८ वैशाख २०८१ शनिबार
समाज

१ लाखको कोष खोल्ने सहमतिपछि सुत्केरीको शव उठ्यो

उदयपुर – डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै लास जिम्मा नलिएपछि २ दिनदेखि अस्पतालमै रहेको सुत्केरी महिलाको शव १ लाख रुपैयाँको कोष खडा गर्ने सहमतिपछि पीडितपक्षले जिम्मा लिएका छन् । पीडितपक्ष र अस्पतालबीच २ दिनसम्म भएको ३ चरणको वार्तामा मृतकका बालबालिकाको शिक्षादिक्षा र पालनपोषणका लागि १ लाखको कोष तत्काल स्थापना गर्ने सहमतिपछि सोमबार विहानदेखि अस्पतालमै रहेको लास आफन्तले मंगलबार साँझ बुझेका हुन्। 

जिल्ला प्रशासन कार्यालय उदयपुरमा भएको सर्वपक्षीय बैठकले कोषको स्थापना गर्ने निर्णय गरेपछि विवाद समाधान भएको हो । जिल्ला अस्पताल उदयपुरमा प्रसुती गराउन ल्याइएकी चौदण्डीगढी नगरपालिका ९ भिमा दनुवारबस्तीकी ३८ वर्षीया रामकुमारी दनुवारको उपचारको क्रममा मृत्यु भएको थियो । सुत्केरी व्यथाले च्यापेर आइतबार राती जिल्ला अस्पताल ल्याइएकी रामकुमारीको प्रसुती गराउने क्रममा सोमबार विहान ९बजे मृत्यु भएको थियो। 

आफन्तले सामान्य अवस्थामा रहेकी सुत्केरीको मृत्यु हुनुमा स्वास्थ्यकर्मीको लापरबाही भएको भन्दै अस्पताल घेराउ गरेका थिए । दोषीमाथि कानुनी कारबाही हुनुपर्ने, टुहुरा बालबालिकाको भविष्य सुरक्षित हुनुपर्ने भन्दै अन्यथा लास नउठाउने अडान आफन्तले लिएपछि ३ चरणसम्म वार्ता भएको थियो । सोमबार मध्यान्हदेखि सुरु वार्ता मंगलबार साँझ मात्र सहमतिमा पुगेपछि आफन्त लास उठाउन सहमत भएको अस्पतालले जनाएको छ। 

मृतक दनुवारका ३ बालबच्चाको पालनपोषण र शिक्षादिक्षामा सहयोग पुगोस् भनेर तत्काल १ लाख रुपैयाँको कोष स्थापना गर्ने र विस्तारै कोषको वृद्धि गर्ने सहमति भएको निर्णय भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. फनिन्द्र बरालले बताए । उनका अनुसार सो कोषमा ५ दिनभित्र रकम जम्मा गरिसक्ने र थप सहयोग रकम सङकलन गर्दै जाने सहमति बैठकले गरेको छ। 

मृतकका श्रीमान् गंगाबहादुर दनुवारले कोषको खाता बच्चाको नाममा खोल्ने सहमति भएको बताए । रकम सङ्कलन समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कुमार खड्का, कोष तथा नियन्त्रक कार्यालयका १ अधिकृत र सामाजिक कार्यकर्ता सुजना दनुवार रहने गरी एक समिति गठन गरिएको छ । मृतक दनुवारका ३ छोरीहरु रहेको बताइएको छ। 

उदयपुर अस्पतालमा यसअघि पनि सुत्केरी गराउन ल्याइएका २ महिलाको मृत्यु भएको थियो । त्यसबेला पनि आफन्तले चिकित्सक उपर गाली गलौज र क्षतिपूर्ति माग गरेर अस्पताल घेराउ गरेका थिए। दोस्रो पटक सुत्केरीको मृत्यु प्रकरणमा विवाद चर्केपछि तत्कालीन प्रसुती विशेषज्ञ डाक्टर डिएल यादवले एकवर्षअघि अस्पतालबाट जागिर छाडेर निजी अस्पताल सञ्चालन गर्दै आएका छन् । 

प्रकाशित: २८ भाद्र २०७४ ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App