८ वैशाख २०८१ शनिबार
नागरिक खोज

खड्का हटाउने प्रस्ताव आज मन्त्रिपरिषदमा

काठमाडौं – करिब डेढ अर्ब रुपैयाँ अनियमितताको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गर्ने प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकमा पेस हुने भएको छ । संसदीय समिति र मन्त्रालयको अध्ययनबाट इन्धन भण्डारणका लागि भैरहवा, चितवन, झापा र सर्लाहीमा करिब चार गुणा बढी मूल्य तिरेर अनियमितता गरेको विभिन्न अनुसन्धान प्रतिवेदनले पुष्टि गरेपछि सरकार खड्कालाई कारबाही गर्ने अन्तिम निष्कर्षमा पुगेको हो ।
जग्गा खरिदमा अनियमितता भएको भेटिएपछि खड्कालाई बर्खास्त गर्ने अजेन्डा सोमबारको मन्त्रिपरिषद् बैठकमा पेस हुने आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए । ‘अनियमितता भएको ठहरपछि पदमुक्त गर्ने निर्णयमा पुगेका छौं,’ मन्त्री मण्डलले आइतबार साँझ नागरिकसँग भने, ‘सोमबारको क्याबिनेटले अन्तिम निर्णय गर्छ ।’

जग्गा खरिदमा अनियमितताबारे छानबिन गर्न मन्त्रालयले गठन गरेको समितिले कारबाही गर्न सिफारिस गरेको थियो । कारबाहीको प्रस्ताव मन्त्री मण्डलले मन्त्रिपरिषद्मा लैजाने मन्त्रालयका निमित्त सचिव मुकुन्द पौड्यालले पनि पुष्टि गरे । ‘विभिन्न अध्ययनका आधारमा कारबाही गर्ने तयारी भएको छ,’ पौड्यालले भने, ‘मन्त्रीज्यूले प्रस्ताव लैजानुहुन्छ ।’
मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले कारबाही गर्न सक्ने प्रावधानसहितको प्रतिवेदन तयार गरेका थिए । खड्कामाथि कारबाहीको प्रस्ताव ल्याउन यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवाले आपूर्तिमन्त्रीलाई निर्देशन दिइसकेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए ।

‘अनियमितता भएको ठहरपछि पदमुक्त गर्ने निर्णयमा पुगेका छौं । सोमबारको क्याबिनेटले अन्तिम निर्णय गर्छ ।’
शिवकुमार मण्डल, आपूर्तिमन्त्री

आयल निगम जग्गा खरिद घोटालाको समाचार नागरिक दैनिकले गत साउन २ गते प्रकाशित गरेको थियो । त्यसपछि संसद्का पाँचवटा समितिले यो विषयमा छुट्टाछुट्टै अध्ययन गरी विद्यमान ऐनकानुनसमेत मिचेर अनियमितता भएको प्रतिवेदन तयार गरिसकेका छन् । 

चार ठाउँको जग्गा खरिदमा करिब २ अर्ब २३ करोड रुपैयाँ खर्च भएको छ । बिचौलियासँगको सेटिङमा जग्गा खरिद गर्दा जग्गाधनीले ५५ करोड ७५ लाख रुपैयाँमात्र पाएको प्रतिवेदन संसदीय समितिले तयार गरेका छन् । यसलाई आधार मान्दा करिब एक अर्ब ६७ करोड रुपैयाँ बिचौलियासँग मिलेर घोटाला गरेको देखिन्छ । 

कारबाही गर्न वाइसिएलको माग
यसैबीच नेकपा माओवादी केन्द्रका भ्रातृ संगठन वाइसिएल र अनेरास्ववियु क्रान्तिकारीले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाहीको माग गरेका छन् । 

इन्धन भण्डारणका लागि जग्गा खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटालाको आरोप लागेका खड्कालाई  तत्काल निलम्बन गरी कानुनी कारबाही गर्न माग गर्दै वाइसिएलले आपूर्तिमन्त्री शिवकुमार मण्डललाई आइतबार ज्ञापनपत्र बुझाएको छ । 
‘सरकारी र सार्वजनिक संस्थानमा समेत पछिल्लो समय दुबो झै मौलाएको भ्रष्टाचारप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’, ज्ञापनपत्रमा उल्लेख छ, ‘यसै सन्दर्भमा नेपाल आयल निगमका निर्णय र भ्रष्टाचारजन्य गतिविधि, निगम प्रमुखको स्वेच्छाचारी निर्णय प्रक्रिया, राष्ट्रिय सञ्चार माध्यममा आएका समाचार, तथ्य तथा नेपाली जनसमुदायले निगमप्रति उठाएका प्रश्न सही भएको निष्कर्षमा हाम्रो संगठन वाइसिएल पुगेको छ ।’ वाइसिएलले खड्कासहित निर्णय प्रक्रियामा संलग्न सम्पूर्ण कर्मचारीलाई तुरुन्त निलम्बन गरी कानुनी कारबाही थाल्न आपूर्तिमन्त्रीलाई आग्रह गरेको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री मण्डलले खड्कालाई कारबाही गर्ने प्रतिबद्धता जनाए । 

अनेरास्ववियु क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले पनि खड्कालाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित: २ आश्विन २०७४ ०१:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App