घि लगायत कारणले पनि नेपालमा डाटा खपत बढ्दो क्रममा छ । प्रतिवेदन अनुसार एनसेलका डाटा ग्राहकले प्रतिमहिना औसत तीन सय ४१ एमबी डाटा प्रयोग गरेका छन् । गत वर्ष सोही अवधिमा प्रतिमहिना औसत डाटा उपयोग प्रतिग्राहक एक सय ६० एमबी थियो ।
पछिल्लो समय फोरजी सेवाको विस्तारसँगै एनसेलले डाटाको शुल्क घटाउदै नयाँ प्याकहरू ल्याएको छ । यस अन्र्तगत ग्राहकले कुनै पनि डाटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यत्ति नै भोल्युम बराबर फोरजी डाटा बोनस स्वरुप प्राप्त गर्न सक्छन् र कर सहित न्यूनतम दुई पैसा प्रतिएमबी सम्ममा डाटा सेवाको मज्जा लिन सक्छन् ।
एनसेलले जेठ १८ देखि फोरजी सेवा सञ्चालनमा ल्याएको थियो । पहिलो चरणमा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा फोरजी सेवा सञ्चालनमा ल्याएको थियो । त्यसपछि सेवा विस्तार गर्दै हाल पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न १९ सहरमा फोरजी सेवा उपलब्ध गराउँदै आएको छ । सन् २०१८ को अन्त्यसम्ममा ४० सहरमा यो सेवा पु¥याउने लक्ष्य रहेको बताएको छ ।

प्रकाशित: १९ आश्विन २०७४ ०५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App