७ वैशाख २०८१ शुक्रबार
अर्थ

निर्माण सामग्रीको ठेक्कामा चलखेल

बर्दिया- जिल्ला समन्वय समिति (जिसस)ले निर्माण सामग्री (ढुंगा, गिट्टी, बालुवा)को टेन्डर आह्वान गर्दा प्रमुख र अध्यक्षले चलखेल गरेको पाइएको छ । जिससले आह्वान गरेको टेन्डर प्रतिस्पर्धाका आधारमा फर्म चयन भएका फर्म समितिका पदाधिकारीले चलखेल गरेर पटकपटक टेन्डर रद्द गर्ने गरेको पाइएको हो । विभिन्न वहानामा प्रतिस्पर्धाबाट चयन भएका फर्मलाई दुईपटकसम्म जिसस पदाधिकारीले टेन्डर रद्ध गरेको तथ्य खुलेको हो ।
जिसस प्रमुख तेजप्रसाद शर्मा र नवनिर्वाचित अध्यक्ष शंकर चौधरीले आफू निकट ठेकेदारको ठेक्का सदर नभएपछि पटकपटक टेन्डर रद्द गर्दा आफूहरु मर्कामा परेको व्यवसायीको गुनासो छ ।
प्रक्रिया मिचेर समय सकिएको १५ मिनटपछि दर्ता भएको टेन्डर सदर गर्न जिससका पदाधिकारीको दबाबपछि दोस्रोपटक टेन्डर रद्द भएको जिसस प्रमुख शर्मा स्विकार्छन् । ‘कसैको नियत खराब होइन, कबुल अंक बढाउन सदर ठेक्का बदर भएको हो,’ उनले भने । उता, निर्माण व्यवसायीले समय घर्किसकेपछि वा प्रक्रिया मिचेर आएको फर्मलाई दर्ता गर्न पदाधिकारीको दबाबले चलखेल भएको व्यवसायीको भनाइ छ । ‘कबुल अंकभन्दा बढेर आएको फर्म पनि निश्चित समयमा दर्ता हुनप¥यो,’ एक निर्माण व्यवसायीले आक्रोषित हुँदै भने, ‘कबुल अंक बढाएको भन्दै प्रक्रियागत रुपमा आएको टेन्डर रद्द गर्न मिल्ने कस्तो कानुन हो ? ।’
जिसस बर्दियाले ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा निकासीको ठेक्का दुईपटक रद्द गरी अहिले तेस्रोपटक पुनः टेन्डर आह्वान गरेको छ ।
पुरानै अंकमा पुनः बोलपत्र आह्वान गरेको भन्दै दोस्रोपटक पनि खोलिएको टेन्डर रद्द गरिएको छ । दोस्रोपटक टेन्डर खोल्दा सूर्य कन्स्ट्रक्सनले दुई करोड ५० लाख रुपैयाँमा अधिकतम अंक कबोल गरिएकाले सदर भएको थियो । सदर गरिएको तीन दिनपछि सदर भएको उक्त टेन्डर रद्द गरी तेस्रोपटक पुनः आह्वान गरिएको छ । सदर भएको टेन्डरमा एक रुपैयाँ बढाएर तेस्रोपटक पुनः टेन्डरको सूचना प्रकासित गरिएको भन्दै निर्माण व्यवसायीले आपत्ति जनाएका छन् ।
हचुवाका भरमा दोस्रोपटक रद्द गरिएको उक्त बोलपत्र राजनीतिक दबाबमा जिससका अध्यक्षसम्मले दबाब दिएकै कारण पटकपटक टेन्डर रद्द गराएको स्रोतको दाबी छ ।
जिसस अध्यक्ष चौधरीले कसैको दबाब नआएको र आर्थिक चलखेल नभएको दाबी गरे । ‘समितिले आह्वान गरेको टेन्डरमा कबुल अंक न्यूनतम भएकाले ठेक्का सदर नगरिएको हो,’ उनले भने, ‘कबुल अंक बढाएर पुनः ठेक्का आह्वान गरेका छौं ।’ जनप्रतिनिधि नभएको समय टेन्डर आह्वान गरिएकाले कबुल अंक न्यूनतम रहेको टेन्डर सदर नगरिएको उनको भनाइ छ । तेस्रो पटक प्रकाशित भएको सूचनामा दुई करोड ५० लाख एक रुपैयाँ न्यूनतम दररेट कायम गरिएको उनले जानकारी दिए ।
न्यूनतम अंकमा भएको दोस्रो टेन्डर खोल्दा जिससका उपाध्यक्ष मानबहादुर विष्टको रोहवरमा खोलिएको थियो । कर्मचारीले ई–बिडिङमा आएको टेन्डरको गोपनियता भंग गर्दै सार्वजनिक गरेको निर्माण व्यवसायीको आरोप छ ।
सामान्यता ई–टेन्डर खोल्दा दुई बजेपछि सार्वजनिक हुनुपर्ने प्रावधान छ । तर ‘जिससका एक अधिकृत सरहका कर्मचारीले दुई बजेअघि नै ई–टेन्डर सार्वजनिक गरेका थिए,’ एक निर्माण व्यवसायीले भने । स्थानीयले कर्मचारी, ठेकेदार कम्पनी र माओवादी केन्द्रको दबाबले दोस्रो टेन्डर पनि रद्द भएको स्रोतले बतायो ।
जिससले बबई, गेरुवा र कर्णाली नदीबाट उत्खनन्का लागि न्यूनतम एक करोड ५० लाख रुपैयाँ मूल्य तोकेको थियो । गत वर्ष बबई, गेरुवा र कर्णाली नदीको फरक–फरक प्याकेजमा ठेक्का दिइएको थियो । चालु आवमा तीनवटै नदीबाट एउटा प्याकेजमा गिट्टी, ढुंगा, बालुवा उत्खनन्का लागि ठेक्का आह्वान गरिएको छ । आफूहरु अन्यायमा परेका भन्दै निर्माण व्यवसायीका तर्फबाट पुनरावेदन अदालत, नेपालगन्जमा आइतबार स्टे अर्डरका लागि उजुरी दर्ता गरिएको छ । सूर्य कन्स्ट्रक्सनका सञ्चालक टंक खत्री टेन्डर रद्द भएकाले कानुनी उपचारका लागि न्यायालय गुहारेको बताउँछन् ।

प्रकाशित: २७ भाद्र २०७४ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App