८ वैशाख २०८१ शनिबार
खेल

स्टेनहस पहिलो महिला रेफ्री

बर्लिन- जर्मनीकी बाबियाना स्टेनहसले युरोपको शीर्ष लिगमा पहिलो महिला रेफ्री बन्ने इतिहास रचेकी छन् । स्टेनहसले हार्था बर्लिन र वेर्डर ब्रेम्यानबीचको खेल खेलाउँदै यो इतिहास रचेकी हुन् । उक्त खेल १–१ को बराबरीमा सकिएको थियो ।

बुन्डेसलिगासहित इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’ र फ्रान्सको लिग वानजस्ता युरोपका शीर्ष लिगमा हालसम्म कुनै पनि महिला रेफ्री थिएनन् ।

३८ वर्षे स्टेनहसले सन् २००७ देखि जर्मन दोस्रो डिभिजनका ८० खेल खेलाएकी थिइन् । शीर्ष श्रेणीमा उनको यो डेब्यु खेल थियो ।

‘म धेरै हर्षित छु,’ स्टेनहसले भनिन् ।

उनको सम्मानका लागि हार्थाले महिला समर्थकलाई रंगशाला प्रवेशमा ५० प्रतिशत छुट दिएको थियो ।

३८औं मिनेटमा म्याथ्यु लेइकीले गरेको गोलमा हार्थाले अग्रता लिएको थियो । उनले भ्लाद्मिरी डारिडाको पासलाई पोस्टको दिशा दिएका थिए । यसै सिजन इन्ग्लोस्टाडबाट हार्थामा आबद्ध भएका लेइकीको यो जारी सिजन तेस्रो गोल हो ।

५९औं मिनेटमा थोमस ड्यानिलेले गोल गर्दै ब्रेम्यानलाई खेलमा फर्काएका थिए । हार्थाका निकाल्स स्टार्कले गरेको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै उनले बललाई जाली चुमाएका थिए ।

यस नतिजापछि ४ अंक जोडेको हार्था १०औं स्थानमा छ । यता यस बराबरीपछि अंक खाता खोलेको ब्रेम्यान १६औं स्थानमा छ ।

‘मैले विगतदेखि नै भन्दै आएको छु कि खेलमा पुरुष वा महिला जो रेफ्री भए पनि त्यसले केही फरक पर्दैन । खेलमा उनीहरूको प्रदर्शन कस्तो हुन्छ त्यसले मात्र महत्व राख्छ,’ ब्रेम्यानका प्रशिक्षक एलेक्जेन्डर नोउरीले भने ।

आइतबार सम्पन्न अर्को खेलमा साल्के ०४ ले स्टुटगार्टमाथि ३–१ को सहज जित हात पा¥यो । साल्केको जितमा नाबिल बान्टालेभ, नाल्डो र ग्युडो बर्गस्टालेले समान १ गोल गरे ।

चाड्राक एकोलोले स्टुटगार्टका लागि सान्त्वना एक गोल गरे ।

प्रकाशित: २७ भाद्र २०७४ ०३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App