"

कौडीमा पनि मिल्किन्छ मणि

शुक्रबार, ०६ असोज २०७४, ०८ : ३२ युवराज गौतम


“अर्को विश्वयुद्ध हुन्छ, त्यो सभ्यताको रक्षाका लागि हुन्छ” भनेर ‘क्ल्यास् अफ सिभिलाइजेसन’ ग्रन्थमा स्यामुअल पी. हन्टिङटनले स्पष्ट लेखेका छन् । राजा वीरेन्द्रलाई हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध पढाउने ती अमेरिकी विद्वान्ले सन् १९९३ मा लेखेको सो पुस्तक साँच्चै प्रखर प्रामाणिक भविष्यवाणी जस्तो छ ।
प्रथम विश्वयुद्धपछि चीन, पूर्वी युरोपका पोल्यान्ड, हङ्गेरी, अल्बानिया, पूर्वी जर्मनी, चेकोस्लोभाकिया, रोमेनिया र रसियालगायतका राष्ट्रमा साम्यवाद फैलियो । द्वितीय विश्वयुद्धपछि पुँजीवाद र साम्यवादको द्वन्द्व चर्कियो । आज मुसलमान राष्ट्रहरू, पश्चिमी इसाई राष्ट्रहरू र चीनजस्तो महाशक्तिका लागि पुरातन सभ्यताको संरक्षण सर्वाधिक चिन्ताको विषय बनेको छ । कमजोर राष्ट्रहरू शक्ति राष्ट्रका पुजारी बनिरहेका छन् ।

कम्युनिस्टले देउता मान्दैन भनेर ईश्वरको नाममा शपथग्रहण नगर्ने बरू भैँसीपूजा गरेर आफूलाई महिषासुरसँग निकट देखाउने कतिपय पाखण्डी बाहुनहरूभन्दा राई, लिम्बू, गुरुङ, थकाली, मगर, थारू, तामाङ, नेवार आदिले आफ्नोपनप्रति गौरव गर्दै आएका छन् । आफ्ना संस्कृति, धर्म, परम्परा र सभ्यता बचाउँदै आएका छन् ।

फरिद जाकारिया, इलियट् कोहेन र फ्रान्सिस फुकुयामालगायतका लेखक, विश्लेषक र चिन्तकले विश्वको प्रत्येक कुनामा ‘आफ्नोपन’ (जरो) खोज्ने प्रवृत्ति बढेको विश्लेषण र संश्लेषण गरेका छन् । हुन पनि हो, आज नेपालका राईहरू ‘पाछा’ खोज्न थालेका छन् । झापा–मोरङका धिमाल र आसाम (भारत) निवासी बोडोहरूको सम्बन्ध खोज्न थालिएको छ । मेचे, कोचे, गनगाई (गणेश), ताजपुरिया, सतार, किसान, राजवंशी, हायु, चेपाङ, लिम्बू, राई, लेप्चा (लाप्चे), आठपहरिया, थामी, जिरेल, शेर्पा, सुरेल, नेवार, तामाङ, मगर, थकाली, थारु, यादव, मुसहर, वनकरिया, ब्यासी, बोटे, मुसलमान, ब्राह्मण, क्षत्री लगायत सयौँ जातजातिको साझा फूलबारी नेपाल एउटा विशाल संग्रहालय जस्तो छ । त्यसैले यो एउटा खुला विश्वविद्यालय हो । संसारका धेरै विद्वान् विदूषीहरू प्राचीन सभ्यताको खोजी गर्न नेपाल आउने गरेका छन् ।
शिक्षित लिम्बूहरू पनि फेदङ्बा, माङ्बा, येबा र साम्बाको सल्लाह लिन थालेका छन् । राणाकाल र त्यसपछिका धेरै वर्षसम्म ‘सुब्बा’ रहेका चेतनशील लिम्बूका सन्ततिहरू आङ्बुहाङ्, थेबे, थेगिम, थाङ्देन, कन्दङ्बा, जबेगु, लिङ्देन, फोम्बो, तुम्बाहाङ्फे, माबुहाङ्, फागो, लावती, साँबा, खापुङ्, चेम्जोङ्, नेम्बाङ्, इसिबु, मेयाङ्बो र पालुङ्वालगायतका  एकसयभन्दा धेरै थरका छन् । ‘तागेरानिङ्बाफुमा’ ती सबैका परमात्मा हुन् तर पछिल्ला केही वर्षमा लिम्बू गाउँहरूमा विदेशी धर्मको नाममा प्रेतात्मा पस्न थालेको देखिन्छ । महादेव–पार्वतीलाई पारुहाङ–सुम्निमाका रूपमा पूजा गर्ने किराँती सम्प्रदायदेखि लिएर प्रभातमा कञ्चनजंघा र कुम्भकर्ण हिमालतिर ढोगेर कर्म सुरु गर्ने अनि हाक्पारे–पालाममा रमाउने लिम्बू समाजमा मुन्धुमलाई बाइबलले घोडा चढ्न थालेको छ । सभ्यतामाथि हमला हुन थालेको छ ।
सीमित मानिस विचलित हुँदैमा समाज भाँडिदैन । तर जान्नेसुन्नेहरू उल्टो बाटो हिँडे भने अवश्य पनि पथभ्रष्ट हुन्छ । वनदेवता ‘ताम्फुङ्मा’ र क्रोध शान्त गरिदिने देवता ‘नाहेन’देखि गृहदेव, अग्निवेद, युमासामाङ, थेवासामाङका कथा प्राचीन ग्रीक सभ्यताका मिथकभन्दा रोचक छन् ।
धर्म–संस्कृतिमा धनी छन् नेपालीहरू । कम्युनिस्टले देउता मान्दैन भनेर ईश्वरको नाममा शपथग्रहण नगर्ने बरु भैँसीपूजा गरेर आफूलाई महिषासुरसँग निकट देखाउने कतिपय पाखण्डी बाहुनहरूभन्दा राई, लिम्बू, गुरुङ, थकाली, मगर, थारु, तामाङ, नेवार, आदिले आफ्नोपनप्रति गौरव गर्दै आएका छन् । आफ्ना संस्कृति, धर्म, परम्परा र सभ्यता बचाउँदै आएका छन् । त्यसैले उनीहरू सचेत रहे भने प्राचीन सभ्यता जोगिन सक्छ । त्यसको संरक्षण, संवद्र्धन र सम्पोषण हुन सक्छ । नत्र सभ्यता निर्मूल हुँदै जाँदा राष्ट्रसमेत निर्जीव बन्छ ।
पुतलीले जिब्रोले होइन, खुट्टाले स्वाद चाख्छ । डल्फिन एउटा आँखा चिम्लेर निदाउँछ । कंगारु पछिपछि सर्न जान्दैन । पछाडि जानु प¥यो भने फनक्क फर्केर मात्र अघि बढ्छ । सबैका आआफ्ना विशेषता र चरित्र छन् । यत्रतत्रसर्वत्र देखिने मात्र सत्य हुँदैन । त्यसो हुँदो हो त पानीमा तैरिने (देखिने) लास ‘सत्य’ हुन्थ्यो । ज्युँदो मान्छे पौडिन सकेन भने डुब्छ । लास भएपछि मात्र देखिन्छ पानीमा । त्यसैले जताततै देखिने र भेटिनेहरू मात्र सत्य होइनन् । ढुंगा नदी किनारमा देखिन्छ । मोती समुद्रको पिँधमा हुन्छ, देखिँदैन । ढुंगा मूल्यवान् हो कि मोती ? भनिरहन परोइन ।
ज्योतिषीमा धेरै विश्वास गर्ने हिटलर शुद्ध शाकाहारी थिए । रक्सी, माछामासु, अन्डा केही नखाने र आफूलाई विशुद्ध आर्य भन्ने हिटलर साइत हेराएर मात्र काम गर्थे । यो कुरा चाल पाएपछि ब्रिटिस गुप्तचरहरू ज्योतिषी भएर हिटलरका घरमा पुगे । हिउँ पर्ने मौसममा मस्कोमा हमला गर्दा विजय हुन्छ भन्ने गलत सल्लाह दिए । फलतः हजारौँ जर्मन सैनिक चिसो मौसमकै कारणले मरे । आफैले सही निर्णय नगरी अर्काको गलत सल्लाह मान्दा शासकहरूको पतन हुन्छ भन्ने यो सानो उदाहरण हो ।
यो पंक्तिकार सन् २००५ मा पाकिस्तान जाँदा त्यहाँका पञ्जाव प्रान्तमा पर्ने प्राचीन तक्षशिला भ्रमण गर्ने अवसर मिलेको थियो । त्यहाँ बुुद्धकालीन अभिलेख र मूर्तिहरू सुरक्षित छन् । भारतको बिहारमा पर्ने नालन्दा र हाल पाकिस्तानमा रहेको तक्षशिला आफ्ना युगका ज्ञान र सभ्यताका केन्द्र थिए । हजारौँ वर्षदेखि पुष्पित र पल्लवित पूर्वीय सभ्यता अनुपम छ । जर्मन लेखक होल्गरले जिसस क्राइस्टले गंगा, यमुना र सिन्धु नदीका वरपर तथा हिमालयका काखमा नै धेरै कुरा सिकेको उल्लेख गरेका छन् । ‘क्राइस्ट इन् इन्डिया’ ग्रन्थमा सनातन धर्म संस्कृतिबाट क्राइस्ट ओतप्रोत भएको उल्लेख छ । हामी हाम्रै सभ्यतालाई आज उपेक्षा गरिरहेका छौँ ।
साहित्यकार मदनमणि दीक्षितले “लुटपाट गरेर आफ्ना निम्ति बटुल्ने, भोजन गर्ने” विद्याको चर्चा गरेका छन् –“त्यो युग” पुस्तकमा । त्यसलाई ‘संवर्ग विद्या’ भनिएको छ । नेपाली राजनीति, आज त्यही संवर्ग विद्याले चलेको देखिन्छ । राष्ट्र, समाज र जनता बिर्सेर आफ्नो पेट पाल्ने राजनीतिलाई ‘जनताको शासन’ भनिएको छ । दीक्षितले ‘हिन्दु जीवन र सभ्यताको स्रोत’ शीर्षकको खोजपूर्ण लेखमा लेनिनग्राद पुरातत्व इन्स्टिच्युटका डा. शेतेन्कोले नेपालमा दुई लाख वर्ष पुराना ढुंगे औजारहरू फेला पारेको चर्चा गरेका छन् । हिमालयको काखमा अवस्थित हिमवत्खण्डको सभ्यता कति पुरानो रहेछ भनेर भूगर्भशास्त्रीदेखि मानवशास्त्री र समाजशास्त्रीहरूले धेरै गहिरो अनुसन्धान वा गवेषणा गर्नुपर्ने विद्वान्हरूको तर्क छ ।
कविशिरोमणि पं. लेखनाथ पौड्यालले ‘नैतिक दृष्टान्त’ कवितामा लेखेका छन्, “गुणग्राही जहाँ छैन्, त्यहाँ के गर्ला गुणी, कौडीमा पनि मिल्किन्छ भिल्लका देशमा मणि ।” सत्य यही हो । इतिहास, संस्कृति, साहित्य, धर्म र प्राचीन गाथाहरूबाट टाढा राखेर छोराछोरीलाई पश्चिमाहरूका आज्ञाकारी बनाउने विद्या (??) लाई नेपालका हजारौँ स्कुल–कलेजहरूले व्यापार बनाएका छन् । सभ्यताका रक्षक होइन, भक्षक पैदा गर्ने शिक्षाले लाखाँैको पेट भरिएला तर दिमाग शून्य बन्दै जान्छ । त्यहीबाट सुरु हुन्छ, सभ्यताको पतन ।
योगी नरहरिनाथले पचहत्तर जिल्ला पैदल घुमेर धर्मसंस्कृति र इतिहासको अन्वेषण गरे । उनी लेख्छन्, “स्वदेश देखेर विदेश देखौँ, स्वदेश लेखेर विदेश लेखौँ ।” टोपी फ्याँकेर टाई झुन्ड्याउँदा सभ्य ठान्ने, धोती च्यातेर रुमाल बनाउने, गोराका पछिपछि चमर हम्केर युरो–डलरका लागि दौडिँदा आफूलाई अमर ठान्ने जनशक्ति मात्र पैदा हुँदै गयो भने हजारौँ वर्ष पुरानो इतिहास भएको नेपाल राष्ट्र एकदिन अस्तित्वविहीन बन्न सक्छ । परतन्त्र, परजीवी र पराधीनहरूले मानव अधिकार र स्वतन्त्र तिब्बत भन्दै पश्चिमाहरूको हली–गोठालो भएझैँ आफूलाई अतिनूतन नरवानर (प्लिओपिथेकस्) ठान्ने अन्धभक्तहरू राष्ट्रभन्दा ठूलो अरू नै छ भन्ने ठान्छन् भने त्यो सबैभन्दा ठूलो मूर्खता हो । किनभने कुनै पनि जात, धर्म, समाज र राष्ट्र कर्तव्यनिरपेक्ष, दायित्वनिरपेक्ष, चेतनानिरपेक्ष र धर्मनिरपेक्ष हुँदैन । पापनिरपेक्ष हुनसक्छ । श्रापनिरपेक्ष हुन सक्छ । अभिमाननिरपेक्ष हुनसक्छ तर स्वाभिमान निरपेक्ष हुँदैन ।
फरेन पोलिसी एसोसिएसनद्वारा प्रकाशित पत्रिकामा पाकिस्तानी विश्लेषक बिलाल कुरेसीले लेखे, ‘अफगानिस्तान र पाकिस्तानका जनतालाई दुःख दिइरहेका तालिवानहरू साम्राज्यवादी र विस्तारवादीका हतियार तथा पैसाले चलेका छन् तर बद्नाम बन्दैछ इस्लाम धर्म ।’ माओको बिल्ला लगाउने इसाई फौजले नेपालमा त्यही ग¥यो । माओले महेन्द्रलाई आजीवन साथी ठाने । नेपाल दरबार साम्राज्यवाद र विस्तारवादको विरोधी हो भन्ने माओ, चाउ–एन–लाई र देङ् स्याओ पिङलगायतका नेताको धारणा थियो । त्यसैले चीनमा कम्युनिस्ट शासन भए पनि त्यहाँका शासकहरूले नेपाल दरबारसँग सुमधुर सम्बन्ध राखे । तर नेपालका माओवादी माओ विचारधारामा होइन, युरो डलर र भारुमा बग्दै गए । त्यसैले नेपालका बारेमा माओको नीति आत्मसात् गर्ने प्रयत्न समेत गरेनन् । नयाँ जोगीको बाक्लो खरानी भनेझैँ पश्चिमा र भारतीयहरूको प्रभावमा परेर माओवादीले राजतन्त्रविरोधी आन्दोलन चलाए । त्यो माओ विचारको प्रतिकूल थियो ।
राजनीतिक अस्थिरता, कूटनीतिक अन्यौल, परमुखापेक्षी प्रवृत्ति, पराधीन चरित्र तथा सत्ताको प्रदक्षिणामा रमाएका छन् दलहरू । भारतको युपी र बिहारतिरका केही गुन्डाले ससाना केटाकेटी अपहरण गरी आँखा फुटाइदिने, हातखुट्टा भाँचिदिने र अपाङ्ग बनाएर भीख माग्न पठाएझैँ नेपालका नेताहरूले जनतालाई दरिद्र बनाएर उनीहरूका नाममा विदेशी सहायता लिने र आफू मोज गर्ने गरिरहेका छन् । त्यस्तो भीखमा मोजमज्जा गर्छन् सत्तासीनहरू । लाखौ नेपाली युवकयुवतीले विदेशबाट पठाएको रकमबाट प्राप्त कर तथा नेपालमा परिश्रम गर्नेहरूबाट प्राप्त अर्बौं रुपियाँ राजनीतिज्ञ, सांसद, मन्त्रीलगायतका हजारौँको भरणपोषणमा त्यसरी नै खर्च भइरहेको छ । राष्ट्रलाई पतनतिर धकेलेर गर्व गर्नेहरू नै प्रबल र गौरवान्वित देखिएका छन् । यो अवस्था युगप्रति नै व्यंग्य हो । इतिहासको अपमान हो । क्रान्तिको नाममा धोका हो र राजनीतिका नाममा निर्मम ठट्टा ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘महिलाका यौन इच्छाका बारे बोल्नु अपराध हो?’

‘महिलाका यौन इच्छाका बारे बोल्नु अपराध हो?’

बलिउड अभिनेत्री स्वरा भास्कर हालसालै ‘वीरे दि वेडिङ’को एक दृश्यका कारण ट्रोलको सिकार बनिन्। ...

अनमोल केसी पर्यटन प्रबद्र्धनमा

अनमोल केसी पर्यटन प्रबद्र्धनमा

नायक अनमोल केसी आफू अभिनित फिल्मको प्रमोसन र रिलिजपछि हलमा दर्शकसँग भेट्न बाहेक अन्य समयमा कहाँ के गर्दैछन् भन्ने उनको...

एकसाथ ‘प्रणय’ र ‘अतिरिक्त’

एकसाथ ‘प्रणय’ र ‘अतिरिक्त’

साहित्यकार डा. डिआर उपाध्यायको उपन्यास ‘अतिरिक्त’ र एल्बम ‘प्रणय’ एकसाथ सार्वजनिक भएको छ। ...

फूलमानको ‘इन्द्रेणीको गीत’ उत्कृष्ट

फूलमानको ‘इन्द्रेणीको गीत’ उत्कृष्ट

पत्रकार तथा कवि फूलमान बलको कविता ‘इन्द्रेणीको गीत’ नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सव’मा उत्कृष्ट बनेको छ। ...