८ वैशाख २०८१ शनिबार
समाज

नागरिकको मुख थुन्न ८० करोडको मुद्दा

काठमाडौं- नागरिक दैनिकले नेपाल आयल निगममा भएको भ्रष्टाचारका विषयमा लेखेको समाचारलाई लिएर निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले ८० करोड रुपैयाँबराबरको क्षतिपूर्ति दाबी गर्दै नागरिक दैनिकविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।

नागरिक दैनिकले आयल निगममा भएको भ्रष्टाचारको भन्डाफोर गर्दै प्रकाशित समाचार, लेख तथा सम्पादकीयबाट आफ्नो गालीबेइज्जती भएको दाबी गर्दै खड्काले भदौ १ गते दायर गरेको उक्त मुद्दाको म्याद बिहीबार प्रकाशनगृहमा अदालतका कर्मचारीले बुझाएका छन् ।

नेपाल आयल निगमकाप्रबन्धनिर्देशक गोपाल खड्काद्वारा नागरिकमाथि गालीबेइज्जतीमुद्दा, ८० करोड रुपैयाँ क्षतिपूर्ति

मुद्दामा नागरिक दैनिकका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली, प्रधानसम्पादक गुणराज लुइँटेल तथा संवाददाता दिलीप पौडेललाई विपक्षी बनाइएको उक्त मुद्दामा जनही २० करोड रुपैयाँका दरले क्षतिपूर्ति भराउन माग गरिएको छ। क्षतिपूर्ति दाबीका हिसाबले सम्भवतः प्रकाशन गृहमाथि दायर गरिएको यो सबैभन्दा ठूलो मुद्दा हो।

पेट्रोलियम पदार्थको एकाधिकारसहित व्यापार गरिरहेको नेपाल सरकारको आधिकारिक वितरक निगममा जग्गा खरिद, पेट्रोलियम पदार्थ भण्डारणलगायत विषयमा भइरहेको संस्थागत अनियमिततताबारे नागरिक दैनिकले विगत केही दिनयता अनुसन्धानात्मक समाचार प्रकाशित गर्दै आएको छ। ती समाचार संसदीय समितिको छानबिन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीसमेतका आधारमा प्रकाशित भएका छन्। 

‘मैले असल नियतले नेपालमा पेट्रोलियम पदार्थको सुरक्षित भण्डारण बढाउन खोजेको नेपाल आयल निगमको सेवामा प्रतिस्पर्धात्मक रूपमा जनतालाई सहज रूपमा सेवा दिन खोजेको कार्यलाई सम्मानित गर्नुको सट्टा कलंकित गरी करोडौं रकम अनियमितता गरेको समाचार प्रकाशन गर्ने प्रतिवादीहरूले मजस्तो इमानदार राष्ट्रसेवकलाई अपमानित गरी बेइज्जती गरेको हुँदा प्रतिवादीहरूले आफैंले उल्लेख गरेको समाचारको आधारमा निजहरूबाट जनही रु. बीस करोड क्षतिपूर्ति रकम भराउन मनासिब हुने हुँदा प्रतिवादीबाट उपरोक्त क्षतिपूर्तिको रकम भराई र मुद्दामा लागेको खर्चसमेत भराईपाउन सादर अनुरोध गर्छु,’ खड्काको फिरादपत्रमा उल्लेख छ । निगमको अनियमितता विषयमा समाचार, लेख तथा सम्पादकीय लेखेर नागरिक दैनिकले गालीबेइज्जती ऐन, २०१६ को दफा ३ उल्लंघन गरेको पनि खड्काको जिकिर छ । 

खड्काले पत्रिकामा विभिन्न शीर्षकमा कानुनविपरीत रकम लिई कार्य गरेको पुष्टि गर्न खोजेको तर ती सबै आरोप झुठा भएको दाबी गरेका छन् । ‘नेपाल आयल निगमको व्यापार विस्तार गर्न, बजारीकरण गर्न लिइएको निर्णय हो । जनसंख्या विस्तार भएझै पेट्रोलियम पदार्थ वितरण एवं ग्यास वितरण गर्न स्थानसमेत विस्तार गर्नुपर्ने हुन्छ’, खड्काको फिरातदपत्रमा लेखिएको छ । उनले अमुक व्यापारीको एकाधिकार तोडी आफूले बजारमा प्रतिस्पर्धा भिœयाउन खोजेको साथै निगमलाई नाफा हुँदा देश र जनतालाई समेत नाफा हुने आधारमा काम गरेको भन्दै आफूमाथि लागेका आरोपको बचाउ मुद्दामार्फत गरेका छन् ।

खड्काद्वारा नागरिकविरुद्ध दायर उक्त मुद्दाको विषयमा प्रतिक्रिया दिँदै नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले मिडियाले लेखेबापत संगठित रूपमा आक्रमणको सामना गर्नुपर्ने अवस्था आएको बताएका छन् । ‘मिडियालाई लेखेबापत नियोजित रूपमा यो मुद्दा आएको छ । यसबाट मिडियाको अभिव्यक्ति स्वतन्त्रता जोगाउन राज्यका निकाय चनाखो हुनुपर्ने देखिएको छ ।’

सञ्चार कानुनका विशेषज्ञ तथा सर्वाेच्च अदातलका पूर्वरजिस्ट्रार रामकृष्ण तिमल्सेनाले भने सार्वजनिक रूपमै आफूमाथि लागेको अभियोगको बचाउका लागि निगमका प्रबन्ध निर्देशकले मिडियामाथि मुद्दा दायर गरेको प्रतिक्रिया दिए । ‘यो विषय नागरिकबाहेक अरू मिडियाले पनि गरेका छन् । अख्तियारले पनि उठाइरहेको छ । त्यसैले यस्तो सार्वजनिक विषयको सत्यतथ्य प्रकाशन गर्न पाउने मिडियाको अधिकार हो ।’

‘कपोलकल्पित रूपमा गलत तथ्यका आधारमा हुँदै नभएकोकुनै कुरा प्रकाशन गरेको वा रिसइबीले कुनै कुरा छापेमा मात्र गालीबेइज्जती हुनसक्नेमा सार्वजनिक रूपमा छलफलमा आएको तथ्यका आधारमा संसद् र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेतले निगरानी गरिरहेको विषयमा समाचार प्रकाशित गर्दा सञ्चारमाध्यममाथि मुद्दा दायर गरिनु मिडियामाथिको आक्रमणको पराकाष्ठा भएको’ तिमल्सेनाको निष्कर्ष छ ।

पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरीले खड्काले आफूमाथि लागेको सार्वजनिक अभियोगको ध्यान अन्यत्र मोड्न नागरिकमाथि अस्वाभाविक क्षतिपूर्ति मागसहित मुद्दा दायर गरेको बताए । उनले भने, ‘कुनै पनि व्यक्तिले न्यायिक मद्दत लिन खोज्नु त स्वाभाविकै हो तर सरकारी ओहोदामा बसेको मानिसलाई संसद्को समितिले दिएको निर्देशन तथा अख्तियारले छानबिन गरिरहेको विषयको समाचार प्रकाशति गरेकै भरमा मुद्दा दायर गर्नुबाट उनीसँग प्रतिवादको अन्य उपाय समाप्त भएको स्पष्ट हुन्छ ।’

खड्काको मुद्दाकै भरमा नागरिकले तर्सिनुपर्ने अवस्थासमेत नभएको बताउँदै निष्ठुरी भन्छन्, ‘यस कुराको त्यति धेरै दम छैन । यसबाट मिडिया तर्सिनुपर्ने अवस्था छैन । अदालतले सबै कुरा छानबिन गरेर न्याय दिन्छ नै । त्यसैले कसैले मुद्दा हालेकै भरमा मिडिया आफ्नो धर्मबाट विचलित पनि हुनुहुँदैन ।’

प्रकाशित: १६ भाद्र २०७४ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App