coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘मानवीय भावनाको कसीमा पनि हाम्रा सहर पछाडि छन्’

हेमन्त शर्मा, गायक 

तपाईंलाई मनपरेको सहर कुन हो ?
मलाई एकदमै मनपरेको सहर स्विट्जरल्यान्डको ‘जुरिक’ सहर हो । त्यो सहरको जति प्रशंसा गरे पनि पुग्दैनजस्तो लाग्छ मलाई । प्राकृतिक सौन्दर्य, अनुशासित, शान्त र व्यवस्थित भएकै कारण त्यो सहर अरु सहरभन्दा छुट्टै छ । त्यहाँका मानिस निकै अनुशासित छन् । सडक छेउछाउ अस्थायी रेस्टुरेन्ट छन्, तर ती एकदमै व्यवस्थित पाराले चलेका छन् । सहरमा एकले अर्कोलाई कतै पनि अवरोध गरेको देखिन्न । सबै आ–आफ्नै धुनमा हुन्छन् । सायद यस्तो स्वभाव भएका सहरवासी विश्वका सहरमा बिरलै छन् होला । 

तपाईंको सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
यातायातको सुविधा होस् । एकले अर्कोलाई अवरोध नपुर्‍याऊन् । सहरवासीमा मानवीयता र माया पाइयोस् । भौतिक सेवा–सुविधा होऊन् । सहरमा बसेकै कारण हरेक चिजमा सुरक्षित छु भन्ने महसुस होस् । 

विदेशका कुन–कुन सहर घुम्नुभएको छ ?
मैले १८ भन्दा बढी देशका सहर घुमेको छु । जापानको टोकियो, लन्डन, जेनेभा, मस्को, जुरिक, पेरिस, लन्डन, मेलबर्न लगायत धेरै सहर पुगेको छु । यी सहरका आफ्नै विषेशता पाएँ । 

यति धेरै सहर घुम्दा कस्तो महसुस भयो ?
मलाई पहिले अरु देशका सहर पनि हाम्रैजस्ता होलान् भन्ने लाग्थ्यो । पुगेपछि मात्रै थाहा पाएँ, खास सहर त विदेशमा रहेछन् । मैले घुमेका धेरै सहर भौतिक रूपमा अति नै व्यवस्थित थिए । ती सहरको नियम पनि कडा थियो । त्यहाँका सहर स्मार्ट सहरको शैलीमा विकास भइसकेका छन् । त्यहाँका नागरिकको जाँगरले नै ती सहर सजिएका होलान् । 

हाम्रा सहर किन त्यस्तै बन्न सकेनन् जस्तो लाग्छ ?
चाहने हो भने हाम्रा सहर अन्य मुलुकका सहर भन्दा राम्रा र व्यवस्थित बन्छन् । मात्र सरकारको काम गर्ने शैली पारदर्शी नभएर हामी पछि परेका हौँ । प्राकृतिक सुन्दरतालाई हेर्ने हो भने हाम्रा सहर अति नै राम्रा छन् । खालि यहाँको भौतिक पक्ष राम्रो नभएकाले सहर पनि अव्यवस्थित देखिएका हुन् । 

प्राकृतिक हिसाबले विदेशका सहर कस्तो लाग्यो ?
मैले घुमेका ठाउँमध्ये प्राकृतिक रूपमा नेपालजति धनी देश कतै भेटिनँ । विदेशका धेरै सहर बनावटी शैलीकै छन् । 

तपाईंको विचारमा हाम्रा सहरको विकास हुन किन नसकेको होला ?
कुनै पनि सहरको विकासका लागि योजना र चेतनाको खाँचो हुन्छ । यसकै कमीले हामीकहाँ काम हुन सकिरहेको छैन । मौखिक रूपमा गर्छौं भन्ने तर व्यवहारमा नदेखाउने प्रवृत्तिले गर्दा हामीपछि परेका हौँ जस्तो लाग्छ ।

आफू घुमेका विदशी सहर र हाम्रो देशका सहरबीच भिन्नता के पाउनुभयो ?
हिमाल, चिसो हावा, नदीनाला, हरियालीले हामी सम्पन्न छौँ । तर भौतिक विकासका हिसाबले अरु देशका सहर र नेपालमा अति नै फरक छ । मैैले विदेशका र हाम्रो देशका सहरको दुइटा विषयमाथि भिन्नता हेर्ने गरेको छु । ती हुन्, भौतिक र प्राकृतिक विषय । प्राकृतिक रूपमा नेपाललाई कुनै पनि सहरले भेटाउँदैन । यहाँको मौसम अति नै राम्रो छ । भौतिक रूपमा विदेशका सहर हाम्राभन्दा धेरै अघि छन् । 

काठमाडौंका मेयरले स्मार्ट सहर बनाउने घोषणा गरेका थिए, बन्छ जस्तो लाग्छ तपाईलाई ?
धेरै मुलुक स्मार्ट सिटीको कन्सेप्ट अनुसार अघि बढेका छन् र स्मार्ट सिटी बनेका पनि छन् । यो कुनै नौलो कुरा होइन तर नेपालको विषयमा यो नयाँ कुरा हो । यहाँका सहरलाई स्मार्ट सिटी बनाउँछु भनेर हुँदैन । पहिला यहाँको भौतिक निर्माणको पक्षलाई बलियो पार्न सक्नुपर्छ।

काठमाडौं सहर कस्तो लाग्छ ?
काठमाडौं मलाई राम्रै लाग्छ । पछिल्लो समय सहरमा मानवीयता, माया र मित्रता हराउँदै गएको छ जस्तो लाग्छ । गाउँमा पाइने माया र व्यवहार सहरमा पाउन सकिएन भने सहरप्रतिको दृष्टिकोण कस्तो हुन्थ्यो होला ? विकासको हकमा हाम्रा सहर अघि बढे पनि मानवीय भावनाको कसीमा हाम्रा सहर पछि नै छन् । सहरमा मायाको अभाव छ । यदि काठमाडौंका सहरमा फर्पिङ, टोखा, साँखुका गाउँमा जस्तै माया–सद्भाव पाउने भए, घान्दु्रक र घलेगाउँमा पाइने माया पोखरामा पाउने भए, सहरमा बस्न कति जाति हुन्थ्यो होला । 

काठमाडौंको प्रदूषण देख्दा दिक्क लाग्दैन ?
दिक्क लागेर के गर्नु ! आखिर ४० लाख सहरवासीले सहेको कुरा मैले सहन किन सक्दिनँ होला र ? तर सधैँभरि सहर यस्तो देख्न नपरोस् भन्ने लाग्छ । आफ्नो ठाउँ जस्तो भए पनि माया लाग्छ । सरकारी निकायबीच समन्वय हुने हो भने सहरको विकास चाँडै हुन्थ्यो होला ।

मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
विश्वका धेरै चर्चित सहरमा पुगेको छु । तर मनले रोजेको युएसको ‘भेगास’ सहर पुग्न पाएको छैन । मिलेसम्म त्यहाँ पनि छिट्टै पुग्छु । 

काठमाडौंको मनपर्ने र मननपर्ने पक्ष के हो ?
सायद नेपालमा जस्तो सांस्कृतिक सम्पदा, जात्रा अरु कुनै पनि देशमा छैन होला । काठमाडौं सहरमा हरेक दिन एउटा न एउटा पर्व भएकै हुन्छ । जात्रा र पर्व सहरको एक हिस्सा बनेको छ । यहाँको मौलिकता र सांस्कृतिक धरोहरले आज विश्वको ध्यान तानेको छ । मठ–मन्दिर, हिमाल, हरियाली, सांस्कृतिक परम्परा लगायत विषयलाई हेर्दा काठमाडौं रामो लाग्छ । यहाँको नराम्रो लाग्ने पक्ष धुँवाधुलो, ट्राफिक जाम, अव्यवस्थित पार्र्किङ लगायत हुन् ।

सहरवासीको मननपर्ने बानी के हो ?
मलाई सहरवासीको व्यवहार र आचरण मनपर्दैन । हामी आफ्नो मात्रै हेर्छौं तर अरु कुनै वास्ता गर्दैनौँ । आफ्नो गेटबाट फोहोर बाहिर मिल्काएपछि सफा भएँ भन्ने ठान्छौँ, तर त्यसले छिमेकीलाई असर गर्छ भन्ने कुरा वास्तै गर्दैनौँ, सहरवासीको मननपर्ने बानी यही हो । 

पछिल्लोे समय घुमेको सहर कुन हो ?
दुई महिनाअघि मैले जापानको टोकियो सहर घुमेको थिएँ । 

कस्तो लाग्यो ?
अति नै राम्रो लाग्यो । त्यहाँको भौतिक निर्माण र एकले अर्कालाई गर्ने व्यवहार राम्रो लाग्यो । 

घुमेकामध्ये सबैभन्दा महँगो लागेको सहर कुन हो ?
विदेशका धेरैजसो सहर महँगै छन् । त्यहाँको सुविधा हेर्दा ठीकै पनि हो । अरु देशका सहरभन्दा नेपालका सहर अति नैै सस्तोमा घुम्न पाइन्छ । 
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १६ भाद्र २०७४ ०७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App