७ वैशाख २०८१ शुक्रबार
समाज

सुन तस्करीको पैसा होटलदेखि बैंकसम्म लगानी

केपी ढुंगाना, काठमाडौं,

ध्रुव दंगाल, सिन्धुपाल्चोक

भोटेकोसी गाउँपालिकामा चुनाव जितेपछि अन्य उम्मेदवार खुसी थिए तर अध्यक्षमा विजयी राजकुमार पौडेल त्यत्ति खुसी थिएनन् किनकि उनलाई व्यवसाय बिग्रने चिन्ता थियो । उनी समकक्षी व्यापारीसँग गुनासो गर्थे, ‘चुनाव त जितियो, तर व्यवसाय चौपट हुने भयो ।’

उनी निकट स्रोतका अनुसार उनी दैनिक ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको दाबी गर्थे । जनप्रतिनिधि भएपछि व्यवसायमा समय दिन नसक्दा आम्दानी घट्न थालेको उनी बताउँथे ।

२०६० मा एउटा कन्टेनर किनेर तातोपानीबाट सामान आयातनिर्यातको व्यवसायमा संलग्न भएका उनको एकाएक बढेको आर्थिक हैसियत देख्दा तातोपानीमा जमेका व्यवसायी छक्क पर्थे ।

उनी २०६६ तिर नेपाल ट्रक कन्टेनर व्यवसायी संघको अध्यक्ष बने । त्यति बेला सुन तस्करीका लागि तातोपानी नाका चल्तीमा थियो । लगत्तै उनको आर्थिक हैसियत नाटकीय रूपमा चुलिँदै गयो । ७ वर्षको बीचमा उनी करोडौं रुपैयाँ लगानी गरेर होटल, बैंक, सहकारी, हाइड्रो र क्रसर उद्योगको मालिक बने ।

भदौ १५ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १५ किलो सुनसहित ७ जना पक्राउ गरेपछि उनको आम्दानीको स्रोत कन्टेनर व्यवसाय मात्रै देखिएन । ब्युरो अनुसन्धानमा पौडेल लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको पत्ता लाग्यो । उनी ठँहिटीका रमेश खड्कासँग मिलेर तातोपानी र रसुवाको केरुङ हुँदै सुन तस्करी गरी भारत पु¥याउन सक्रिय रहेको देखिएको छ । यी दुवै फरार भएकाले ब्युरोले खोजी जारी राखेको छ ।

पौडेल  सुन्धाराका महँगो मानिने होटल मोनार्कका मुख्य लगानीकर्ता हुन् । आठतले सो होटलको सामान्य कोठाको एक रातको शुल्क ५ हजार पर्छ । होटल रहेको भवन पनि सञ्चालककै रहेको विश्वस्त स्रोतले बतायो ।

सो होटलबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा समेत सूचना पुगेको छ । सिन्धुपाल्चोकका व्यवसायीमाझ उनको होटल लोकप्रिय हुने नै भयो । सुन्धारा क्षेत्रका व्यवसायीका अनुसार सो होटल चिनियाँ नागरिकको पनि आकर्षणमा पर्छ ।

विश्वस्त स्रोतका अनुसार पौडेल सिन्धुपाल्चोकको बाह्रबिसेमा केन्द्रीय कार्यालय रहेको सिन्धु विकास बैंकको संस्थापक सेयर धनी हुन् । सिन्धुपाल्चोकका कन्टेनर व्यवसायीले खोलेको सिन्धु सहकारीमा उनको ५० लाख बढीको सेयर छ । उनी सो सहकारीको कोषाध्यक्ष हुन् ।

सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा निर्माणाधीन २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाको लगानीकर्तामध्ये उनी पनि एक हुन् । शिवश्री पावर कम्पनीले बनाइरहेको आयोजनामा उनले तीन अर्ब रुपैयँ लगानी गरेका छन् ।

इन्द्रावती नदीको इन्द्रावती गंगा क्रसर उद्योगका पौडेल मुख्य लगानीकर्ता हुन् । नदी दोहन गरेर उनले ढुंगारोडाको पहाडै थुपारेका छन् । विश्वस्त स्रोतका अनुसार सो क्रसरले दैनिक ३ सय ट्रकसम्म बालुवा, गिटी बिक्री गर्दै आएको छ ।

खड्का काठमाडौंमा कहलिएका सुन कारोबारी हुन् । बाङ्गेमुढामा उनको संगम ज्वेलर्स नामको सुन पसल छ । अपराध महाशाखाले २०७२ माघमा उपत्यकाका चार सुन पसलमा छापा मारेको थियो । ब्युरोले उनको सुन पसलबाट ८१ लाख रुपैयाँ र ३४ किलो चाँदी बरामद गरेको थियो । प्रहरीले खड्कासँगै बालाजी एन्ड सन्सका बालु जगन्नाथ घाँगे र द युनाइटोड गोल्ड मार्टका आकाशकुमार बज्राचार्यलाई पक्राउ गरेको थियो ।

अध्यक्ष भएपछि आर्थिक छलाङ

पौडेल निम्नमध्यम वर्गीय परिवारमा जन्मेका हुन् । उनका बुबा पञ्चायतकालमा प्रधानपञ्च भएका थिए । उनका तीन दाजु तातोपानीमा क्यारिङ व्यापारमा संलग्न भएपछि परिवारको आर्थिक अवस्था सुधार हुँदै गएको उनी निकट स्रोतले बतायो ।

भूकम्पअघिसम्म उनीसँग २२ वटा कन्टेनर थिए । तातोपानी नाका बन्द भएपछि उनले सबै कन्टेनर बेचेको उनी निकट स्रोतले बतायो ।

स्रोतका अनुसार कन्टेनर संघको अध्यक्ष बन्नुअघि उनी तातोपानी नाकामा चिनियाँ सामग्रीको क्यारिङ व्यापारमा संलग्न थिए । उनका तीन दाजुहरू रक्तचन्दन तस्करी, हुन्डी कारोबार र डलर अपचलनमा तानिएका थिए । दाजुहरू ध्रुव, नारायण र बच्चु पौडेलले हलेसी गु्रपको नाममा क्यारिङ व्यापार थाल्दा उनी संलग्न थिएनन् । तातोपानीका व्यापारीका अनुसार उनी १० वर्षअघि क्याटरिङ व्यापारमा लागेका हुन् ।

‘कन्टेनर संघको अध्यक्ष भएपछि उनको आर्थिक हैसियत उचालिएको हो,’ एक व्यवसायीले भने, ‘उनको आर्थिक हैसियत ह्वात्तै बढेपछि गैरकानुनी धन्दामा लागेको चर्चा थियो, अहिले पुष्टि भयो ।’

सबैको सम्पत्ति हेर्छौं :  सिआइबी

१५ किलो सुनसहित पक्राउ परेका ७ जनालाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइरहेका सिआइबी प्रमुख डिआइजी पुष्कर कार्की सुन तस्करीमा संलग्न देखिएका सबैको सम्पत्तिमाथि छानबिन हुने बताए । पक्राउ परेका सातै जनालाई संगठित अपराध ऐनअन्तर्गत न्यायिक हिरासतमा राखेर अनुसन्धान भइरहेको र उनीहरूको सम्पत्तिसमेत खोजी जानकारी कार्कीले नागरिकलाई दिए ।

‘संगठित अपराधमा पक्राउ परेकाको सम्पत्ति विवरण र स्रोतको खोजी हुनु सामान्य हो,’ कार्कीले भने, ‘१५ किलो सुनमा जोडिने सबैको सम्पत्ति विवरण र स्रोतको खोजी हुन्छ नै ।’

प्रकाशित: २८ भाद्र २०७४ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App