४ वैशाख २०८१ मंगलबार
विचार

याे कस्ताे स्मार्ट सिटी ?

जसले उनको पक्षमा मत खसालेका थिए, तिनीहरू आतुर छन् । तिनीहरूको कामना छ, उनको वाचा प्रभावकारी रूपमा व्यवहारमा रूपान्तरित होस् । जो उनको विरुद्धमा थिए, तिनीहरू पनि मौका पर्खिरहेका छन् । मौका पाउनेबित्तिक्कै तिनीहरूले भन्नेछन्, हाम्रा उम्मेदवारलाई पराजित गरेर महानगरवासीले ठूलो भूल गरेको प्रस्ट भयो। मौका दिने कि नदिने भन्ने कुरा महानगरका मेयर शाक्यको हातमा छ । तर अहिलेसम्मको अवस्था हेर्दा राजधानी महानगरपालिकाका मेयरले आफ्नो कार्यालयमा सय दिन व्यतित गरिसक्दा पनि न उनका पराजित प्रतिद्वन्द्वीहरूलाई विस्मृतिमा पु¥याउन सकेका छन्, न त सार्वजनिक जीवनमा प्रभावकारी उपस्थिति नै जनाउन सकेका छन् । देशको राजधानीकै मेयर भएका नाताले आफूमाथि कति गहन दायित्व छ भन्ने कुरा विद्यासुन्दर शाक्यलाई थाहा छैन भन्ने कुरा नमान्ने हो भने उनीबाट अझै आशा गर्नुपर्छ । तर सबैभन्दा पहिले उनले नै यति कुरा बुझ्नु जरुरी छ। 

चुनावताका उनले दिएको सय दिनमा एक सय एक कामको नारा सबै मतदाताले सम्झिएका छन् । उनले भनेका थिए, महानगर झिलिक्क, घर टिलिक्क । उनले नो मास्क सिटीको नारा खुबै चर्काएका थिए । मानिसको सबैभन्दा सुन्दर पक्ष मुस्कान नै हो । राजधानीमा मानिस मुस्कान लुकाएर हिँडन बाध्य भएको वर्षौं भइसक्यो । त्यसैले उनको निर्वाचनकालीन नाराले मात्र पनि मतदाता पुलकित भएका थिए । अब आफ्नै वाचा कार्यान्वयन गर्ने पालो उनको हो । त्यसैले यसबेला उनको प्रखर उपस्थितिको अपेक्षा गरिनु अस्वाभाविक होइन । तर काठमाडौँका खाल्डा पुर्ने निर्देशन पनि प्रधानमन्त्रीले दिनुपर्ने भएपछि उनको उपस्थिति कहाँ छ भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो। 

हरेक दिन बाहिरबाट राजधानी प्रवेश गर्ने तपाईंका मतदाताको सूचीभन्दा बाहिरका हजारौँ नेपालीलाई समेत मेयर शाक्यले स्थानीय सरकारको नमुना देखाउनेछन् भन्ने आशा धेरैले गरेका थिए । तर हुने बिरुवाको चिल्लो पात देखाउने समय सकिँदै छ । कम्तीमा नेपालकै टाढा टाढाबाट आउने नेपालीले भनून् काठमाडौँमा त यस्तो छ, काठमाडौँ त यति व्यवस्थित छ । यो काठमाडौँले सिकाओस् । कम्तीमा नेपालमा स्वच्छ, सभ्य सहरको नमुना काठमाडौँ नै बनोस् । यसरी प्रभावकारी कदम चालेको खण्डमा सम्पूर्ण देशकै जनजीवनमा उनको अमीट छाप बस्नेछ । तर यसैगरी समय बिताउने हो भने उनले आफूसँगै आफ्नो पार्टीलाई समेत ओरालो लगाउनेछन्।  

 ‘नो मास्क सिटी’को नारा खुबै चर्काएका थिए । हामी नेपालीको सबैभन्दा सुन्दर पक्ष मुस्कान नै हो । तर, हामी मास्कले मुस्कान छोपेर हिँड्न बाध्य भएको वर्षौं भइसक्यो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजधानीको मेयरका हिसाबले आफूमाािथ कति धेरै मानिसले अपेक्षा गरेका होलान् भन्ने अनुमान उनले अवश्य गरेका होलान् । यो वर्ष मध्य जेठपछिको दोस्रो दिन, २०७४ जेठ १७ गते विद्यासुन्दरले मेयर पदको शपथ ग्रहण गरी पदभार सम्हालेका थिए । उनले बुझ्नैपर्छ, त्यही दिनदेखि उनको परीक्षा सुरु भइसक्यो । उनको मात्र होइन, उनले प्रतिनिधित्व गर्ने पार्टी नेकपा (एमाले)को प्रतिबद्धताको परीक्षण पनि मतदाताले उनकै कामबाट गर्नेछन् । अहिलेसम्म सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो पार्टीका रूपमा स्थापित एमाले प्रदेश नम्वर २ को निर्वाचनमा समेत सबैभन्दा ठूलो पार्टीका रूपमा स्थापित हुने तयारी गर्दै छ । आउने दिनमा देशको जुनसुकै भूभागमा हुने जुनसुकै निर्वाचनमा मतदातालाई उनको कार्यशैलीबारे एमालेले जवाफ दिनुपर्ने हुन सक्छ । न विद्यासुन्दर एक्लै विद्यासुन्दर मात्रै हुन्, न उनको विजय नै व्यक्तिको विजय मात्र थियो। 

लगभग एक महिनाअघि उनका निकटतम प्रतिद्वन्द्वी राजुराज जोशीले ट्वीट गरे— दिन गनिरहेछु । अन्तरिक्षबाट बिजुली निकालेझैँ नहोस् मेरो काठमाडौँको विकास । विरोध होइन यो सरोकार हो । सहयोग चहिए सघाउन तयार छु । 
रचनात्मक सहयोगको यो तत्परता प्रशंसायोग्य छ । कांग्रेसको प्रतिनिधित्व गर्ने जोशीको ट्वीटरलाई मेयर शाक्यले दिनगन्ती सुरु भइसकेको संकेत माने भने काठमाडौँको कायापलट भएको देख्न उनको पाँच वर्षे कार्यकालभित्रै पाइनेछ । शाक्यले भोट तान्ने आवेशमा सय दिनघि पूरा गर्छु भन्दै अघि सारेका एक सय एक प्रतिबद्धतामध्ये त कतिपय सतही र अर्मूत थिए । सय दिनभित्र नवनिर्वाचित मेयरले सरसफाइको प्रतिबद्धता मात्र पूरा गरेका भए पनि यतिबेलासम्म उनको जयजयकार सुरु भइसकेको हुनेथियो।

संसारकै एउटा निरन्तर बसोवास हुँदै आएको पुरानो सहरको एक्काइसौँ शताब्दीको मेयरबाट हामीले निकै आशा गरेका छौँ । काठमाडौँ उपत्यकाको इतिहासका सम्बन्धमा कम्तीमा दोस्रो शताब्दीदेखिका लिखत प्रमाण उपलब्ध छन् । महानगरपालिकाले आफ्नो वेबसाइटमा काठमाडाँैलाई दुई हजार वर्षभन्दा पुरानो सहरका रूपमा परिचय गराएको छ । पश्चिमाहरूकै सन्दर्भग्रन्थमा पनि सन् १६६१ देखि काठमाडौँको नाम उल्लेख गरिएको पाइन्छ । लन्डनको विस्तार पनि सत्रौँ शताब्दीको त्यही हाराहारीमा भएको थियो।

मेयर शाक्यको कार्यकालमा जेष्ठ नागरिकका घरघरमै स्वास्थ्य परीक्षणको सुरुआत भइसकेको बताइएको छ । सार्वजनिक यातायातको व्यवस्थापनका लागि साझा यातायतासँग सम्झौता भएको समाचार पनि प्रकाशित भएको छ । ठीक ढंगले सुरु भएका हुन भने यस्ता कतिपय कार्यहरूको दीर्घकालीन असर अवश्य देखिनेछ । जस्तो, उहिल्यै सुरु भएको फोहोरबाट ऊर्जा रूपान्तरण गर्ने बायोमेथानेसन प्लान्टको उद्घाटन उनले मेयर हुनेबित्तिक्कै पाए । तर तत्काल देखिने अनि कम खर्च र बढी जागरुकताका आधारमा सम्भव हुने किसिमका कामको थालनी गरिहाल्नु जरुरी छ । काठमाडौँवासीलाई सबैभन्दा बढी फोहोरले नै सताएको छ । हाम्रा आनीबानीको परिवर्तन र सरसफाइका प्रभावकारी व्यवस्था मात्र गर्न सकियो भने पनि ठूलो परिवर्तन देखिनेछ । कार्यालयमा प्रवेश गरेलगत्तै हाम्रा मेयरले नगर कार्यपालिकाको प्रथम बैठकमा गराएको तेस्रो निर्णय यही सरसफाइसम्बन्धी नै थियो । बैठकले धुलो धुवाँको प्रदूषण न्यूनीकरण गर्न प्रभावकारी कार्ययोजना र निश्चित जिम्मेवारीसहित साधनस्रोतको अधिकतम परिचालन गरी क्लिन सिटीको अभियान थालनी गर्ने निर्णय गरेको थियो । तर उनले कागजी घोडा मात्र दौडाइएको होइन भन्ने विश्वास भने दिलाउन सकेका छैनन् । अर्मूत निर्णय गरेर पन्छिनु नेपालका शासकहरूको पुरानो रोग हो, राजधानीवासीले उनको प्रतिबद्धताको मूर्त कार्यान्वयन देख्न चाहेका छन्।   

खाद्य सामग्री, सागसब्जी र फलफूलमा रासायनिक प्रयोगलाई निस्तेज गर्ने अभियान नै सञ्चालन गरेर उनले तत्कालै परिवर्तन अनुभूत गराउन सक्छन् । तर प्रभावकारी सुरुआत कुनै क्षेत्रमा भएको देखिँदैन । बरू यसबीच सडक विभाग र ट्राफिक प्रहरीसँग पनि आवश्यक समन्वय कायम गर्न नसक्ने मेयरका रूपमा उनको आलोचना भएको छ । काठमाडौँका २५ लाखभन्दा बढी बासिन्दा र सवा आठ लाख सवारी साधनको व्यवस्थापनको प्रमुख जिम्मेवारीबाट उनले भाग्नै मिल्दैन । उनले सबै निकायबाट सहयोग हासिल गर्दै काठमाडौँलाई साँच्चै तनावरहित मनोरम सहरमा रूपान्तरण गर्न सक्नुपर्छ। 

भर्खरै पनि मेयर शाक्यले राजधानीमा मोनो रेल कुदाउने योजना सुनाएका छन् । धेरै बोलिरहनै पर्दैन, उनले केही कामको प्रभावकारी सुरुआत भएको देखाउन सक्ने हो भने विश्वासको वातावरण अझै बन्न सक्नेछ । दसैँको मुखमा उनले आफ्नो सय दिन पूरा भएको अवसरमा मतदातालाई विश्वासको उपहार दिन सक्नेछन् । तर त्यसका लागि उनले इमानदार प्रयत्न भइरहेको देखाउन सक्नैपर्छ । उनका भोकरहित जनता, शोकरहित महानगरजस्ता ठूला नारा होइन उनले नै दिएका सम्भव नाराको विश्वसनीय कार्यान्वयन भएको देखिनैपर्छ । अब पनि उनले आफ्नो प्रभावकारी उपस्थिति दर्शाउन सकेनन् भने राजधानीवासी मात्र होइन, सम्पूर्ण देशवासीको अपेक्षामाथि कुठाराघात हुनेछ । जनताको अपेक्षाअनुसार आफूले गरेको निर्वाचनकालीन प्रतिबद्धता पूरा गर्ने राजधानीको मेयरलाई राष्ट्रकै नेतृत्व गर्ने अवसरसमेत आइलाग्न सक्छ । रुसी राष्ट्रपतिको पदमा उक्लिँदै गर्दा यल्तसिन पनि मस्कोका मेयर नै थिए । ठीकै छ, हाम्रो राजधानीका मेयरले त्यति ठूलो सपना नदेखून्, तर कम्तीमा आफ्ना प्रतिबद्धताहरूलाई उनले लत्याउनेछैनन् भन्ने विश्वास जागृत गराउने जिम्मा उनकै काँधमा छ।  

प्रकाशित: २१ भाद्र २०७४ ०४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App