६ वैशाख २०८१ बिहीबार
नागरिक खोज

चितवन लोथरको जग्गा डुबानको जोखिममा’

आयल निगमले चितवन लोथर खोलाको आडमा किनेको जग्गा ।

चितवन- पेट्रोलियम पदार्थको भण्डारणस्थल बनाउन नेपाल आयल निगमले चितवनको राप्ती नगरपालिका–१, पिप्ले महादेवटारस्थित लोथर खोलाको आडमा किनेको जग्गा डुबानको जोखिममा पर्ने देखिएको छ । साताअघि चितवनमा आयल निगमले किनेको जग्गा अनुगमन गर्न आएको संसदीय समितिले उक्त जोखिम औंल्याएको हो ।

स्थलगत अनुगमनमा आएका सांसद सुभाषचन्द्र ठकुरीले आयल निगमले भण्डारणस्थल बनाउन चितवनमा किनेको जग्गा उपयुक्त नभएको बताएका छन् । जग्गा किन्दा व्यापक घोटाला भएको समाचार सञ्चार माध्यममा आएपछि  संसदीय टोलीले भदौ ८ गते चितवनको जग्गा अनुगमन गरेको थियो ।

संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको एउटा टोलीको नेतृत्व गर्दै सभासद ठकुरी चितवन आएका थिए ।

लोथर खोला पूर्वी चितवनको सिमाना हुँदै बग्ने ठूलो खोला हो । त्यो खोला राजमार्गबाट केही तल गएपछि राप्तीमा मिसिन्छ । लोथर खोलाले पिप्ले, भण्डारा, विरेन्द्रनगर, कठार, कुमरोज, खैरहनी जस्ता क्षेत्रलाई दुःख दिँदै आएको थियो । बेला–बेलामा बाढी पसेर जग्गा जमिन कटान गरेर हैरानै पारेको थियो । पूर्वसांसद जागृतप्रसाद भेटवालको प्रयासमा लोथर खोला हुँदै राप्तीमा १८ किलो मिटर लामो बाँध लगाइएको छ ।

आयल निगमले सोही बाँधसँग जोडिएको २३ बिघा १२ कट्ठा जग्गा किनेको हो । सो बाँधको आडको जग्गालाई निगमले प्रतिकट्टा १५ लाख ८५ हजार रुपैयाँ मूल्य तिरेको मालपोत कार्यालय खैरहनीको अभिलेखबाट देखिन्छ । तर स्थानीय तहमा निर्वाचित मेयर र सम्बन्धित वडाका वडाध्यक्षहरु समेत सो ठाउँको जग्गाको चल्तीको मूल्य प्रतिकट्ठा तीन लाख रुपैयाँ भएको बताउँछन् ।

अनुगमनका बेला लोथर बाँधमै भेटिएका जग्गासँग जोडिएको राप्ती नगरपालिका वडा नं. २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेतीलाई सांसद ठकुरीले प्रश्न गरे, ‘निगमले जुन रुपमा पैसा तिरेको छ, त्यत्ति तिरेपछि त थप बाँध नै नलगाउनुपर्नेसुरक्षित ठाउँमा पनि जग्गा आउँथ्यो कि ?,’ वडाध्यक्ष उप्रेतीले जवाफ दिए, ‘आयल निगमले तटबन्धन गरे बस्ती सुरक्षित हुन्छ । तर यहाँ नकिनेर अन्त किन्न पर्ने÷नपर्ने उही जानोस् ।’

लोथर बाँधमा वडाध्यक्ष उप्रेतीले यसो भनिरहँदा जग्गा बिक्रेता हुँ भन्दै बिचौलियाले टोलीलाई घेराबन्दी गरेका थिए । पछि चितवन जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा उनले संसदीय समितिसँग प्रस्ट भने, ‘आयल निगमले पर्खाल लगाउँछ बाँध लगाउँछ भने हामी जोगिन्छौं भनेर स्थानीय खुसी हुने कुरा ठिक हो तर निगमले त जोखिम छ वा छैन भनेर पहिल्यै सोच्नुपर्ने थियो नि ।’

निगमले जग्गा किनेको राप्ती नगरपालिका वडा नं. १ का वडाध्यक्ष सिद्धिलाल स्यानताङले जग्गा सुरक्षित छ भन्ने आफूलाई नलाग्ने संसदीय टोलीलाई बताए । उनले भने, ‘जुन लोथर खोलो छ त्यसको सिरानमा नै निगमले किनेको जग्गा छ । त्यहाँ बाढी लाग्ने सम्भावना अहिले पनि छ, भोलि पनि छ र हिँजो त त्यो ठाउँमा खोलै हिँडेको हो । अहिले पनि खोलाले कटान गरेको छ । ठूलो पानी आए नाघेरै खेतमा जान्छ ।’

ठूलो बाँध वा पर्खाल लगाए जग्गामात्रै नभएर पूर्वी चितवन नै जोगिने उनले बताए । नलगाए जग्गा सुरक्षित नभएको ठोकुवा उनले गरेका थिए । ‘थप बाँध वा पर्खाल लगाउनै पर्छ । तर त्यहाँ बाँध लगाउँछौं वा पर्खाल बनाउँछौं भनेर वडालाई कसैले भनेको अवस्था छैन,’ जग्गा भएको वडा नं. १ का वडाध्यक्ष स्यानताङले भने । राप्ती नगरपालिकाका मेयर प्रभा बराल पनि बाँध लगाए ठाउँ सुरक्षित हुने बताउँछिन् ।

जग्गाको विषयमा आयल निगमले आफूहरुसँग केही समन्वय नगरेका कारण यस्ता विषयहरु राख्नै नपाएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । सब पक्षको कुरा सुनेपछि टोलीको नेतृत्व गरेका सांसद ठकुरीले निचोड सुनाए, ‘भैरवहामा रोहिणी खोलो नै सर्लक्कै पसेर बेहाल गरे जस्तो नभए पनि चितवनको जग्गा पनि केही न केही खोलाको जोखिममा रहेछ भन्ने बुझियो ।’

प्रकाशित: १८ भाद्र २०७४ ०५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App