७ वैशाख २०८१ शुक्रबार
समाज

फेसबुकले दिलायो फूलकुमारीलाई नयाँ जीवन

सुरेन्द्र भण्डारी

सुरुङ्गा (झापा)—सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग भइरहेका बेला केहीले भने यसलाई समाज सेवाको माध्यम बनाएका छन्।  बाह्रदशी गाउँपालिका–७ निवासी आर्थिकरुपले अति विपन्न एक क्यान्सर पीडित युवतीलाई उपचारका लागि खर्च जुटाएर रोग मुक्त गराउने सोही ठाउँका टोम राजवंशीसहित तुलसीप्रसाद राजवंशी, गोपालचन्द्र राजवंशी, कुवित राजवंशी र श्याम राजवंशी समाजका उदाहरणीय पात्र बनेका छन्।

छोरीको जीवन बचाइदिन आग्रह गर्दै फूलकुमारीका बुबा शेषलालले हारगुहार गरेपछि राजवंशी समाज विकास समितिका पूर्वअध्यक्षसमेत रहनुभएका टोमले युवाको सक्रियतामा सामाजिक सञ्जालमार्फत ‘फूलकुमारी बचाउ अभियान’ चलाएका थिए।

आन्द्रामा क्यान्सर भएर आर्थिक अभावले मृत्युसँग छटपटाइरहेकी फूलकुमारी राजवंशीको उपचारका लागि उनीहरुले रकम जुटाएर सहयोग गरेका हुन्। फूलकुमारीको उपचारका लागि फेसबुकबाटै रु दुई लाख ४० हजार संकलन भएपछि सोही रकमबाट उनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भएको थियो। उपचारपछि फूलकुमारीले नयाँ जीवन पाएकी छन्।

छोरीको जीवन बचाइदिन आग्रह गर्दै फूलकुमारीका बुबा शेषलालले हारगुहार गरेपछि राजवंशी समाज विकास समितिका पूर्वअध्यक्षसमेत रहनुभएका टोमले युवाको सक्रियतामा सामाजिक सञ्जालमार्फत ‘फूलकुमारी बचाउ अभियान’ चलाएका थिए।

सो अभियानबाट जुटेको रकमबाट उपचार गराइएपछि उनले नयाँ जीवन पाएकी हुन्। उनको उपचारका लागि नेपाल तथा विदेशमा रहेका नेपालीले नबिल बैंकको २११००१७५०३६४० नम्बरको खाता रकम उपलब्ध गराएका थिए। सहयोग पाएपछि क्यान्सरको शल्यक्रिया गरेर सञ्चो भएपछि अहिले उनलाई घरमा ल्याइएको छ । सबैको सहयोगमा नयाँ जीवन पाएपछि फूलकुमारीका वुबा–आमा मात्र होइन अहिले डाँगीबारीवासी हर्षित छन्। सबैको स–सानो सहयोगले पनि क्यान्सरजस्तो रोग निको भएर र छोरीले नयाँ जीवन पाएको भन्दै उनका बुबा शेषलालले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

सामाजिक कार्य गर्न रुचाउने टोमले यसअघि पनि आर्थिकरूपले अति विपन्न परिवारका लागि सहयोग गर्दै आएका थिए। राजवंशीले फेसबुकमार्फत चलाएको अभियानका कारण आफ्नो विद्यार्थीले नयाँ जीवन पाएको भन्दै गौरीशंकर माविका प्रधानाध्यापक लेखनाथ कटुवालले अभियानकर्तालाई धन्यवाद दिए। 'छोरीको जीवन बचाइदिन हारगुहार गर्दै फूलकुमारीका बुबा हामीकहाँ सहयोग माग्न आउनुभएको थियो, हाम्रो एक्लो प्रयासले मात्र यो सम्भव थिएन तर अहिले उनी जाती भएर घर आएको सुन्दा हामीमा खुशीको सीमा नै रहेन”, प्रधानाध्यापक कटुवालले भने।

प्रकाशित: २८ भाद्र २०७४ ०८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App