coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

दसैंका नाममा धमाधम

फिल्म ‘ऐश्वर्य’को एक गीतमा अभिनय गर्दै अभिनेता रमेश उप्रेती र अभिनेत्री दीपिका प्रसाइँ ।

काठमाडौं, असोज १०- केही वर्षअघिसम्म दसैं फिल्म रिलिजका लागि अनुपयुक्त समय मानिन्थ्यो । खासगरी निर्माताहरू काठमाडौंमा फिल्म रिलिज गर्न डराउँथे । मोफसलमा भने दसैं नै फिल्म रिलिजका लागि उपयुक्त मानिन्थ्यो । तर, काठमाडौंमा बढेको जनसंख्याको चापले दसैंलाई नेपाली फिल्म रिलिजका लागि सबैभन्दा ठूलो ‘डेट’को रूपमा स्थापित गरेको छ ।
दसैं नेपालीहरूले सबैभन्दा बढी बिदा पाउने चाड हो । हप्तादिन जसो नै सम्पूर्ण कार्यालय बन्द हुन्छ । यही मौकामा कलाकार हुन् वा प्रकाशक, सबैले आफ्ना सामग्री बजारमा पठाउने गरेका छन् । तर, तिनको मात्रा यति धेरै हुन थालेको छ कि तिनले दर्शक र पाठक दुवैलाई दुविधामा पार्ने गरेको छ । दसैंको बजारलाई लक्षित गरी निकालिएका किताब हुन् वा फिल्मका गीत तथा ट्रेलर दर्शकको नजरमा जम्न सकेका छैनन् ।
दसैंको छेको पारेर यसअघि ‘ऐश्वर्य’ ट्रेलरको, ‘फाटेको जुत्ता’को गीत तथा ट्रेलर, ‘मेरो पैसा खोइ’ गीत तथा ट्रेलर, ‘रुद्रप्रिया’ गीत, ‘मेला’, ‘चर्खा’ आदिका गीत सार्वजनिक भएका छन् । तर, कुनै पनि सामग्रीले पर्याप्त दर्शक पाउन सकेका छैनन् ।
निर्माता संघका अध्यक्ष आकाश अधिकारी फिल्मको प्रचारप्रसारलाई सही तरिकाले व्यवस्थापन गर्न नसक्दा युट्युबमा बग्रेल्ती प्रचार सामग्रीको ओइरो लागेको बताउँछन् । ‘दसैंमा आएको भन्दैमा कसैले मन पराउने होइन । सार्वजनिक सामग्रीको जति मोल छ दर्शकले तिनलाई त्यति नै रुचाउने हुन् ।  अझ सबैले दसैं भन्दै एकैचाोटि गीत तथा ट्रेलर मिल्काउँदा दर्शकमा झन् दुविधा बढेको छ,’ अधिकारीले बताए ।
पछिल्लो समय युट्युबमा फिल्मका गीत तथा ट्रेलर हेर्ने जमात बढ्दो क्रममा छ । त्यसैले केही गीत रिलिज भएको एक दुई महिनामै करोड भ्युज पुग्ने गरेको छ । ‘यसले दर्शकमा नेपाली सामग्रीप्रतिको रुचि दर्शाउँछ । तर, हुलमुलमा राखेर दर्शक झुक्याउँछु भन्ने चाहिँ नसोचे पनि हुन्छ,’ संगीतकार अर्जुन पोखरेल भन्छन्, ‘तिहार लक्षित फिल्मले गीत वा ट्रेलर मिल्काउनु ठिकै हो तर रिलिजको टुंगो नै नभएका फिल्मले पनि गीत रिलिज गर्दा खासै फाइदा हुन्छ जस्तो लाग्दैन ।’
दसैंलाई लक्षित गरी निकालिएका गीत वा ट्रेलर हेर्ने दर्शकको कम रुचिले पोखरेलको भनाइलाई पुष्टि गर्छ । कुनै समय दिनकै ५ लाखसम्म दर्शक पाउने गीतहरूले यो समयमा भने ५ लाख कटाउन निक्कै हम्मे परेको देख्न सकिन्छ ।
अरु त अरु बहुप्रतिक्षित भनेर प्रचार गरिएको आर्यन सिग्देल र रेखा थापाले अभिनय गरेको ‘रुद्रप्रिया’को गीतले समेत दुई दिनमा जम्मा ४० हजार दर्शक पाएको थियो । आर्यन र रेखा अभिनित गीतको बिजोग देखेपछि केही पत्रकारले सामाजिक सञ्जालमा नै रेखा र आर्यनलाई दर्शकले हेर्न नचाहेको हो भन्ने बहस चलाएका थिए ।
उता सौगात मल्ल अभिनित फिल्मका गीत र ट्रेलरको पनि त्यस्तै हालत देखिएको छ । उनी अभिनित गीत तथा ट्रेलरलाई ५ लाख कटाउन पनि धौ धौ परिरहेको छ । यता दयाहाङ राईको पनि हालत त्यस्तै छ । आइतबार मात्र उनको फिल्म ‘तान्द्रो’को ट्रेलर रिलिज भयो तर २४ घन्टामा ट्रेलर हेर्ने संख्या ५० हजार मात्र छ । जबकि दयाहाङ अनमोल केसीपछिका बिकाउ अभिनेता मानिन्छन् ।
प्रचारका लागि सही रणनीति बनाउन नसक्दा यस्तो अवस्था आएको बताउँछन् विश्लेषकहरू । ‘कुन समयमा कुन सामग्री कसरी सार्वजनिक गर्ने भन्ने रणनीति छैन । लहडको भरमा दसैं वा तिहार भनेर फिल्म सामग्री सार्वजनिक गर्दा फाइदा हुन्न,’ फिल्म समीक्षक यज्ञश भन्छन्, ‘लक्षित वर्ग कुन हो र त्यो सम्म कसरी पुग्ने भन्ने गृहकार्य गर्ने हो भने जुनसुकै समयमा पनि आफ्ना सामग्री रिलिज गर्दा हुन्छ ।’
 

प्रकाशित: ११ आश्विन २०७४ ०३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App