coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ल्होत्सेमा चार पटक असफल, पाँचौं प्रयासमा होङ

काठमाडौं- दक्षिण कोरियाली आरोही होङ साङ टेकले चार पटकसम्म  ल्होत्से हिमाल (८,५१६) आरोहणको प्रयास गरे पनि सफल भएनन्। तर उनले हिम्मत हारेनन्। ल्होत्सेको चुचुरो चुम्ने उनको सपनालाई पछ्याइरहे। त्यही सपना पुरा गर्न उनको टोली फेरी पाँचौ पटक ल्होत्से हिमाल आरोहणका लागि शनिबार बेसक्याम्प तर्फ हिँडेको छ। उनको टोलीमा १४ जना सदस्य छन्। आरोही होङसँग स्पेनका प्रसिद्ध आरोही इगोचेएगा जोर्गे समेत ल्होत्से आरोहणमा समावेश रहेको नेपाल पर्वतारोहण संघले जनाएको छ।

आरोही होङले सगरमाथा (८,८४८) र सिसापाङ (८,०४६) हिमालको सफल आरोहण गरिसकेका छन्। ‘सगरमाथा आरोहण गर्न सजिलो भयो तर, लोत्से हिमाल आरोहण गर्न धेरै कठिन भएको छ।  चार पटकसम्म पनि आरोहण गर्न नसक्दा आफैलाई असफल आरोही महशुस भएको छ,’ उनले भने,‘यो पाँचौ पटक हो, जसरी पनि सफल आरोहण गरेर फर्किने छु।’

उनका अनुसार धेरै विदेशी आरोही सगरमाथा आरोहण गर्नका  लागि मात्रै आउँछन् । तर, प्राविधिक जटिलताले अप्ठ्यारो मानिने ल्होत्से हिमाल आरोहण गर्न हिम्मत गर्दैनन्।

ल्होत्सेको दक्षिण रुटबाट आरोही होङले चार पटकसम्म प्रयास गरेका थिए । आरोहणको क्रममा रुट फिक्सिङ र मौषमले साथ नदिएपछि उनी बीचबाटो बाटै फर्किएको आरोहण एजेन्सी  ट्रेकिङ क्याम्प नेपालका प्रबन्ध निर्देशक वाङचु शेर्पाले जानकारी दिए।

आरोहण दलका टिम लिडर समेत रहेका होङले यसपटक प्राविधिक जटिलताको बीच पनि आफूले ल्होत्से हिमाल (८,५१६) आरोहणमा कीर्तिमान राख्ने दावी गरेका छन्।

स्पेनी आरोही इगोचेएगाले यस अघि आठ हजार मिटरमाथिका १४ वटा हिमाल आरोहण गरिसकेका छन्। उनीहरुको आरोहण सफल बनाउनका लागि  ट्रेकिङ क्याम्प नेपालले व्यवस्थापन गरेको बताएको छ ।

लोत्सेको दक्षिण क्षेत्रबाट आरोहणका लागि दक्ष आरोही फूर्वा वाङगेल शेर्पाको नेतृत्वमा ९ जना सहयोगी टोली खटिएका छन्। उनीहरुले नयाँ बाटो भएका कारण रुट फिक्सिङ गर्ने र आरोहीको सुरक्षाका लागि समेत काम गर्ने एजेन्सीका प्रमुख वाङछु शेर्पाको भनाई छ ।

यसअघि दक्षिण क्षेत्रबाट ल्होत्से हिमाल आरोहणमा कुनै पनि आरोही सफल हुन नसकेको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले जनाएको छ । जापानी नागरिकले ल्होत्से आरोहण गरे पनि ४१ मिटरबाँकी रहँदै फर्किनु परेका कारण सफल आरोहण भन्न नमिल्ने नेपाल पर्यटन विभागले जनाएको छ । यस्तै रसियन नागरिकले ल्होत्से आरोहण गरेको भनिएपनि पर्यटन मन्त्रालयमा यसको कुनै प्रमाण छैन।

शनिबार लुक्ला तर्फ प्रस्थान गरेका कोरियन र स्पेनिस नागरिकले कार्तिक ८ गते ल्होत्से हिमाल सफल आरोहण गर्ने एजेन्सीका निर्देशक शेर्पाको भनाई छ । उनका अनुसार मौषम र रुट फिक्सिङले साथ दिए तोकिएकै समयमा सफल आरोहण हुने छ। यसअघि सगरमाथा जाने तीन क्याम्पबाट बाटो अलग्गिएर साधारण रुटबाट ल्होत्से हिमालको आरोहण गरिँदै आएको थियो।

होङको आरोहणमा नेसनल जोग्राफी र जिसेभन कम्पनीले सहयोग गरेका छन्। नेपाल पर्वतारोहण संघका (एनएमए)अध्यक्ष सन्तवीर लामाले उनीहरुलाई सफल आरोहणका लागि विदाई गरेका छन् । ‘दक्षिण क्षेत्रबाट ल्होत्से आरोहण गर्न सजिलो छैन । होङको उदेश्य र चाहानालाई सफल बनाउनु एनएमएको उत्तिकै भूमिका रहन्छ।’ उनले भने,‘कोरियन र स्पेनी नागरिकको ल्होत्से सफल आरोहणले नेपालको पर्वतिय पर्यटन क्षेत्रमा नयाँ आयम थप्ने छ ।’

एनएमएका सचिव टिकाराम गुरुङले टोलीलाई विदाई गर्दै ल्होत्से सफल आरोहण गरेर फर्कने आफ्नो विश्वास रहेको बताए । ‘आरोहीले सजिलो रुट रोज्ने भन्दा पनि कठिन रुटबाट आरोहण गरेको इतिहास अब्बल हुन्छ । कोरियन टोलीको अभ्यासले नेपालको पर्वतिय पर्यटनले विश्व बजारमा नयाँ सन्देश दिने छ,’ गुरुङले भने ।

५१ वर्षीय होङले विभिन्न देशका १८ वटा हिमाल आरोण गरिसकेका छन् । साथै उनले नेपालका अन्नपूर्ण, धौलागिरी हिमाल आरोहण गरिसकेका छन्।

 

 

प्रकाशित: २४ भाद्र २०७४ ०९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App