coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

यसरी पकाउनुस् दसैंमा मासु

नेपालीको रमाइलो पर्व फेरि आएको छ। दसैं नवदुर्गाको पूजा गर्ने मात्र नभई यसका अनेक सांस्कृतिक अनि सामाजिक महत्व पनि छन्। काम व्यवसायले टाढा रहेका सदस्य घर फिर्ने पर्व पनि हो दसैं । यो ठूलाबडाबाट टीका आशिर्वाद थाप्ने पर्व पनि हो । नजिकदेखि टाढाका आफन्त भेटघाट गरी रमाइलो गर्ने अवसर पनि दसैं हो । यत्ति मात्र नभई नयाँ लगाउने र मीठो खाने पर्वको रुपमा समेत परिचित छ दसैं।

दसैंका बेला सबै परिवार आफन्त जम्मा भई मिठा खानेकुरा खाने त चलन नै स्थापित । दसैंमा देवीको बलिपूजा समेत हुने भएकोले दसैंको खानामा मासु अनिवार्यजस्तै समावेश हुन्छ । दसैंमा एकै तरिकाले बनाइएको मासु खानुभन्दा मासुको फरक फरक परिकार बनाएर खाएमा दसैं अझ स्वादिलो हुनेछ । सेफ प्रेम लीलाले घरमा नै सजिलै बनाउन सकिने केही मासुका स्वादिला परिकारका लागि रेसिपी बनाएका छन् ।

चिकेन बटर मसला

चाहिने सामग्री  

मासु – चिकेन ब्रेस्ट ४ वटा

म्यारिनेड – एक/एक चम्चा अदुवा अनि लसुनको पेस्ट, सुकेका मेथीको पात, नून, गरम मसला मिलाइएको

ग्रेभी – २/२ चम्चा बटर, तेल, लसुनअदुवाको पेस्ट, खुर्सानीको धुलो र फ्रेस क्रिम, ४ चम्चा काजु, १/१ चम्चा गरम मसला, नुन र तन्दुरी मसला, ५ देखि ६ वटा काटिएको टमेटो ।

बनाउने विधि

मासुलाई धोएर पानी तर्काउने । अघि तयार पारिएको म्यारिनेड हालेर मोल्ने अनि २० मिनेट छोडिदिने । त्यसपछि केहीबेर चिकेनलाई केही बेर बेक गर्ने । चिकेनलाई टुक्रा पारेर राख्ने । प्यानमा बटर र तेल तताएर अदुवा लसुनको पेस्ट फुराउने । काटिएको गोलभेंडा र खुर्सानीको धुलो हालेर बाक्लो ग्रेभी नबनेसम्म पकाउने । पिँधेर राखिएको मरमसला हालेर मध्यम तापक्रममा केहीबेर पकाउने । त्यसपछि रस बनाउन एक कप पानी थप्ने । काटेर राखिएको चिकेन र नूनलाई ग्रेभीमा हालेर मज्जाले चलाउने । केहीबेर छोपेर पकाउने । फ्रेस क्रिम र गरम मसला हालेर चलाउने । फ्रेस क्रिम र धनियाको पातले सजाएर सर्भ गर्न सकिन्छ ।

मटन छोइला

चाहिने सामग्री

खसीको मासु – ३०० ग्राम, गोलभेंडा – १०० ग्रा., टुक्रा काटिएको लसुन – १० ग्रा., टुक्रा काटिएको अदुवा – १० ग्रा., काटिएको हरियो खुर्सानी – १० ग्रा.,सुकेको रातो खुर्सानी – ४–५ वटा, भुटेको जिराको धुलो – ५ ग्रा., बेसार – ५ ग्रा., धनियाँको पात – ५ ग्रा., कागतीको रस  –१० ग्रा., हरियो लसुनको पात  – ५ ग्रा. र तोरीको तेल – १० मिलि.।

बनाउने विधि

मासुलाई नून राखेर पानीमा उमाल्ने । काटेर राखिएको गोलभेंडा र खुर्सानीलाई थोरै तेलमा भुट्ने । रातो खुर्सानीको धुलो मिलाएर पेस्ट बनाउने । उसिनेको मासुलाई ठीक्कको टुक्रामा काट्ने र ग्रिल वा प्यानमा रोस्ट गर्ने । ग्रिल गरिएको मासुमा अघि बनाइएको पेस्ट मिसाउने । काटिएको हरियो खुर्सानी, गोलभेंडा, हरियो धनियाँको टुक्रा, जिराको धुलो, लसुनको पात हालेर मिसाउने । स्वाद अनुुसार नुन राखेर राम्रोसँग चलाउने । अर्काे प्यानमा तोरीको तेल तताउने । तेल राम्रोसँग तातिसकेपछि आगो निभाउने । तेलमा मासु हाल्ने, त्यसपछि बेसार र कागतीको रस हालेर राम्रोसँग मिक्स गरेपछि मटन छोइला तयार हुन्छ । तयार भएको छोइलालाई अदुवा र हरियो लसुनको टुक्राले गार्निस गरेर सर्भ गर्ने । यो चार जनाका लागि पुग्छ ।

मटन रोगन जोस

चाहिने सामग्री : तेल – ५ चम्चा, दही – १ कप, प्याज काटिएका – २ वटा, अदुवाको पेस्ट – २ चम्चा, लसुनको पेस्ट – २ चम्चा, कस्मिरी रातो खुर्सानीको धुलो – १.५ चम्चा, गरम मसला पाउडर – १ चम्चा, अदुवा पाउडर – १ चम्चा, धनियाँ पाउडर – २ चम्चा, बेसार – आधा चम्चा, जिरा पाउडर – १ चम्चा, मरिच – १ चम्चा, अलैंची – ८ वटा, दालचिनी – ५ स्टिक,  केही टुक्रा जाइपत्री, ह्वाइट क्रिम – २ चम्चा, नुन, सजाउन धनियाँको पात ।

बनाउने विधिः

मटनलाई दहीमा अलिकति नुन मोलेर राख्ने । प्यानमा तेल तताएर होल गरम मसला हाल्ने । केहीबेर गरममसला फुराएपछि टुक्रा काटिएको प्याज हालेर खैरी हुन्जेल फ्राइ गर्ने । अदुवा लसुनको पेस्ट हालेर २ मिनेट जति फ्राई गर्ने। सबै मसला पाउडरहरु हालेर तेल माथि ननिस्किएसम्म फ्राई गर्ने । अब मटन र म्यारिनेड पेस्ट हालेर चलाउने र सानो आगो बनाएर दुई मिनेट जति फ्राई गर्ने । केही पानी र नुन हालेर बढी तापक्रममा छोपेर पकाउने । मासु नरम भएर बाक्लो ग्रेभी बनेपछि क्रिम हालेर राम्रोसँग चलाउने । त्यसपछि ५ मिनेट पकाएपछि रोगन जोस तयार हुन्छ । यसरी तयार भएको डिसलाई काटिएको धनियाँको पातले गार्निस गरेर भात, पुलाव वा रोटीसँग ५ जनालाई खान पुग्छ ।

मटन करी

चाहिने सामग्री : मटन – ७०० ग्रा.,सोंफ – ५ ग्रा., तेल – १५ मिलि, रातो खुर्सानी – ५ ग्रा., रेड ग्रेभी – ४०० मिलि, स्वाद अनुसार नुन, तेजपात – ४ वटा, . गरम मसला – १५ ग्रा, स्टक (हड्डीको सुप) दही – १५ ग्रा., मेथीको पातको धुलो – २ चिम्टी 

बनाउने विधिः

बाक्लो भाँडोमा तेल तताएर गरम मसला र तेजपात फ्राइ गर्ने । रातो खुर्सानीको धुलो, मासु, दही हालेर राम्रोसँग चलाउने । स्टक हालेर उमाल्ने । अर्काे प्यानमा तेल तताएर सौंफ फुराउने र त्यसमा मटन हालेर केही मिनेट फ्राइ गर्ने  र रेड ग्रेभी हालेर केही मिनेट पकाउने । नुन र मेथी पातको धुलो हालेर मज्जाले चलाउने । धनियाँको पातले सजाएर खान सकिन्छ । यसरी तयार पारेरको मटन करी ४ जनालाई खान पुग्छ ।

मटन करीका लागि चाहिने रेड ग्रेभी बनाउने तरिका : सस प्यानमा तेल तताएर गरम मसला र तेजपात फुराउने । काटिएको प्याज हालेर खैरो नहुन्जेल फ्राइ गर्ने । अदुवा लसुनको पेस्ट हालेर काँचो बास्ना निस्कन बन्द नहुन्जेल पकाउने । जिरा, धनियाँ, खुर्सानी, गरम मसलाका पाउडर हालेर चलाउने । काजु वा बदामको पेस्ट हालेर मधुरो आगोमा तेल नतैरिन्जेल पकाउने । मेथीको पातको धुलो र मह हालेपछि रेड ग्रेभी तयार हुन्छ ।

खसीको लेदोबेदो

चाहिने सामग्री : खसीको मासु – ४०० ग्राम, तेल – १० मिलि, गरम मसला – ४ पिस, तेजपात – ३ पिस, प्याज – २०० ग्राम, अदुवा लसुनको पेस्ट – १५ ग्राम, सिसिसि पाउडर – १० ग्राम, बेसार पाउडर – आधा चम्चा, गरम मसला पाउडर – १० ग्राम, गोलभेंडा – १०० ग्राम, स्वादअनुसार नुन, एक चिम्टी जाइफल पाउडर, स्टक – आवश्यकताअनुसार, धनियाँको पात ।

बनाउने विधि :

मन पर्ने आकारमा मासुलाई टुक्रा पार्ने । प्रेसर कुकरमा तेल तताउने अनि तेजपात र गरम मसला फुराउने । काटेर राखिएको प्याज हालेर खैरो रङ नआउन्जेल फ्राइ गर्ने । काटेर राखिएको मटन हालेर केही बेर भुट्ने । अदुवा  र लसुनको पेस्ट हालेर चलाउने । सिसिसि पाउडर, बेसार र गरम मसला पाउडर हाल्ने । जाइफलको पाउडर हालेर राम्रोसँग चलाउने । काटेर राखिएको गोलभेंडा हालेर चलाउने । अलिकति नुन र तयार पारेर राखिएको स्टक हालेर प्रेसर कुकरको बिर्काे लगाउने । पाकेपछि धनियाँको पातले गार्निस गरे भातसँग खान सकिन्छ ।

चिकेन करी

चाहिने सामग्री

चिकेन – ८०० ग्राम, प्याज – २०० ग्राम, – गोलभेंडा – २०० ग्राम, नुन – १५ ग्राम, जिरा – १५ ग्राम, गरम मसला – १५ ग्राम, बेसार – ५ ग्राम, रातो खुसानी – १० ग्राम, मिट मसला – ग्राम, तेजपात – १५ ग्राम, तेल, ४० मिलि, धनियाँ पाउडर – १५ ग्राम, धनिया – १५ ग्राम, पानी – १००० मिलि ।

बनाउने विधिः

कराईमा तेल तताउने । तेजपात र प्याज हालेर फ्राई गर्ने । बेसार चिकेन हालेर चलाउने । मसलाहरु हालेर एक मिनेट पकाउने । गोलभेंडा हालेर २ मिनेट पकाउने । पानी हालेर ठीक्को तापक्रममा १० मिनेट पकाउने । चिकेन करी तयार हुन्छ ।

चिकेन चिली

चाहिने सामग्रीः

बोनलेस चिकेन – ३०० ग्राम, काटिएको प्याज – ८० ग्राम, डाइस्ड क्याप्सिकम – ८० ग्राम, गोलभेंडा – ५० ग्राम, लसुन – १५ ग्राम, लामो हरियो खुर्सानी – २० ग्राम, स्प्रिङ अनियन – ३० ग्राम, हट सस – ५० मिलि, टमेटो केचप – ३० मिलि, सोय सस – ५ मिलि, नुन मरिच – स्वादअनुसार,  सजावटका लागि धनियाँ, सिजन्ड फ्लोर – २० ग्राम, हरियो सलाद – १०० ग्राम ।

बनाउने विधिः

चिकेनलाई एकै किसिमको टुक्रामा काट्ने । सिजन्ड फ्लोरले कोट गरिदिने । प्यानमा तालिएको तेलमा डिप फ्राइ गर्ने । प्यानमा भेजिटेबललाई भुट्ने । त्यसैमा फ्राइ गरिएको चिकेन र सस हालेर मिक्स गर्ने । सलाद र गार्निसिङसहित तीन जनालाई सर्भ गर्न पुग्छ।

प्रकाशित: १२ आश्विन २०७४ ०८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App