८ वैशाख २०८१ शनिबार
अर्थ

मजदुर आन्दोलनको चपेटामा फूलबारी रिसोर्ट

पोखरा- मजदुर आन्दोलनको चपेटामा परेको पाँचतारे फूलबारी रिसोर्ट व्यवस्थापनले कार्यरत सबै कर्मचारीलाई बिदा गरेको छ । कर्मचारी बिदाइ गर्दै व्यवस्थापनले केही महिनाका लागि पूर्ण रूपमा रिसोर्ट बन्द गरेको हो । आन्दोलनरत मजदुरका माग सल्टाउन नसकेपछि गत फागुन मध्यदेखि रिसोर्ट बन्द थियो।

आन्दोलनरत मजदुर र व्यवस्थापनबीच सहमति नजुट्दा रिसोर्ट सञ्चालनमै नआई बन्द भएको हो । पोखराको पहिचानका रूपमा रहेको रिसोर्ट महिनौंदेखि बन्द हुँदा त्यहाँ कार्यरत सबै एक सय १७ कर्मचारी गत शनिबारदेखि बेरोजगार बनेका छन् । अखिल नेपाल होटल तथा रेस्टुरेन्ट मजदुर संघ फूलबारी एकाइ उपाध्यक्ष नवराज गिरीले मजदुरका माग पूरा गर्न व्यवस्थापन तयार नभएपछि बाध्य भएर पाउनुपर्ने सबै सुविधा लिएर रिसोर्ट छाडेको बताए। ‘कार्यरत सबै एक सय १७ जना कर्मचारी बिदा भएका छन् । अब रिसोर्टमा कोही कर्मचारी छैनन्,’ उनले भने, ‘रेखदेखका लागि व्यवस्थापनका केही पदाधिकारी रहे पनि रिसोर्ट सञ्चालन गर्न कोही छैनन् ।’

व्यवस्थापनले सबै कर्मचारीलाई दिनुपर्ने सबै सुविधा दिएर बिदा गरेको उनले बताए । ‘बन्द भएको अवधिको समेत आधारभूत तलब सहित दिनुपर्ने बाँकी सबै रकम दिएर व्यवस्थापनले हामीलाई बिदाइ गरेको हो,’ गिरीले भने, ‘हामीले रिसोर्टबाट पाउनुपर्ने सबैजसो सुविधा पाएका छौं । त्यसमा हाम्रो कुनै गुनासो छैन ।’

रिसोर्ट बन्द हुँदाको बेला काम नगरेको समयको समेत तलब पाएपछि सबै मजदुर रिसोर्टको सुविधा लिएर छाड्न तयार भएको उनले बताए । ‘४० प्रतिशत तत्काल र ६० प्रतिशत रकम दुई महिनामा झिक्न मिल्ने गरी बैंकको चेक दिएको छ,’ उनले भने, ‘हामीले पाउनुपर्ने सबै सुविधा हिसाबकिताब गरेर पायौं ।’ मासिक पारिश्रमिकसहित सामाजिक सुरक्षा कोष, सञ्चय कोषको रकम सबै पाएको उनले बताए ।

रिसोर्ट कहिले खुल्ने र पुराना कर्मचारीलाई पुनः बोलाउन वा नबोलाउनेबारे केही सहमति नभएको पनि उनले बताए । ‘तत्कालका लागि त व्यवस्थापनले रिसोर्ट बन्द नै गरेको हो । आधिकारिक रूपमै बन्द ग¥यौं भनेर व्यवस्थापनले हामीसँग भनेका छन्,’ उनले भने, ‘धेरै कर्मचारीले रोजगारी गुमाएका छन् ।’

रिसोर्टका महाप्रबन्धक समीर कपिलले लामो समय रिसोर्ट बन्द भएको र कामदारका माग पूरा गर्न नसक्ने अवस्था आएपछि कार्यरत सबैलाई बिदा गरेको बताए । ‘मजदुरका माग पूरा गर्न व्यवस्थापनले भरमग्दुर प्रयास गरेको हो,’ कपिलले भने, ‘तर कामदार सहमतिमा आउन चाहेनन् । बारम्बार वार्ता भए पनि सहमति नभएपछि सधैंका लागि कामदार बिदा गरेका हौं ।’ उनले बन्द रहेको ६ महिनाको न्यूनतम मासिक पारिश्रमिक समेत दिएर कामदारलाई बिदा गरेको बताए । ‘पहिलो किस्तामा ४० र दोस्रोपटक ६० प्रतिशत रकम पाउने गरी कार्यरत सबै कामदारले पाउनुपर्ने रकम पाएका छन्,’ उनले भने, ‘वार्ता नमिलेपछि पाउनुपर्ने रकम लिएर छाड्न कामदार सहमत भए । अनि व्यवस्थापन पनि उनीहरूलाई दिनुपर्ने सबै रकम दिन तयार भयो ।’

सबै एक सय १७ कर्मचारी बिदा गर्दा ३ करोड रूपैयाँ तिर्नुपरेको उनले बताए । कर्मचारी र व्यवस्थापनबीच विश्वासको वातावरण नहुँदा समहति नजुटेको उनले बताए । ‘कामदार र व्यवस्थापन दुवै पक्षकै जित भएको हो,’ उनले भने, ‘पाउनुपर्ने पैसा पाए सबै कामदार रिसोर्ट छाड्न तयार भए । त्यही भएर व्यवस्थापनले काम नगर्दाको अवधिको पनि तलब दिएको छ । पुराना सबै कर्मचारीसँगको सम्बन्ध सकिएको छ ।’ महाप्रबन्धक कपिलले अझै दुई महिना रिसोर्टमा कुनै काम नहुने बताए । ‘मर्मतसम्भारको काम हुन सक्छ । तर, तत्काल पाहुना राख्दैनांै,’ उनले भने ।

मर्मतसम्भार सकेर आगामी नोभेम्बर वा डिसेम्बरमा रिसोर्ट सञ्चालन गर्ने व्यवस्थापनको लक्ष्य रहेको उनले बताए । ‘रिसोर्ट सञ्चालनमा ल्याउँन पनि कम्तीमा दुई सय कर्मचारी चाहिन्छ, कुनै बेला ५ सय कार्यरत रहेको रिसोर्ट २–४ जनाको भरमा खुल्ने होइन,’ उनले भने ।

पोखराको गहनाका रूपमा रहेको पाँचतारे रिसोर्ट बन्द हुँदा त्यसले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जाने उनले बताए । ‘पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । पोखरामा फूलबारी जस्ता अरु पाँचतारे होटल चाहिन्छ,’ उनले भने, ‘तर भएको होटल पनि बन्द भएको छ । यसले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालबारे नराम्रो सन्देश जानेछ ।’ विदेशी लगानी भिœयाउनुपर्ने बेला भएका पूर्वाधार पनि बन्द गनुपर्ने अवस्था आउनु दुःखदायी रहेको उनले बताए ।

रिसोर्ट बन्द हुनुअघि कार्यरत कर्मचारी रिसोर्टमा आउने र हाजिर गरेर फर्किने मात्र गरेका थिए । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन ठूलो रिसोर्ट बन्द हुँदा त्यसले पोखराको पर्यटन क्षेत्रको नराम्रो सन्देश गएको बताउँछन् । ‘सकेसम्म रिसोर्ट बन्द नभएको भए हुन्थ्यो,’ उनले भने, ‘लामो समय काम नपाउँदा कर्मचारी बाहिरिन पनि चाहेका थिए ।’ लामो समय बन्द हुँदा त्यसले नकारात्मक असर पार्ने उनले बताए । ‘सबै कर्मचारीलाई बिदा गर्नुको साटो केही राखेर बन्द नभएको देखाउन सकेको भए राम्रो हुन्थ्यो,’ तुलाचनले भने, ‘त्यसले पनि समस्या समाधान नहुन सक्थ्यो ।’ पोखराको पर्यटन क्षेत्रका लागि पाँचतारे रिसोर्ट बन्द हुनु सुखद नभएको बताए । 

१९९८ मा सुरु भएको यो रिसोर्टमा करिब तीन अर्ब रूपैयाँ लगानी गरिएको छ । एक सय ६५ कोठा रहेको रिसोर्टमा एक रातको सबैभन्दा कम एक सय र सर्वाधिक तीन सय अमेरिकी डलर शुल्क पर्छ । दुई सय नौ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टसँग एक सय ४० रोपनी क्षेत्रफलको गल्फ मैदान छ ।

 

 

 

 

 

प्रकाशित: २८ भाद्र २०७४ ०४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App