८ वैशाख २०८१ शनिबार
नागरिक खोज

चितवनकाे जग्गा खोलाको जोखिममा

आयल निगमले चितवन लोथर खोलाको आडमा किनेको जग्गा

चितवन – पेट्रोलियम पदार्थको भण्डारण स्थल बनाउन नेपाल आयल निगमले चितवनको राप्ती नगरपालिका वडा नं. १ पिप्ले महादेवटारको लोथर खोलाको आडमा किनेको जग्गा डुबानको जोखिममा रहेको स्थलगत अनुगमनमा आएका सांसद सुभाषचन्द्र ठकुरीको भनाइ छ । जग्गा किन्दा घोटला भएको हुन सक्ने भन्ने समाचारहरू आएपछि संसदीय टोली भदौ ८ गते अनुगमनमा आएका थियो । 

संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको एउटा टोलीको नेतृत्व गर्दै सांसद शाह चितवन आएका थिए । स्थालगत अध्ययनको क्रममा भेट भएका स्थानीयले प्राय उल्लेख गरेको एउटा कुराले ठकुरीको मनमा शंसय पैदा गर्‍यो । आयल निगमले भण्डारण स्थल बनाउँदा त्यो ठाउँमा थप बाँध बनाउँछ जसका कारण वरपरको बस्ति सुरक्षित हुन्छ भनेर झनै हर्षित भएको सांसद ठकुरीले देखे ।

आफ्ना वरपर जम्मा भएका स्थानीयलाई संक्षिप्त रुपमा सम्बोधन गर्दै उनले भने ‘यो लोथर खोलाको जुन बाँध छ त्यो थप बलियो बनाउनु पर्छ भन्ने तपाईहरुको धाराणा रहेछ । बाँधका लागि जनताले आफ्नो प्रयासमा जे जति गरेका छन् भोलि आयल निगम आउँदा उसले थप सपोर्ट गर्न सक्छ भन्ने तपाईहरूको मनसाय हो ?’ सांसद ठकुरीको कुरा सुने पनि जम्मा भएका ‘स्थानीयले भने हो हो धेरै धेरै हो ।’

लोथर खोला पूर्वी चितवनको सिमाना हुँदै बग्ने ठुलो खोला हो । त्यो खोला राजमार्गबाट केही तल गएपछि राप्ती खोलामा मिसिन्छ । लोथर खोलाले पिप्ले, भण्डारा, विरेन्द्रनगर, कठार, कुमरोज, खैरहनी जस्ता क्षेत्रलाई दुःख दिदै आएको थियो । बेला बेलामा बाढी पसेर जग्गा जमिन कटान गरेर हैरानै पारेको थियो । पूर्व सांसद जागृतप्रसाद भेटवालको प्रयासमा लोथर खोला हुँदै राप्तीमा १८ किलो मिटर लामो बाँध लगाइएको छ ।

आयल निगमले सोही बाँधसँग जोडिएको २३ बिघा १२ कट्ठा जग्गा किनेको हो । सो बाँधको आडको जग्गालाई निगमले प्रति कट्टा १५ लाख ८५ हजार रुपैयाँ मूल्य तिरेको मालपोत कार्यालय खैरहनीको अभिलेखबाट देखिन्छ । तर स्थानीय तहमा निर्वाचित मेयर र सम्बन्धित वडाका वडाध्यक्षहरूसमेतले पनि सो ठाउँको जग्गाको चल्तिको मूल्य प्रति कट्ठा तीन लाख रुपैयाँ भएको बताउँछन् ।

अनुगमनका बेलामा लोथर बाँधमै भेटिएका जग्गासँग जोडिएको राप्ती नगरपालिका वडा नं. २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेतिलाई सांसद ठकुरीले प्रश्न गरे ‘निगमले जुन रुपमा पैसा तिरेको छ त्यति तिरेपछि त थप बाँध नै नलगाउनु पर्ने ठाउँमा सुरक्षित ठाउँमा पनि जग्गा आँउथ्यो कि’ वडाध्यक्ष उप्रेतिले जवाफ दिए ‘आयल निगमले तटबन्धन गरेर बस्ति सुरक्षित हुन्छ । तर यहाँ नकिनेर अन्त किन्न पर्ने नपर्ने उही नौ जानोस ।’

लोथर बाँधमा वडाध्यक्ष उप्रेतीले यसो भनि रहँदा जग्गा बिक्रेता हुँ भन्दै बिचौलीयाहरुले टोलीलाई घेरा बन्दी गरेका थिए । पछि चितवन जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा उनले संसदीय समितिसँग प्रष्ट भने ‘आयल निगमले पर्खाल लगाउँछ बाँध लगाउँछ भने हामी जोगिन्छौं भनेर स्थानीय खुसी हुने कुरा ठिक हो तर निगमले त जोखिम छ वा छैन भनेर पहिल्यै सोच्नु पर्ने थियो नि ।’

निगमले जग्गा किनेको राप्ती नगरपालिका वडा नं. १ का वडाध्यक्ष सिद्धिलाल स्यानताङले जग्गा सुरक्षित छ भन्ने आफूलाई नलाग्ने संसदीय टोलीलाई बताए । उनले भने ‘जुन लोथर खोलो छ त्यसको सिरानमा नै निगमले किनेको जग्गा छ । त्यहाँ बाढी लाग्ने सम्भावना अहिले पनि छ भोलि पनि छ र हिँजो त त्यो ठाउँमा खोलै हिँडेको हो । अहिले पनि खोलाले ड्याक कटान गरेको छ । ठुलो पानी आए नाघेरै खेतमा जान्छ ।’ 

ठूलो बाँध वा पर्खाल लगाए जग्गा मात्रै नभएर पूर्वी चितवन नै जोगिने उनले बताए । तर नलगाए जग्गा सुरक्षित नभएको ठोकुवा उनले गरेका थिए । ‘थप बाँध वा पर्खाल लगाउनै पर्छ । तर त्यहाँ बाँध लगाउँछौं वा पर्खाल बनाउँछौं भनेर वडालाई कसैले भनेको अवस्था छैन’ जग्गा भएको वडा नं. १ का वडाध्यक्ष स्यानताङले भने। राप्ती नगरपालिकाका मेयर प्रभा बराल पनि बाँध लगाए ठाउँ सुरक्षित हुने बताउँछिन् ।

जग्गाको विषयमा आयल निगमले आफूहरूसँग केही समन्वय नै नगरेका कारण यस्ता विषयहरू राख्नै नपाएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । सवै पक्षको कुरा सुनेपछि टोलीको नेतृत्व गरेका सांसद ठकुरीले निचोड सुनाए ‘भैरवहामा रोहिणी खोलेनै सर्लक्कै पसेर बेहाल गरे जस्तो नभए पनि चितवनको जग्गा पनि केही न केही खोलाको जोखिममा रहेछ भन्ने बुझियो ।’ 

 

प्रकाशित: १७ भाद्र २०७४ ०८:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App