coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गल्फ नै धर्म

काठमाडौं- गल्फलाई धर्म मान्ने घनश्याम थापाको सिंगो गल्फ जीवन सोमबार पल्सर स्पोटर््स अवार्डमा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएको छ ।

१० वर्षको उमेरमा तत्कालीन गौचर कोर्सबाट बल ब्वाइजका रूपमा गल्फमा होमिएका थापा नेपालका पहिलो व्यावसायिक गल्फर हुन् । सन् १९६५ मा बल ब्वाइजका रूपमा प्रवेश गरेका उनी तीन वर्षमा क्याडी भइसकेका थिए । त्यसपछि कोर्सको माली बनेका उनी क्याडी मास्टर हुँदै रोयल नेपाल गल्फ क्लबका म्यानेजर भए ।

‘त्यो बेला गल्फ प्राविधिक रूपमा खास खेलिँदैनथ्यो । ठूलाबडाले शौखका लागि खेल्थे । यस्तोमा म त्यो बेला सबभन्दा राम्रो खेल्ने गल्फर थिएँ । म त्यो बेला ६ ह्यान्डीक्याप थिएँ,’ थापाले विगत सम्झिए, ‘राम्रो खेल्ने भएकै कारण क्लब म्यानेजर भइरहँदा एसएलसी दिएको भोलिपल्टै मलाई तत्कालीन अधिराजकुमार वसुन्धरा शाहले व्यावसायिक तालिमका लागि नयाँ दिल्ली पठाउनुभयो ।’

थापाले नयाँ दिल्लीको तालिमपछि १९६८ मा प्रो कार्ड पाएका थिए ।  लगत्तैको वर्ष एसियन सर्किटअन्तर्गतको इन्डियन ओपन खेलेका थापाले दुई पटक विश्वकप पनि खेले ।

८० को दशकमा त्रिभुवन विमानस्थल विस्तार हुँदा झन्डै ६ महिना गल्फ ठप्प भयो । नेपालका एक मात्र व्यावसायिक खेलाडी खेलबाट टाढिएका थिए । त्यतिखेर नेपाली गल्फ बचाउ भनेर संसारभर पत्राचार गरेर गुहारेको उनले सोमबार सम्झिए । ‘देशमा गल्फ नभएपछि मेरो अवस्था प्रिन्स अफ नोल्यान्डजस्तो भयो । त्यसपछि मैले नेपाली गल्फको सहयोगका लागि भनेर विश्वभर चिनाजानका साथीहरूलाई खुब गुहारेँ,’ उनले भने ।

तर, त्यति बेलै अर्का गल्फप्रेमी शम्भु आचार्य पशुपति क्षेत्रको तिलगंगास्थित नगरपालिकाको डम्पिङ साइटमा कामचलाउ कोर्स बनाउन प्रयासरत थिए । आचार्यको प्रयासमा हातेमालो गर्दै थापाले कोर्स विस्तारमा सघाए । त्यसपछि धरान गल्फसँग आदानप्रदानको कार्यक्रम गर्नुका साथै प्रतियोगिताहरू गर्न थाले ।

लामो समय तत्कालीन युवराज दीपेन्द्र शाहको गल्फ गुरु तथा पार्टनर भएका थापाले मुम्बई तथा जर्मनीमा पनि लामो समय गल्फ प्रशिक्षकका रूपमा काम गरे । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका संस्थापक अध्यक्ष थापाकै नेतृत्वमा नेपालमा सूर्य नेपाल गल्फ टुर सुरु भएको हो ।

आर्मी गल्फ कोर्स र चौधरी गल्फ कोर्स बनाउने जससमेत आफंैले राखेका थापाकी श्रीमती सुशीला र छोरा राधेश्यामसहित पूरा परिवार नै गल्फमय छ । छोरा राधेश्याम पनि व्यावसायिक खेलाडी हुन् ।

सोमबार लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएपछि थापा निकै भावुक भए । ‘म यो अवार्ड मेरी श्रीमती सुशीलालाई समर्पण गर्न चाहन्छु । आजको यो विशेष दिनमा मेरो सुरुआती दिनमा सहयोग गर्ने अधिराजकुमार वसुन्धरा शाहलाई सम्झन चाहन्छु । साथमा मलाई आजको यो अवस्थासम्म आइपुग्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दछु,’ उनले भने ।

प्रकाशित: २७ भाद्र २०७४ ०३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App