७ वैशाख २०८१ शुक्रबार
अर्थ

आजबाट दसैंका लागि नयाँ नोट साटिँदै

काठमाडौं- दसैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म नयाँ नोट साटिने व्यवस्था मिलाइएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले मंगलबार नागरिकलाई बताए ।

‘बैंकिङ समय (आवर) मा नयाँ नोट साटिने छ,’ उनले भने, ‘राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट र अन्य तीन सरकारी स्वामित्वका वाणिज्य बैंकबाट नयाँ नोट सोही समयमा साटिदिने व्यवस्था मिलाइएको छ ।’

दसैंका लागि ४० अर्ब रुपैयाँ बराबराका नयाँ नोट वितरण गर्ने योजना रहेको राष्ट्र बैंकको भनाइ छ । ‘गत वर्षको दसैंमा ३२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटिएको थियो,’ प्रवत्ता पौडेलले भने, ‘यसपालीको दसैंमा ३० देखि ४० रुपैयाँ बराबरका नयाँ नोट साटिने अनुमान गरिएको छ ।’

‘राष्ट्र बैंकको थापाथलीबाट प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्म साटिने छ,’ उनले भने, ‘नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ शाखा कार्यालयबाट पनि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको छ । उक्त ठाउँबाट नोट साट्दा प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म साट्न सकिनेछ ।’

केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट भएको छ । ‘सर्वसााधारण नागरिकले सहज रुपमा नयाँ नोट सटही गर्न सकुन् भन्ने उद्देश्यले राष्ट्र बैंकको थापाथलीबाहेक अन्य तीन बैंकका शाखाबाट पनि साट्ने पाउने व्यवस्था मिलाएको हो,’ प्रवक्ता पौडेलले भने, ‘यसले गर्दा विगतमा जस्तो भीडभाड हुने अवस्था छैन ।’

नेपाल बैंकका न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर कार्यालय, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार र नक्साल शाखाबाट र कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । उक्त ठाउँबाट नोट साट्दा प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म साट्न सकिनेछ ।

यता, संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य संघ–संस्था लगायत कार्यालयलाई भने सम्बन्धित संस्थाको पत्रको आधारमा मुद्रा व्यवस्थापन विभाग थापाथलीको काउन्टरबाट शुक्रबारसम्म नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकको भनाइ छ ।

उपत्यकाबाहिरका राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकको भनाइ छ । ‘राष्ट्र बैंकका उपत्यकाबाहिरका कार्यालय र राष्ट्र बैंक मातहत सञ्चालित नोट कोष रहेका वाणिज्य बैंकहरुले समेत बुधबारदेखि सर्वसाधारणलाई नयाँ सुकिला नोट साटिदिने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘उपत्यकाबाहिर पनि सहज रुपमा नयाँ नोट वितरण गरिने छ ।’

राष्ट्र बैंकले सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सूचना जारी गरिसकेको छ । ‘सटही सुविधालाई सहज ढंगबाट सम्पादन गर्न प्रत्येक दरका नोटको खुद्रा संख्या १०० को प्याकेटका आधारमा मात्र सटही गरिने भएकाले सोही बमोजिम नोट सटहीको माग गरी नोट सटहीको कार्यलाई सहयोग पु¥याउन सर्वसाधारणबाट यस बैंकले अपेक्षा राखेको छ,’ जारी सूचनामा उल्लेख छ ।

विगतमा बैंक तथा वित्तीय संस्थाले पनि केन्द्रीय बैंकबाट नयाँ नोट साटेर पनि ग्राहकलाई वितरण गरेका थिए । यसपटक पनि त्यस्तो व्यवस्था गर्ने एक बैंकरले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण, ठूला ऋणी, व्यापारी र निक्षेपकर्तालाई मात्र नयाँ नोट साटिदिने गरेको बैंकरको भनाइ छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले नयाँ नोट साटिदिएबापत अतिरितm आम्दानी हुँदैन तर उनीहरुले सम्बन्ध सुधारका लागि नयाँ नोट साटिदिने गरेका छन् । बैंक तथा वित्तीय संस्थाले नयाँ नोट साट्नु सामाजिक काम गर्नु जस्तै भएको बैंकर बताउँछन् ।

नयाँ नोट साट्ने सर्वसाधारण क्रमिक रुपमा बढेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । दसैंमा सबैभन्दा बढी ५, १०, २०, ५० र १०० दरका नोट प्रयोगमा आउने राष्ट्र बैंकको भनाइ छ । पछिल्लो समय खाद्यान्न, लताकपडा र यातायात खर्च बढेसँगै साना दरका नोटभन्दा मध्यम खालका नोटको प्रयोग बढेको सर्वसाधारण बताउँछन् । टीका लगाएर ५ र १० को एउटा नोट दिन नसुहाउने समय आएको उनीहरुको भनाइ छ ।

मूल्यवृद्धिको चाप दसैंको दक्षिणामा पनि परेको विज्ञ बताउँछन् । ‘निधारको मूल्य पनि बढेको छ,’ एकजना विज्ञले ठट्यौली पारामा भने, ‘मूल्यवृद्धिको मार नुनदेखि सुनसम्ममा परेको छ ।’

एउटै कृष्णसार भएको १० रुपैयाँको नोट

नेपाल राष्ट्र बैंकले एउटा मात्रै कृष्णसार भएको १० रुयैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । केन्द्रीय बैंकले मंगलबारबाट उक्त दरको नोट चलनचल्तीमा ल्याएको हो ।

यसअघि १० रुपैयाँको नयाँ नोटमा तीनवटा कृष्णसारका चित्र थिए । तर, मंगलबारबाट चलनचल्तीमा ल्याएका उक्त नोटमा तीनवटा कृष्णसारको चित्रको ठाउँमा एउटा कृष्णसारको चित्र रहेको छ ।

उक्त १० रुपैयाँको नयाँ नोटको अग्र भागमा सगरमाथको चित्र, नोटको मध्य मागको पृष्ठभूमिमा गरुड नारायणको चित्र, नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप, नोटको तल्लो भागमा गभर्नर चिरञ्जीवी नेपालको दस्तखत, नोटको तल्लो भागको बायाँ र दायाँपट्टि संकेत नम्बर नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा २०७३ लेखिएको छ । यसैगरी नोटको पृष्ठ भागको माथिल्लो बीच भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, भागमा एउटा कृष्णसारको चित्र,  मध्य भागको पृष्ठभूमि फिक्का हरियो रंग, नोटको तल्लो भागमा अंग्रेजीमा रुपिज टेन लेखिएको र नोटको तल्लो भागमा बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा २०१७ एडी लेखिएको छ ।

नेपाल बैंकका न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर कार्यालय, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार र नक्साल शाखाबाट र कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार शाखाबाट प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ

प्रकाशित: २८ भाद्र २०७४ ०४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App