४ वैशाख २०८१ मंगलबार
कला

एकल साँझको तयारीमा अन्जु

काठमाडौं- आधुनिक र पाश्र्व गायनमा दर्जनौं चर्चित गीतकी गायिका अन्जु पन्त पहिलो पटक एकल साँझमा प्रस्तुत हुन लागेकी छिन् । आगामी शनिबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुने एकल साँझमा अन्जुले आफ्ना चर्चित गीतहरू सुनाउने छिन् । एकल साँझको तयारीका लागि अञ्जुले २७ जना वाद्यवादकको टोलीका साथ मंगलबारबाट राष्ट्रिय नाचघरमा अभ्यास गर्न थालिसकेकी छन् ।
नेपाल रेकर्डिष्ट एसोसिएसनका लागि अन्जुको संस्था अन्जु पन्त फाउन्डेसनले आयोजना गर्न लागेको पहिलो एकल साँझका लागि आफू उत्साहित भएको अन्जुले बताएकी छिन् । ‘दुई दशक लामो सांगीतिक यात्रामा मैंले एकल एल्बम र गायन गर्न पाएको थिइँन । त्यो मध्ये एकल गायनको अवसर पाएको छु,’ अन्जुले भनिन, ‘मंगलबारदेखि थालेको अभ्यासमा गजब रमाइलो भयो । अब शनिबारको प्रतीक्षामा छु ।’
करिब दुई घन्टा चल्ने एकल साँझमा उनले फिल्मी गीतसँगै सुगम गीत पनि गाउने छिन् । उनले पछिल्लो समय चलेका फिल्म ‘म यस्तो गीत गाउँछु’को ‘भन्छु आज’, ‘वडा नम्बर ६’ को ‘सुर्के थैली’सँगै सुगम संगीतमा सर्वाधिक लोकप्रिय रहेका ‘नबिर्सें तिमीलाई नपाएँ तिमीलाई’, ‘जिन्दगी यो फूलै फूलको थुंगो हुँदैन’ आदि गीत गाउने तयारी गरिरहेकी छिन् ।
गायिका अन्जुले एकल साँझबाट उठेको पैसा परोपकारी काममा खर्चिने घोषणा यसअघि नै गरिसकेकी छिन् । एकल साँझबाट हुने फाइदाको रकम रेकर्डिस्टहरूको संस्था रेकर्डिस्ट एसोसिएसनलाई ५० प्रतिशत र जेहन्दार विपन्न बालबालिकाको शिक्षाका लागि ५० प्रतिशत खर्च गर्ने बताएकी छिन् । ‘खर्च कटाएर बचेको पैसा आयोजक र अन्जु पन्त फाउन्डेसनलाई आधा–आधा  बाँडिनेछ,’ अन्जुले भनिन्, ‘सबै पैसा परोपकारी काममा खर्च हुनेछ ।’

प्रकाशित: २२ भाद्र २०७४ ०६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App