७ वैशाख २०८१ शुक्रबार
अन्य

डेस्टिनेसन तिम्बु पोखरी

तिम्बु पाखेरी र आसपाका दृष्यहरु । तश्विर : गिरिराज बाँस्कोटा

पूर्वमा तिम्बु पोखरी चर्चित छ । पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बु पोखरी र आसपासका क्षेत्र घुम्ने सिजन सुरु भएको छ । साउन, भदौ र आसोजको पहिलो हप्ता यहाँ घुम्न उपयुक्त मानिन्छ ।
लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूलहरु फूल्ने यी दुई महिना तिम्बु पोखरी जाने उचित समय मानिन्छ । भदौपछि यहाँका गोठ औलतिर सर्ने हुँदा साउन, भदौमा घुम्न जानु उपयुक्त हुन्छ । बर्सेनि कठीन भूगोल छिचोलेर यहाँ आनेको संख्या उल्लेख्य हुन्छ । हिमाली क्षेत्रमा पर्ने तिम्बु पोखरी आफैँमा सुन्दर छ । तिम्बुसँगै जोडिएका अन्य ठाउँ पनि आकर्षक छन् ।
चट्टानयुक्त पहाड घेरिएको तिम्बु पोखरी आकर्षक छ । समुद्र सतहदेखि ४ हजार ४ सय ८० मिटरको उचाइमा रहेको उक्त पोखरीले धार्मिक महत्व बोकेको छ । यसलाई विष्णु पोखरीसमेत भन्छन् । यहाँ पूजा गर्नेहरु बाक्लै भेटिन्छन् । तिम्बु पोखरीसँगै हिमाली र उच्च पहाडी क्षेत्रका आर्कषक दृश्य अवलोकन गर्न सकिन्छ । बर्सेनि यहाँको सौन्दर्यले मानिसलाई तान्ने गरेको तिम्बु पोखरी नजिकैको थाङ्मा खोलाका गोठ सञ्चालक मदन गौतम बताउँछन् । तिम्बु पोखरीसँगै पहाडे मेगु, फालोट लगायतका आकर्षक लेकाली क्षेत्र छन् । जैविक विविधताले यो क्षेत्र भरिभराउ छ । आँखा नअघाउने दृश्य हेर्न पाइन्छ । पछिल्लो समय यहाँ आउने पर्यटकको संख्या वृद्धि भएसँगै तिम्बु पोखरीको प्रचार र महŒव बढ्दै गएको पोखरी संरक्षण समितिका अध्यक्ष भीम भण्डारी सुनाउँछन् ।
पदयात्राका लागि यो क्षेत्र उपयुक्त गन्तव्यको रुपमा मानिएको छ । पाँचथरको च्याङ्थापुदेखि पदयात्रा गर्नुपर्छ । लेकका आकर्षक डाँडाहरु चहार्दै तीन दिनको यात्रामा तिम्बु पोखरी पुगिन्छ । यहाँ प्रशस्त लेकाली जडिबुटीसमेत पाइन्छन् । ठाउँठाउँमा गोठहरु छन् । यहीँ चौरी, उराङ, याकसँग रमाउन सकिन्छ । पूर्वाधारको विकास नभएकाले गन्तव्यसम्म पुग्न लौरी नै टेकेर हिँड्नु पर्छ ।
स्थानीय यामबहादुर भण्डारीका अनुसार यहाँ केही दिन घुम्नका लागि विभिन्न ठाउँ छन् । च्याङ्थापुदेखि फलैचा, कालीखोला हुँदै यहाँ पुगिन्छ । भारतको सिक्किमको सिमाना नजिकै छ । तिम्बु पोखेरीदेखि केही घण्टा हिँड्दा सिक्किमको लक्ष्मी पोखरी पुगिन्छ । अहिलेसम्म यस्ता पोखरी अवलोकनका लागि धेरै पर्यटक नजाने हुँदा सफा, चिटिक्क देखिन्छ । लेकाली क्षेत्र भएकाले लेक लाग्ने सम्भवना भने उत्तिकै हुन्छ । गोठमा बास बस्तै यात्रा गर्नेहरू अचेल भेटिन थालेका छन् । आन्तरिक पर्यटक नै बढीजसो यस क्षेत्रमा आउने गरेको स्थानीयको भनाइ छ ।
यहाँ आउनेले गोठमा बस्ने, सुत्ने र खाने गर्नु पर्छ । यो क्षेत्र उति धेरै महँगो छैन । यहाँ जाँदा एक्लै भन्दा पनि समूहमा जाने र पथ प्रदर्शक लिएर जानुपर्ने हुन्छ ।

प्रकाशित: २२ भाद्र २०७४ ०३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App