coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
नागरिक खोज

जग्गा ४४ जनाको, निगमलाई पास गर्ने १२ जनामात्रै

चितवन- नेपाल आयल निगमले देशका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थ भण्डारण स्थल बनाउन जग्गा किन्ने क्रममा चितवनमा पनि २३ बिघा १२ कट्ठा सवा तीन धुर जग्गा किनेको छ । सो क्षेत्रफलको जग्गा ४४ जनाको नाममा थियो । तर नेपाल आयल निगमलाई जग्गा दिनेमा १२ जनाको नाममात्रै छ । स्थानीयको जग्गा बिचौलियामार्फत आयल निगमले किन्दा यस्तो भएको हो ।

जग्गा किन्दा मूल्यमा अनियमिता गरेको र जोखिमयुक्त ठाउँमा जग्गा किनेको भन्ने समाचारहरु आएपछि संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको टोली स्थलगत अध्ययनका लागि भदौ ८ गते चितवन आएको थियो । टोलीको नेतृत्व गरेका सासंद सुभाषचन्द्र ठकुरीलाई स्थानीय मेघनाथ लामिछानेले दुई कट्ठा जग्गा बेचेको बताए ।

उनले आफ्नो जग्गाको कित्ता नम्बर ४१२ भएको जानकारी दिए । टोलीमा आएका कर्मचारीले कित्ता नम्बर पनि हेरे । सो कित्ताको जग्गा निगमका नाममा आएको देखियो । तर संसदीय टोलीलाई इलाका मालपोत कार्यालय खैरहनीका प्रमुख रमेशप्रसाद गौतमले उपलब्ध गराएको विवरणमा मेघनाथको नाम थिएन । मेघनाथ जस्ता थुप्रैको नाम सो कागजमा देखिँदैनथ्यो ।

‘तपाईंले निगमलाई नभएर कस्लाई जग्गा दिएको’ भन्ने प्रश्नमा लामिछानेले ‘खै उसको नाम त थाहा भएन’ भने । उनको वरपर बसेका एक–दुईजनाले ‘जयराम भन जयराम’ भन्दै थिए । मालपोत कार्यालयले संसदीय टोलीलाई दिएको विवरणमा जयराम थापाको नाम थियो । मालपोत कार्यालय स्रोतका अनुसार जयरामले स्थानीय १७ जनाबाट लिएको चार बिघा पाँच कट्ठा साढे १५ धुर जग्गा निमगको नाममा पास गरेको देखिन्छ ।

मालपोत कार्यालयले संसदीय टोलीलाई बुझाएको विवरणमा उल्लेख भए अनुसार त्यसपछि अनन्तप्रसाद घिमिरेले साढे चार बिघा जग्गा निगमलाई दिएका छन् । उनले स्थानीय १० जना व्यक्तिको नामको जग्गा संकलन गरेको मालपोत कार्यालय स्रोतको भनाइ छ । त्यसपछि आठजनाबाट संकलन भएको दुई बिघा १० कट्ठा आठ धुर जग्गा सुरेशराज घिमिरेको नामबाट निगमममा पास भएको छ ।

गत वर्ष फागुन १० गतेदेखि १७ गतेसम्म स्थानीय ३५ जनाको नाममा रहेको जग्गा ती तीनजनाको नाममा आएको इलाका मालपोत कार्यालय खैरहनीबाट जानकारी प्राप्त भएको छ । कार्यालयका प्रमुख मालपोत अधिकृत रमेशप्रसाद गौतमले संसदीय टोलीलाई दिएको जानकारी अनुसार गत वर्ष फागुन २२ मा पहिलो चरणमा निगमका नाममा      २१ बिघा पाँच कट्ठा १५ धुर जग्गा पास भएको थियो ।

निमगले राप्ती नगरपालिका वडा नं. १ लोथर खोलाको आडमा बाँधसँगै जोडिएको जग्गा किनेको हो । स्थानीय दिनानाथ भट्ट निमगलाई आफूले सात कट्ठा १८ धुर जग्गा दिएको संसदीय टोलीलाई जानकारी दिँदै थिए । जग्गाको प्रतिकट्ठा १० लाख मूल्य पाएको उनको भनाइ थियो । आफ्ना, दिदी र अरु आफन्तहरुको नाममा रहेको २६ कट्ठा जग्गा निगमको नाममा गएको उनले बताए ।

दिदी र आफ्नो नामको जग्गा दूधराज ढुंगानालाई दिएको भट्टले बताए । दूधराज पनि आफन्तै हुन् भन्ने भट्टको भनाइ थियो । तर संसदीय टोलीलाई मालपोत कार्यालयले दिएको विवरणमा भट्टको नाम त पर्ने नै भएन । मेघनाथको जस्तै दूधराजको नाम पनि छैन । केही समयअघि प्रतिकट्ठा आठ लाख रुपैयाँमा जग्गा बेचेको बताउने स्थानीयहरु कम्तीमा कट्ठाको १० लाख रुपैयाँ पाएको जानकारी संसदीय टोलीलाई दिँदै थिए ।

राप्ती नगरपालिकाका मेयर प्रभा बराल तथा जग्गा भएको वडा नम्बर १ का वडाध्यक्ष सिद्धिलाल स्यानताङ र जग्गासँग जोडिएको वडा नम्बर २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेतीले निगमले किनेको जग्गाको चल्तीको मूल्य प्रतिकट्ठा तीन लाखसम्म पर्ने जानकारी संसदीय समितिलाई दिएका छन् । मालपोत कार्यालयको विवरण हेर्दा निगमले जग्गालाई प्रतिकट्ठा १५ लाख ८५ हजारको दरले तिरेको छ ।

जयराम थापा, अनन्तप्रसाद घिमिरे र सुरेशराज घिमिरेबाहेक निमगलाई जग्गा दिनेमा सुदिप आचार्य, समिर आचार्य, सावित्री आचार्य, चिरनकुमार खड्का, मैयादेवी खड्का, अनिता खड्का, बालकृष्ण सिलवाल, बालकुमारी सिलवाल र बिमला पाठकको नाम छ । निमगको नाममा दोस्रोपटक गएको आसर २७ गते दुई बिघा ६ कट्ठा साढे सात धुर जग्गा पास भएको मालपोत कार्यालयको विवरणमा देखिन्छ ।

निगमले किनेको मध्ये ३५ जनाको जग्गा बिचौलियामार्फत गएको देखिन्छ । स्थलगत अध्ययनकै क्रममा राप्ती ड्याकमा संसदीय टोलीसँग भेट भएकी राप्ती नगरपालिकाका मेयर प्रभा बरालले जग्गा किनबेचमा बिचौलियालाई फाइदा भएको बताइन् । बिचौलियामार्फत नभएर जनतासँग सिधै जग्गा लिनुपर्ने थियो भन्ने हजुरको विचार हो ? भन्ने सासंद ठकुरीको प्रश्नमा मेयर बरालले भनिन्, ‘हो हो । जुन काम गरियो त्यो राम्रो छैन ।’ 

प्रकाशित: २२ भाद्र २०७४ ०५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App