coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

कोरियामा आत्महत्या रोक्न अभिमुखीकरण पाठ्यक्रम परिमार्जन हुँदै

काठमाडौं- रोजगारीका लागि कोरिया पुगेका कामदारले आत्महत्या गर्ने क्रम बढेपछि त्यहाँ जानुअघि प्रदान गरिने अभिमुखीकरण तालिमको पाठ्यक्रम परिमार्जन गरिने भएको छ ।

कोरियन भाषा सिकाउने इन्स्टिच्युट तथा अभिमुखीकरण तालिम दिने संस्थाले सत्य, तथ्य जानकारी नदिँदा कोरियामा कामदारले आत्महत्या गर्ने गरेको ठानिएपछि अभिमुखीकरण पाठ्यक्रम परिमार्जन आवश्यक ठानिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।

खेतीबारीमा कहिल्यै पाइला नटेकेको व्यक्ति भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कृषिकर्म गर्न कोरिया जाँदा समस्या।

‘राम्रो मानिएको गन्तव्यमा कामदारले आत्महत्या गर्ने क्रम बढेपछि सरोकारवाला निकायसँग अभिमुखीकरण तालिमको पाठ्यक्रम नै परिमार्जन गर्न छलफल थालेका छौं,’ बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले भने ।

वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखाका अनुसार सन् २०१७ सकिन चार महिना बाँकी रहँदासम्म कोरियामा १७ जनाको मृत्यु भएको छ । जसमध्ये  चारजनाले आत्महत्या गरेका छन् ।

निकै लामो समयसम्म कोरियन भाषा सिकेर र हजारौंसँग प्रतिस्पर्धा गरेर उता पुगेका व्यक्तिले आत्महत्या गर्ने क्रम बढेपछि सरोकारवालाले कामदार छनोटको प्रक्रियादेखि उनीहरूलाई सिकाइने सीप र ज्ञान पर्याप्त नभएको बताउने गरेका छन् । इपिएस शाखा प्रमुख बाबुराम खतिवडा कामदारलाई कोरिया लैजाने छनोट प्रक्रिया नै गलत  भएको बताउँछन् । उनका अनुसार थ्रिडी (डर्टी, डेन्जरस र डिफिकल्ट) काम गर्न लैजाने कामदारको छनोट प्रक्रिया अध्ययन, अनुसन्धान गर्न लैजाने सरहको छ । ‘घरमा रहँदा खेतीबारीमा कहिल्यै पाइला नटेकेको व्यक्ति भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरियामा कृषि काम गर्न जान्छन्,’ उनले भने, ‘भाषा परीक्षा उत्तीर्ण गर्नु र कोरिया गएर तिनै थ्रिडीको काम गर्नुपर्दा कैयौं कामदार डिप्रेसनको सिकार भएर आत्महत्यासम्मको बाटो रोज्न पुग्छन् ।’

रोजगारीका लागि कोरिया जाने कामदारलाई ६ दिनको अभिमुखीकरण दिने गरिन्छ । हालको अभिमुखीकरण पाठ्यक्रममा कामदारलाई व्यावहारिकभन्दा सैद्धान्तिक ज्ञान बढी दिइने गरेकाले लामो समयदेखि पाठ्यक्रम परिवर्तन गर्न माग भइरहेको थियो । हालको अभिमुखीकरण पाठ्यक्रम २०६५ मा तयार गरिएको हो ।

‘एकातिर कोरिया जाने कामदारलाई आवश्यक ज्ञान सिकाइने अभिमुखीकरण पाठ्यक्रम पुरानो भइसकेको र अर्कोतर्फ आत्महत्या गर्ने क्रम बढेपछि सोही पाठ्यक्रम परिमार्जन गर्ने तयारी थालेका हौं,’ काफ्लेले भने । कोरियाको मानव संशाधन विभाग अन्तर्गत इपिएसका नेपाल प्रतिनिधि लगायत सबै निकायले पुरानो अभिमुखीकरण पाठ्यक्रम परिमार्जन गर्न आवश्यक रहेको सुझाव दिइसकेका छन् ।

शाखाका अनुसार कोरियामा सन् २०१६ मा ११ जनाको निधन हुँदा तीनजनाले आत्महत्या गरेका थिए । शाखाका अनुसार सन् २००७ यता कोरिया गएकामध्ये एक सय ३० जनाको निधन हुँदा ३६ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा अधिकांश २२ देखि २८ वर्षका कामदार रहेको बताइएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) सुरु भएयता (सन् २००७) मात्र कोरियामा ज्यान गुमाउने र आत्महत्या गर्ने नेपालीको विवरण राख्न थालिएको हो । इपिएस सुरु भएदेखि गत साउनसम्म कोरियामा ४८ हजार चार सय ८८ नेपाली कामका लागि पुगेका छन् ।

कामदारमैत्री श्रम ऐन तथा आर्थिक अवस्था राम्रो रहेकाले हाल कोरियामा प्रतिव्यक्ति मासिक न्यूनतम पारिश्रमिक एक लाख ४२ हजार रुपैयाँ रहेको खतिवडाले जनाए । ओभरटाइम र कम्पनीले बेलाबेला दिने बोनसका कारण अधिकांश कामदारले महिनामा दुई लाख रुपैयाँ हाराहारी कमाइ गर्ने गरेको कोरियाबाट फर्केकाहरू बताउँछन् ।

विज्ञहरू भने कोरियामा आत्महत्याका घटना निरन्तर वृद्धि भइरहनुको कारण कोरिया जानुअघि त्यहाँको यथार्थ विवरण कामदारलाई नदिनुलाई ठान्छन् । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा श्रमविज्ञ गणेश गुरुङ कोरिया के हो र गर्नुपर्ने कामबारे यथार्थ जानकारी दिन सक्ने हो भने स्वदेशमा रहँदासम्म काम नगरेका व्यक्तिले कोरिया जाने इच्छा त्याग्न सक्छन् ।

‘यतिखेर सबैले कोरियालाई विकसित देश भन्दै राम्रो पारिश्रमिक मात्र पाइन्छ भनेर प्रचार गर्ने गरेका छन्,’ उनले भने, ‘कोरियामा गाउँ पनि छन् । त्यहाँ गर्नुपर्ने काम निकै जटिल छ भनेर कोरिया जानुअघि नै सिकाउने हो भने समस्यामा कमी आउन सक्छन् ।’

चार वर्ष कोरियास्थित नेपाली राजदूतावासमा श्रम सहचारीको रूपमा काम गरी हालै सेवानिवृत्त भएका अनिल गुरुङ कोरियामा नेपालीले आत्महत्या गर्नुको कारणमा मालिकको व्यवहार, फरक संस्कृति तथा घरपरिवारले उनीहरूबाट धेरै अपेक्षा गर्ने आर्थिक पाटोले सघाइरहेको बताउँछन् । ‘कोरिया फिल्ममा हेरेको जस्तो छैन,’ उनले भने, ‘तर, नेपालमा रहँदा भने कोरियालाई फिल्मको आँखाले मात्र हेरिन्छ ।’

उनले काम गर्न सक्नेका लागि कोरिया निकै राम्रो भए पनि काम नगरी कुरामात्र गर्नेका लागि उपयुक्त छैन भन्ने कुरा बुझाउन आवश्यक रहेको बताए । यता मानसिक रोज विशेषज्ञ रवि शाक्य आत्महत्याको प्रमुख कारण डिप्रेसन रहेको बताउँछन् । कोरियाको मानव संशाधन विभागका नेपाल निर्देशक किम कि वुकले नेपालीले किन कोरियामा आत्महत्या गर्छन् भन्नेबारे अनुसन्धान थालिएको जानकारी दिए ।

हालको कोरिया छनोट प्रक्रिया

रोजगारीका लागि कोरिया पुगेका व्यक्तिहरूले आत्महत्या गर्ने क्रम बढे पनि कोरिया जान भने त्यति सहज छैन ।

कोरिया जानका लागि सबभन्दा पहिला कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ । कोरियाको मानव संशाधन विभागले बर्सेनि तय गर्ने कोटामा पर्न भाषा परीक्षा उत्तीर्ण गरेर मात्र पुग्दैन । चर्को प्रतिस्पर्धाबाट तय गरिएको कोटाभित्र पर्न सक्नु पर्छ ।

परीक्षामा सहभागी हुनुअघि कोरिया भाषा सिक्न प्रायःले कम्तीमा ६ महिना समय खर्चेका हुन्छन् । सन् २०१८ मा उड्न पाउने गरी गत जेठ २७ र २८ गते भएको भाषा परीक्षामा ७५ हजार पाँच सय ८० जनाले प्रतिस्पर्धा गरेका थिए । कोरियाको मानव संशाधन विभागले तोकेको १० हजार पाँच सय कोटाका लागि केही दिनअघि प्रकाशन गरिएको नतिजामा १२ हजार एक सय आठ जना उत्तीर्ण भएका छन् ।

अब उनीहरूको स्वास्थ्य परिक्षण सकिएपछि रोजगारी आवेदन फारम कोरिया पठाइने शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए । भाषा परीक्षा उत्तीर्ण गरी स्वास्थ्य परीक्षणमा सफल भएकालाई कोरियन रोजगारदाताले कामको अफर गरेपछि मात्र उनीहरू जान पाउने भण्डारीले बताए ।

‘त्यसैले हामीले भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीको ग्यारेन्टी होइन भन्दै आएका छौं,’ उनले भने, ‘कोरियन रोजगारी नदिएसम्म कोरिया जान पाइन्छ भनेर विश्वास गर्नु हुँदैन ।’

अघिल्लो वर्ष कोरियाले तीन हजार एक  सय कोटा निर्धारण गर्दा ६१ हजार पाँच सय युवायुवतीले भाषा परीक्षाको प्रतिस्पर्धा गरेका थिए । यतिखेर कोरियाबाहेक अन्य गन्तव्य मुलुकमा भइरहेको कामदारको मृत्युदर पनि सन्तोषजनक छैन ।

दुई वर्षअघिको तुलनामा आर्थिक वर्ष ०७३÷७४ मा विदेशमा मृत्यु हुने कामदारको संख्या केही घटे पनि वैदेशिक रोजगारीमा कामदार सुरक्षित हुन नसकेको विज्ञको भनाइ छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार आर्थिक वर्ष ०७३÷७४ मा श्रम स्वीकृति लिएर विभिन्न मुलुक गएका ६ सय ८७ को निधन भयो । आर्थिक वर्ष ०७२÷७३ मा विदेशमा मृत्यु हुनेको संख्या आठ सय १५ थियो भने त्यसभन्दा अघिल्लो वर्ष एक हजार ६ जनाले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका थिए ।

बोर्डका अनुसार आव ०७३÷७४ मा विभिन्न मुलुकमा ७८ जनाले आत्महत्या गरेका थिए । जसमा महिलाको संख्या चार छ।

प्रकाशित: २७ भाद्र २०७४ ०४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App